टेलिकमले सार्वजनिक यातायातमा नि:शुल्क इन्टरनेट सेवा सुरु गर्दै, देशैभरी संचालनमा आउने

बिजमाण्डू
२०७४ असार १२ गते १६:३३ | Jun 26, 2017
काठमाडौं। नेपाल टेलिकमले सार्वजनिक यातायातमा इन्टरनेट सेवा सुरु गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

टेलिकमले साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा 'एनटी बस इन्टरनेट' सेवा संचालन गर्न लागेको हो। मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोगमा ल्याउने उदेश्यसहित दुबै संस्थाबीच सम्झौंता भएको हो।सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रदीपराज उपाध्याय र साइबरनेटीक्स प्रालिका तर्फबाट अध्यक्ष जेम्स न्याछ्योंले हस्ताक्षर गरे।

कार्यक्रममा कम्पनीका कर्पोरेट तथा व्यवसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले यो सहकार्यबाट यात्रुहरुले वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडियो लगायत मल्टिमिडिया सेवा प्रयोग गर्न सक्ने बतार्इन्।
 
यो सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ। यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिन्छ। यसका लागि बस कम्पनीले साइवरनेटिक्ससँग सम्पर्क गरी सुविधा लिनसक्ने टेलिकमले जनायो।
 
यो सेवाबाट बस, माइक्रोबस, कार लगायतका सवारी साधनमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिनेछ। यो सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट लगायतका डिभाइसमा वार्इफार्इ कनेक्ट गरी इन्टरनेट चलाउन सक्नेछन्। 
एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेम एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिने टेलिकमले जनाएको छ।
 
सवारी साधन समेत जिपिएस प्रविधि मार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ। यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्ड सहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउनेछ।