काठमाडौं। एरो ब्रिक्स कम्पनी प्रालीले एएसी (अटोक्लेभ्ड एरेटेड कन्क्रिट) प्रविधिमा आधारित ईंटाको उत्पादन सुरु गरेको छ। अत्याधुनिक तथा बैज्ञानिक प्रविधि अपनाएर उत्पादन थालेको कम्पनीले विज्ञप्ती मार्फत जनाएको छ।
चलनचल्तीमा एसीसी ब्लक्स भनिएपनि प्रयोग भइरहेको ईंटाको विकल्प भएको उल्लेख गरिएको छ। रंग फरक भएपनि यसले भवन बनाउँदा प्रयोग हुने रातो ईंटाको बिकल्पको रुपमा काम गर्ने कम्पनीले दाबी गरेको छ। अन्य ईंटाहरु जस्तै भएपनि यो चलनचल्तीका ईंटाभन्दा हलुका बलियो र सस्तो समेत रहेको बिज्ञप्तीमा उल्लेख छ।
ईंटालार्इ माग अनुसार विभिन्न आकारमा उपलब्ध गराउन सकिने कम्पनीले बताएको छ। विनाशकारी भुकम्पपछि निर्माण क्षेत्रमा सुरक्षित निर्माणको अवधारण बढेकोले कम्पनीले हलुका किसिमको ईंटा उत्पादन गरेको हो। निर्माणमा कम भार भएको निर्माण सामाग्री प्रयोग गरेमा सुरक्षित हुने भएकाले एरो ब्रिक्स बजारमा ल्याएको कम्पनीले जनाएको छ।
चितवनमा कारखाना रहेको यस कम्पनीले वातावरणमैत्री उत्पादन सुरु गरेको हो। माटो र वातावरणमा कुनै पनि असर नपर्ने र प्राकृतिक स्रोत साधनको विनाश नगरी ईंटा उत्पादन सुरु गरेको बिज्ञप्तीमा उल्लेख छ। अधिकाशं मेसिनहरु कारखाना भवनभित्रै राखिएकाले ध्वनि प्रदुषण समेत नहुने जानकारी कम्पनीले दिएको छ।
उद्योगलार्इ आवश्यक पर्ने अधिकांश कच्चा पदार्थहरु स्वदेमै प्राप्त हुने भएकाले ईंटाको मूल्य स्थिर रहने र उत्पादनमा कुनै अवरोध समेत नहुनेमा कम्पनीले आश्वस्त पारेको छ ।कम्पनीका अनुसार नेपालमा एरो ब्रिक्सको उपयोगिता र सम्भावना, यसका विशेषता एवंम कमजोरी आदि पक्षबारे लामो अध्ययन, अनुसन्धान र परीक्षणपछिमात्र उत्पादन थालिएको हो।