चार जीवन बीमा कम्पनीले बुझाए पूँजी बृद्धि योजना, नेपाल लाइफको पुग्यो पूँजी

बिजमाण्डू
२०७४ साउन ५ गते १२:१३ | Jul 20, 2017
काठमाडौं । चार जीवन र नौ निर्जीवन बीमा कम्पनीले मात्र बीमा समितिको निर्देशन बमोजिम तोकेको म्याद भित्र चुक्ता पूँजी योजना पेश गरेका छन्। समितिले जीवन बीमा कम्पनीलाई दुई अर्ब र निर्जीबन बीमा कम्पनीलाई एक अर्ब रुपैयाँ पूँजी पुर्याउने योजना पेश गर्न गत असार मसान्त सम्मको समय दिको थियो।

Tata
GBIME
Nepal Life


 

आउँदो असार भित्र बीमा कम्पनीहरुले तोकिएको पूँजी पुर्याइसक्नु पर्नेछ। अहिलेसम्म नेपाल लाइफ इन्स्योरेन्सले समितिले तोके अनुरुप पूँजी पुर्याइसकेको छ। कम्पनीको पूँजी दुई अर्ब १६ करोड रुपैयाँ रहेको छ। 
 
गुराँस लाइफ इन्स्योरेन्स, सुर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र लार्इफ इन्स्योरेन्स कर्पोरेशनले समितिले दिएको असार मसान्तको म्याद भित्रै पूँजी बृद्धि योजना बुझाएका छन्। प्राइम लाइफ इन्स्योरेन्सको वासलात समितिबाट स्वीकृत हुने क्रममा छ। यस्तै राष्ट्रिय बीमा संस्थान, नेशनल लार्इफ इन्स्योरेन्स र मेट लाइफ एलिकोले म्याद थपका लागि आवेदन दिएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले बताए। 
 
गुराँस लाइफ इन्स्योरेन्सको हालको चुक्ता पूँजी ५५ करोड रुपैयाँ रहेको छ। कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ पूँजी थप गर्नु पर्ने हुन्छ। त्यसका लागि आर्थिक बर्ष २०७२/७३ को नाफाबाट चार करोड ४० लाख बोनस शेयर र २९ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने योजना कम्पनीले समितिमा पेश गरेको छ। त्यस्तै आर्थिक बर्ष २०७३/७४ को प्रतिफलबाट छ करोड रुपैयाँ बोनश र एक अर्ब ५ करोड रुपैयाँको हकप्रद जारी गर्ने कम्पनीको तयारी छ। 
 
एशियन लाइफ इन्स्योरेन्सको हालको चुक्ता पूँजी ८० करोड ५६ लाख रुपैयाँ रहेको छ। आर्थिक बर्ष २०७२/७३ को वासलातमा ४० करोड २८ लाख रुपैयाँको हकप्रद जारी गर्ने कम्पनीको प्रस्ताव छ। त्यसपछि आर्थिक बर्ष २०७३/७४ को हिसाबमा ६० करोड ४२ लाख रुपैयाँ हकप्रद निष्काशन गर्ने कम्पनीको योजना छ। त्यसपछि नपुग्ने १८ करोड ७५ लाख रुपैयाँ पूँजी आर्थिक बर्ष २०७४/७५ को नाफाबाट बोनस शेयर दिएर पुर्याउने कम्पनीले जनाएको छ।
 
सुर्या लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी ६२ करोड पाँच लाख रुपैयाँ रहेकोमा आर्थिक बर्ष २०७१/७२ को नाफाबाट तीन करोड १२ लाख रुपैयाँ बोनस शेयर दिएको थियो। आर्थिक बर्ष २०७२/७३ को वासलातमा छ करोड ५६ लाख रुपैयाँ बोनस शेयर र २८ करोड ८८ लाख रुपैयाँ हकप्रद जारी गर्ने योजना कम्पनीले समितिमा बुझाएको छ। आर्थिक बर्ष २०७३/७४ को वासलातमा १० करोड १० लाख रुपैयाँको बोनस शेयर दिने कम्पनीको तयारी छ। त्यसपछि अपुग ८८ करोड ८३ हकप्रद, फर्दर पब्लिक अफरिङ एवं विदेशी कम्पनीसँग समन्वय गरेर पुर्याउने जनाइएको छ।
 
