भोलिको चुनावलाई सुरक्षा कडा, हेलिकप्टरसहित सेना ‘अलर्ट’मा, राजपा होइन बिप्लव डर

सविन ढकाल/बिजमाण्डू
२०७४ असार १३ गते १३:१२ | Jun 27, 2017
काठमाडौं। बुधवार हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका  लागि गृह मन्त्रालयले सम्पूर्ण सुरक्षा तयारी पूरा गरेको जानकारी दिएको छ। 


 
बुधवार हुने तीन प्रदेशका ४ हजार ५ सय ८१ मतदान केन्द्रमा  १ लाख ६३ हजार सुरक्षाकर्मी परिचाल गरिसकेको गृह मन्त्रालयका सहसचिव दीपक काफ्लेले बताए। उनले भने, 'सुरक्षा अवस्था पहिचान गरेर निर्वाचन हुने सबै केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिसकेका छौं।' 
 
दोस्रो चरणको निर्वाचनमा देशभर ४५ हजार नेपाली सेना समेत परिचालन गरिएको सहसचिव काफ्लेले बताए। नेपाली सेनाले निर्वाचन सुरक्षालाई लक्षित गरेर हवाई सुरक्षा गस्ती समेत सुरु गरिसकेको छ।  
 
निर्वाचनको अवधिभरका लागि नेपाली सेनाको हलिकप्टर काठमाडौं, पोखरा, सुर्खेत र दिपायलमा तयारी अवस्थामा राखिएको छ। सहसचिव काफ्लेले भने, 'कुनै ठाउँमा केही भइहालेको खण्डमा तत्काल सेना पुग्ने गरी तयारी अवस्थामा रहने छन्।' 
 
अन्य प्रदेशका म्यादी प्रहरी समेत परिचालन
गृह मन्त्रालयले निर्वाचन सुरक्षाको लागि भन्दै नियुक्त गरेका म्यादी प्रहरीमध्ये अन्य प्रदेशका पनि दोस्रो चरणको निर्वाचनमा खटिने भएका छन्। दोस्रो चरणको निर्वाचनको सुरक्षालाई भन्दै ५५ दिनका लागि भर्ना गराइका म्यादी प्रहरीको अवधी थप गरेर ९० दिन पुर्याइएको छ।
 
स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर १ मा १२ हजार पाँच सय ५१ जना म्यादी प्रहरी, प्रदेश नम्बर २ मा १६ हजार नौ सय नौ जना, प्रदेश नम्बर ३ मा १२ हजार आठ सय जना, प्रदेश नम्बर ४ मा ६ हजार ६ सय ५७ जना, नम्बर ५ मा१४ हजार एक सय ५१ जना, प्रदेश नम्बर ६ मा पाँच हजार १८ जना  भर्ती गरिएको थियो। म्यादी प्रहरीले निर्वाचन केन्द्रको पहिलो घेरामा नेपाल प्रहरीलाई सहयोग गर्ने छन्।
 
राजपा होइन बिप्लव डर
दोस्रो चरणको निर्वाचन सुरक्षामा सबैभन्दा बढी थ्रेट नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीको रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ। निर्वाचनलाई लक्षित गरेर तीन प्रदेशमा भएको सुरक्षा गोष्ठीमा अधिकांश सिडिओहरुले बुधवार हुने निर्वाचनमा राष्ट्रिय जनता पार्टीभन्दा नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीको सुरक्षा चुनौती बढी रहेको बताएका थिए। कञ्चनपुर, कपिलवस्तु र नेपालगन्जमा पनि राजपाका कारण केही सुरक्षा थ्रेट छ। 
 
सीमा सुरक्षा गस्ती
बुधवार हुने निर्वाचन सुरक्षालाई मध्य नगर गर्दै सोमवारबाट नै नेपाल–भारतको सीमा दिनका लागि बन्द गरिएको छ। नेपाल-भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको हो। खुल्ला सीमानाका कारण निर्वाचनमा हुनसक्ने सम्भावित घटनालाई लिएर सुरक्षा गस्ती समेत गर्ने भएको हो।
 
चुस्त छ सुरक्षा : निर्वाचन आयोग 
पहिलो चरणको निर्वाचनमा भन्दा दोस्रो चरणको निर्वाचन सुरक्षा व्यवस्था सुरक्षित भएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख आयुक्त अयोधीप्रसाद यादवले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'हामीले यो पटकको निर्वाचनमा सुरक्षा व्यवस्था अझ प्रभावकारी भएको महसुस गरेका छौं।' राजनितिक दलहरुबीचको सद्भावले पनि सुरक्षा मजवुद भएको उनले बताए। 

Tata
GBIME
Nepal Life