श्री एयरलाइन्सले थप्यो अर्को ७० सिटे बम्वार्डियर जहाज, एओसी नपाउँदा उडान भने भएन

बिजमाण्डू
२०७४ असार १३ गते ०६:०२ | Jun 27, 2017
काठमाडौं। हेलिकप्टरबाट 'फिक्स विङ्ग्स' जहाजको क्षेत्रमा प्रवेश गरेको श्री एयरलाइन्सले अर्को नयाँ विमान थप गरेको छ। कम्पनीले सिआरजे ७०० मोडेलको क्यानडामा बनेको बम्वार्डियर जहाज थप गरेको हो।

Tata
GBIME
Nepal Life


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार ७० सिट क्षमताको उक्त जहाज गत विहिबार अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको हो। ८७ फिट लम्बाई र २० फिट अग्लो हुने विमानका पखेटाको क्षेत्र लम्वाई ६९ फिट हुनेछ । यो जहाजले ७५ फिटमा टर्निङ गर्न सक्छ।नेपाल नागरिक उड्ययन प्राधिकरणले उक्त जहाजको कलसाइन नम्वर पनि दिइसकेको छ। प्राधिकरणले सो जहाजलाई '९ एन-एएमबी' कलसाइन दिएको हो। सो जहाजको पहिलेको कलसाइन नम्वर '२-भिआरजेडी' रहेको थियो भने उत्पादन सिरियल नम्वर १००४८ रहेको छ।
 
श्री एयरलाइन्ससँग यसअघि नै दुइवटा ७० सिट क्षमताको बम्वार्डियर जहाज छ। तर कम्पनीले नागरिक उड्ययन प्राधिकरणवाट हालसम्म एयर अपरेटर सर्टिफिकेट (एओसी) प्राप्त नगरेका कारण कुनै पनि उडान हुन सकेको छैन।सौर्य एयरलाइन्सपछि श्री एयरलाइन्स बम्वार्डियर जहाज प्रयोग गर्ने दोस्रो कम्पनी बनेको छ। यो हजाजमा जेट एयरक्राफ्टको इन्जिन भएका कारण अन्य जहाजभन्दा चाँडो उड्ने गर्छ। जसका कारण यात्रुहरुको यात्राको अवधि कम गर्नुका साथै बुद्ध एयर र यति एयरलाइन्सको  ट्रङ्क रुटको एकलौटी उडानलाई पनि यसले कम गर्नेछ।

कम्पनीले जहाजमार्फत नियमित रूपमा उडान हुने ट्रङ्क रुटहरु  नेपालगञ्ज, भद्रपुर, धनगढी, भैरहवा र विराटनरमा आफ्नो उडान भर्ने योजना बनाएको छ। एयरलाइन्सले मुख्य गरी माउन्टेन फ्लाइट र ट्रंक रुटहरूमा उडान गर्ने लक्ष्य राखेको छ। कम्पनीले अहिले ८ वटा हेलिकप्टरमार्फत सेवा दिइरहेको छ। कम्पनीले हाल एमआई-१७ का ६ वटा र युरोपियन कम्पनी एस-३५० 'बि३ ई' २ वटा हेलिकप्टरमार्फत उडान गरिरहेको छ । संयुक्त राष्ट्रसंघका लागि हेलिकप्टर उडान गर्ने श्री एयरलाइन्स दक्षिण एसिया तथा पूर्वी एसियाकै एकमात्र कम्पनी हो।  
 

एयरलाइन्स क्षेत्रमा अर्बौं लगानी गरिसकेको श्री एयरसँग करिब ५० लाख अमेरिकी डलर मूल्य बरावरको जगेडा इन्जिन पनि छ। जसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तरराष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ।