‘रिटार्यड लाइफ’ मा शेयर बजार छिरेका सक्रिय ‘प्लेयर’ हरु

बिजमाण्डू
२०७४ असार १२ गते १०:०९ | Jun 26, 2017
‘रिटार्यड लाइफ’ मा शेयर बजार छिरेका सक्रिय ‘प्लेयर’ हरु
काठमाडौँ। २०३२ सालमा खरिदार पदबाट जागिर सुरु गरेर लामो समय अर्थमन्त्रालयमा बिताएका सोमलाल सुवेदीले सात वर्षअघि उमेर हदका कारण अवकास पाए।

Tata
GBIME
Nepal Life

अर्थ मन्त्रालय अन्तर्गतका बिभिन्न कार्यालयमा ३८ वर्ष काम गरेर सक्रिय जीवनबाट अवकास पाएपछि केही दिन त उनलार्इ रमाइलै लाग्यो। १० देखि ५ को दैनिकी फेरियो। आराम गर्न प्रशस्त समय भयो । नभेटिएका आफन्त र नघुमेका ठाँउ घुम्न थाले। तर कसै गरेपनि नसकिने फुर्सदको समय बिस्तारै उनलार्इ बोझिलो बन्दै गयो।

घरमै धुम्धुम्ती बसेर उनको दिन कटेन। ‘काम गरिरहेको मानिसलाई काम नगरी बस्न झन् गार्हो हुँदो रहेछ’-सुवेदीले भने ।

 
अचानक एक साथीले शेयर बजारबारे बताए। कुनै योजनाबिनै २०६८ सालमा २०० कित्ता नबिल बैंकको शेयर किनेपछि उनी शेयर बजारमा औपचारिक रुपमै छिरे।

२०० कित्ता नबिलको शेयर किनेर बजार छिरेका सुवेदीले विस्तारै बजार बुझ्न थाले अनि लगानी पनि बिस्तारै बढाउन थाले। अहिले उनको रिटायर्ड लाइफ मजाले बितिरहेछ। लगानीले केही मुनाफा पनि दिएको छ। 
 

६७ वर्षका सुवेदी बजार खुल्नेबेला मोटरसाइकल हाँकेर अनमनगरस्थित ब्रोकर नम्बर १४ पुग्छन्। चारघण्टा जति ब्रोकर अफिसमा बिताएर घर फर्कंन्छन् ।"साथीभाई संग भेटघाट, टाइम पास र अलिकति घाटा नाफाको ब्यापारले दिन कटाउन सजिलो भएको छ।" उनी भन्छन्। 
 
ललित बस्नेत(भिमाली)उमेरले ७० वर्षका छन्। अमृत साइन्स क्याम्पसबाट २०६७ सालमा अवकास पाएका बस्नेत अझै पनि युवा जोशले भरिएका छन्। बिहानै उठेर टेबलटेनिस खेल्नु अनि दिउँसो शेयर बजारमा सक्रिय हुनु उनको दैनिकी हो । 
 
२०२८ सालमा जागिरे जीवन सुरु गरेका बस्नेतले कहिल्यै बिश्राम लिएनन्। अवकास पाएपछिपनि उनी सक्रिय भैरहन चाहन्छन् । त्यसको लागि उनले शेयर बजार रोजे। तीन वर्ष अघि उनले सक्रिय रुपमा शेयरबजारमा खेलोफड्को गर्न थालेका हुन्। 
 
जागिरे जीवनमै प्राथमिक शेयर भर्ने गरेका बस्नेतले अवकास पाउँदासम्म झण्डै २० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर जम्मा गरिसकेका थिए। अवकास पाउँदाको ३० लाख रुपैयाँ समेत उनले शेयर बजारमा लगानी गरे।         
 
‘बजारबारे ज्ञान भएर होइन विश्वास भएर छिरें।’- उनी भन्छन्- ‘बैंकमा राख्नुभन्दा बजारमा लगानी गर्नु राम्रो हो भन्ने बुझेको छु। त्यसैले बेटर अप्सन भएकोले शेयरमा लगानी गरेको हुँ।’ 
बस्नेतलार्इ राम्ररी थाहा छ पैसा डम्प गरेर राख्न हुन्न।‘पैसा जति बजारमा चल्छ त्यतिनै आम्दानी पनि हुन्छ र सबैलार्इ फाईदा पनि हुन्छ ।’- बस्नेत आफ्नो लगानीमा स्पष्ट छन्। उनकै शब्दमा भन्ने हो भने ‘उनी शेयर बजारमा आफ्नो बुढ्यौली इन्जोइ गरिरहेका छन्।’ 
 
