साझालाई १२ डिलक्स बस किन्न पैसा दिँदै काठमाडौं मेयरले भने- मोनोरेलको अध्ययन हुँदैछ

बिजमाण्डू
२०७४ असार १३ गते १६:३७ | Jun 27, 2017
काठमाडौं। काठमाडौ महानगरपालिकाले स्मार्ट सिटी अभियानअन्तर्गत साझा यातायातको थप पाँच करोड रुपैयाँको शेयर खरिद गरेको छ। 
 
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितलाई मेयर विद्यासुन्दर शाक्यले पाँच करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। 
 
गत पुस २६ गते भएको पूर्वसम्झौता अनुसार शेयर खरीद गरिएको महानगरका कार्यकारी प्रमुख ईश्वरराज पौडेलले बताए। 
 
यो रकमबाट साझा यातायातले एउटा सेमी लो फ्लोर बस र १२ डिलक्स बस खरिद गर्ने साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए। उनले सेमी लो फ्लोर बसका लागि कम्पनीसँग सम्झौता समेत भैसकेको बताए। 
 
यी बसहरुलाई अन्तरनगरस्तरीय यातायात सेवाका रुपमा सञ्चालन गरिने छ। तर रुट भने बस आएपछि मात्र छुट्याइने बताएका छन्। बसहरुमा डिलक्समा हुने सबै खालका सुविधाहरु उपलब्ध हुनेछन्। पुराना साझाका बस जस्तै यसमा ४० सिट हुने छ।
 
काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समय मिलाएर महानगरका सबै प्रतिनिधीहरु स्मार्ट कार्डको प्रयोग गरेर साझा बस चढ्ने बताए।
 
मेयर शाक्यले उपत्यकामा मोनोरेल र केवलकार सञ्चालनका लागि प्रस्तावहरु आइरहेकाले छलफल अघि बढाएको जानकारी दिए। 

Tata
GBIME
Nepal Life