अब आइपिओ हाल्न बैंक पनि जानु नपर्ने, अनलाइनबाटै आबेदन, बिक्री बन्दको भोलीपल्टै बाँडफाँड

बिजमाण्डू
२०७४ साउन ३ गते १२:५१ | Jul 18, 2017
अब आइपिओ हाल्न बैंक पनि जानु नपर्ने, अनलाइनबाटै आबेदन, बिक्री बन्दको भोलीपल्टै बाँडफाँड
काठमाडौँ । केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले लगानीकर्तालाई अनलाइनबाटै प्राथमिक शेयर भर्ने सुबिधा सुरु गरेको छ। सिडीएससीले संचालनमा ल्याएको मेरो शेयर डट सिडीएससी डट कम डट एनपीमा नयाँ सुबिधा थप गर्दै अनलाइनबाटै प्राथमिक शेयर भर्ने सुबिधा दिएको हो।
 
‘अब आउने नयाँ प्राथमिक शेयरमा लगानीकर्ताले घरै बसी बसी अनलाइन आबेदन दिन सक्छन्, सिडीएससीका प्रमुख कार्यकारी अधिकृत देब प्रकाश गुप्ताले भने।
 
उनका अनुसार प्राथमिक शेयरमा अनलाइन आबेदन दिनु अगाडि लगानीकर्ताले मेरो शेयर अनलाइनमा आफ्नो खाता खोल्नु पर्छ। त्यसका लागी लगानीकर्ताले पहिले आफ्नो हितग्राही (डीम्याट) खाता खोलेको ठाउँमा गएर एउटा फाराम भर्नुपर्छ। निक्षेप सदस्यले अधिकतम ५० रुपैयाँ लिएर लगानीकर्ताको यस्तो खाता खोलिदिन्छन्।
 
मेरो शेयरमा खाता खोलेपछि लगानीकर्ताले एक पटक आफ्नो खाता रहेको बैंकबाट ‘सीआस्बा रजिस्ट्रेसन नम्बर(सीआरएन)’ लिनुपर्छ। अहिलेसम्म यस्तो सुबिधा छ वटा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका छन्। तिनमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिदार्थ बैंक, प्रभु बैंक, गुडविल फाइनान्स र युनाइटेड फाइनान्सले छन्। छिटै नेपाल बैंक, कृषि बिकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र माछापुच्छ्रे बैंक यो सेवा सुरु गर्ने तयारिमा रहेको गुप्ताले बताए।
 
मेरो शेयरमा खाता खोल्ने र बैंकबाट सीआरएन लिने प्रक्रिया सकिएपछि    लगानीकर्ताले प्राथमिक शेयरमा अनलाइन आबेदन दिन सक्ने गुप्ताको भनाइ छ ।
 
अनलाइनबाट शेयरमा आबेदन दिन मेरो शेयरको वेबसाइटमा गई ‘माई आस्बा’ भन्ने फिचरमा क्लिक गर्नु पर्छ। त्यहाँ प्राथमिक शेयर खुलाउने कम्पनीको नाम लिष्ट हुन्छ। लगानीकर्ताले आफुले चाहेको कम्पनी क्लिक गरि आवेदन दिन सक्छन्। 
 
लगानीकर्ताले कम्पनी छाने पछि सबैभन्दा पहिले कति कित्ता आवेदन दिने हो त्यो खुलाउनु पर्छ । त्यसपछि यति पैसा लाग्छ भनेर सिष्टमले ‘अटोमेटिक’ देखाउँछ। त्यसपछि कुन बैंकबाट पैसा रोक्का राख्ने हो, त्यसको नाम छनौट गर्नुपर्छ। बैंकको नाम छनौट गरे पछी लगानीकर्ताको खाता भएको शाखाको नाम र खाता नम्बर अटोमेटिक देखाउँछ।
 
त्यसपछि लगानीकर्ताले सीआरएन नम्बर हाले पछि फाराम भर्ने काम सकिन्छ। त्यसपछि सुरक्षा र लगानीकर्ता पहिचानका लागि मेरो शेयरले  लगानीकर्ताको ईमेलमा एउटा कोड पठाउँछ। उक्त कोड हालेपछि अनलाइन फारम भर्ने प्रक्रिया सफल भएको सन्देश लगानीकर्ताले पाउछन्। उल्लेख गरिएको रकम खातामा छैन भने आवेदन स्वतः रद्ध हुन्छ।
 
अनलाइन आबेदन दिन नचाहनेले पनि बैंकमा गएर खाताको रकम एयर मार्क गरि आस्बा मार्फत आबेदन दिन सकिने सुबिधा पनि यथाबतै रहेको गुप्ताले जानकारी दिए। सीआस्बा सफ्टवेयर मार्फत प्राथमिक शेयरमा अनलाइन आबेदन दिँदा बाँडफाड अवधि पनि छोटो हुने गुप्ताको भनाई छ ।
 
सीआस्बा सफ्टवेयरले बैंक, बिक्रि प्रबन्धक र नेपाल धितोपत्र बोर्डलाई लगानीबारे एकै पटक सुचना पुर्याउछ। जसले गर्दा कति दिनमा कति आबेदन पर्यो भनेर बोर्डले पल पलमा यथार्थ तथ्य संकलन भइ रहेको हुन्छ। 
 
सिडिएससीले सीआस्बा सफ्टवेयर सबै बैंकमा पुर्याउन ‘सीआस्बा मार्फत विद्यतीय कारोबार सम्बन्धि कार्य संचालन निर्देशिका,२०७४’ स्वीकृतिका लागि बोर्ड पठाएको छ। सिडिएससीले पठाएको निर्देशिका सामान्य परिमार्जन सहित स्वीकृति दिने तयारी अन्तिम चरणमा पुगेको बोर्ड प्रवक्ता एवं कार्यकारी निर्देशक निरिज गिरिले जानकारी दिए।
 
बोर्डले आस्बा सेवा प्रदायक बैंकमा सीआस्बा सफ्टवेयर अनिबार्य गरे बिक्री बन्द भएको भोलीपल्टै बाँडफाँड गर्न सकिने गुप्ताको भनाइ छ।
 

Tata
GBIME
Nepal Life