नेपाल खाद्य संस्थानमा काम गर्दा गर्दै २०५८ सालमा दिलिप श्रेष्ठले स्वेच्छिक अबकास लिए। अडिटको काम गर्न २०३५ सालमा खाद्य संस्थान छिरेका श्रेष्ठलार्इ २०५७ सालको शेयरको बुलिस ट्रेन्डले बजारमा प्रवेश गर्ने बाताबरण तयार पारेको रहेछ । "आज एउटा कम्पनीको शेयर किनेर जिल्लातिर गयो एक महिनापछि फर्कदा कति शेयर डबल भै सक्ने"- उत्साहित हुँदै श्रेष्ठ सुनाउँछन्। 
 
महिनाभरी जागिर खाएर निश्चित तलब थाप्नुभन्दा बजारमा कारोबार गरे धेरै नै फाइदा हुने सोच आएरै उनले जागिरबाट स्वेच्छिक अवकास लिएका हुन् रे। स्वेच्छिक अवकासबाट पाएको ११ लाख रुपैयाँ लिएर उनी शेयरबजार छिरेको बताउँछन्। त्यतिबेला उनी यति धेरै हौसिएका थिए कि उनले घट्टेकुलोमा भएको घर समेत धितोमा राखेर बजारमा पैसा लगानी गरेका थिए। 
 
आज पुराना दिन सम्झँदा उनी खुशी हुन्छन्। त्यसबेलाको निर्णय गलत थिएन भन्ने लाग्छ उनलार्इ। ‘स्वेच्छिक अवकासबाट पाएको ११ लाख अहिले बजारबाट निकाल्ने हो भने एक करोडभन्दा माथि पुगेको छ। एक तले घर अहिले तीन तले भएको छ।’- श्रेष्ठ बजारबाट राम्रै कमाएको अनुभव सुनाउँछन्।

बजारमा छिर्दा सँधै नाफैनाफा मात्र पनि नहुने उनलार्इ राम्ररी थाहा छ। उनले सबैभन्दा पहिले पाँच रुपैयाँका दरले किनेको हरिसिद्धिको दुर्इ हजार कित्ता शेयर भने प्रमाणपत्रमै सिमित भएछ। ‘मैले त्यो शेयरलार्इ फ्रेमिङ गरेर राख्ने विचार गरेको छु’- बिहान कौसी खेतीमा बिताउने र दिनभर शेयर बजारमा रमाउने श्रेष्ठ उनी भन्छन्-‘त्यो शेयरले मेरो इतिहास बोल्छ।’ 

 
२०३३ सालमा शिक्षण पेसामा छिरेका अच्युतराज त्रिपाठीले २०७२ सालमा नायब सुब्बाबाट अवकास पाए। त्यसलगत्तै १२ लाख लिएर उनी शेयर बजार छिरे। अहिले लगानी बढेर २० लाख पुगेको उनी सुनाउँछन्। तर उनी अरु जस्तो सन्तुष्ट भने छैनन्। अरु क्षेत्रमा लगाएको भए बढी फाइदा पाउँथे कि भन्ने लागिरहन्छ रे उनलार्इ ।‘सबैभन्दा ठूलो कुरा समय बितेको छ यसैमा खुशी छु’- उनी भन्छन्। 
 
पूर्वाञ्चल विद्युत कर्पोरेसनमा सहायक लेखापालबाट जागिरे जीवन सुरु गरेका शंकर मैनालीले २०६९ कार्तिक १५ गते अवकास पाए । बिद्युत प्राधिकरणको लेखापालबाट अवकास पाएका मैनाली अहिले शेयर बजारमा राम्रै जमेका छन् । प्राधिकरणमै छँदा कर्मचारीको नाताले पाएको बिभिन्न शेयरहरुलार्इ उनले अवकासपछिको जीवनलार्इ सक्रिय बनाउने साधनको रुपमा प्रयोग गरे। अवकास पाएलगत्तै १७/१८ जाना साथीहरु मिलेर कालिका इन्भेस्टमेन्ट कम्पनी खोलेर शेयर बजारमा प्रवेश गरेको मैनालीले बताए । 
 
रिटायर्ड लाइफ बिताउन शेयर बजारमा निकै सजिलो भएको उनको अनुभव छ। ११ बजे आयो ३ बजे काम सकियो, आए पनि हुने नआए पनि हुने ! फेरि मुनाफा पनि मनग्गे भएपछि खुशी पनि भइने! जागिर खाएर बनाउन नसकेको घर शेयरबजारमा कमाएर बनाएको उनी सुनाउँछन्-‘त्यत्रो वर्ष जागिर खाँदा घर बनाउन सकिन।अवकासपछि शेयरबजारले ओत दियो, अरु के चाहियो?’