लाइफ इन्स्योरेन्स कर्पोरेशनको चुक्ता पूँजी एक अर्ब ६ करोड रुयैयाँ रहेको छ। कम्पनीले नपुग पूँजी बोनस शेयरबाटै पुरा गर्ने लक्ष राखेको छ। आर्थिक बर्ष २०७२/७३ मा २६ करोड ५२ लाख रुपैयाँको बोनस शेयर दिएको कम्पनीले गत आर्थिक बर्ष २०७३/७४ को वासलातमा ४० प्रतिशत बोनस शेयर दिने जनाएको छ। त्यस पछि चालु आर्थिक बर्ष २०७४/७५ मा थप २९ करोड रुपैयाँ बराबरको बोनस शेयर दिएर पूँजी पुर्याउने कम्पनीको योजना छ।
 
प्राइम लाइफ ‍इन्स्योरेन्सको आर्थिक बर्ष २०६९/७० यताका तीन आर्थिक बर्षको वासलात समितिबाट स्वीकृत भइ सकेको र आर्थिक बर्ष २०७२/७३ को वासलात स्वीकृत हुने क्रममा रहेको कम्पनी स्रोतले जानकारी दियो। वासलात स्वीकृत भएपछि पुगेसम्म बोनस र बाँकी हकप्रद शेयर दिने कम्पनीको योजना छ। अहिले प्राइम लाइफको चुक्ता पूँजी ४८ करोड ८१ लाख रुपैयाँ रहेको छ। यो पूँजीको शतप्रतिशत हाराहारी हकप्रद र ५० प्रतिशत बोशन शेयर जारी गर्ने कम्पनीको योजना छ। 
 
राष्ट्रिय बीमा संस्थानको हालको चुक्ता पूँजी १२ करोड ९३ लाख रुपैयाँ रहेको छ। तर, साधारण सभा नबसेको कारण संस्थानले समितिमा पूँजी बढाउने योजना पेश गर्न सकेको छैन। 
 
निर्जीवन बीमा कम्पनी 
निर्जीवन बीमा कम्पनीमा नौ वटाले आफ्नो पूँजी बृद्धि योजना समितिमा पेश गरेका छन्। जसमा एभरेष्ट इन्स्योरेन्सले आर्थिक बर्ष २०७२/७३ को वासलातमा दुई करोड ३ लाख रुपैयाँ बोनस शेयर र त्यसमा कायम हुने चुक्ता पूँजीमा ७२ करोड ९० लाख रुपैयाँको हकप्रद दिने जनाएको छ। आर्थिक बर्ष २०७३/७४ को नाफाबाट १४ करोड ९५ लाख रुपैयाँ बोनस शेयर दिएर एक अर्ब रुपैयाँ पूँजी पुर्याउने कम्पनीको लक्ष्य छ। 


 

सगरमाथा इन्स्योरेन्सले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट ३७ करोड ६८ लाख रुपैयाँ बोनस शेयर र त्यसपछि कायम हुने पूँजीमा नौ करोड करोड १५ लाख रुपैयाँको हकप्रद शेयर निष्काशनको लक्ष राखेको छ। लुम्बिनी जनरल इन्स्योरेन्सले पनि आर्थिक बर्ष २०७२/७३ मा ७८ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा ११ करोड १२ लाख रुपैयाँको बोनस शेयर र आर्थिक बर्ष २०७४/७५ मा १२ करोड ७० लाख रुपैयाँको बोनस दिएर एक अर्ब ४० करोड रुपैयाँ पूँजी पुर्याउने भएको छ। 
 
एनबी इन्स्योरेन्सले गत बर्ष २७ करोड रुपैयाँको हकप्रद शेयर जारी गरेको थियो। चालु आर्थिक बर्षमा ४३ करोड २० लाख रुपैयाँको हकप्रद* शेयर र चार ४ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने कम्पनीको योजना छ। यति गर्दा कम्पनीको पूँजी एक अर्ब दुई करोड रुपैयाँ पुग्नेछ।
 
एनएजी इन्स्योरेन्सले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट १० करोड २५ लाख रुपैयाँको बोनस शेयर दिने प्रस्ताव गरेको छ। त्यस पछि यो बर्ष २९ करोड ५१ लाख रुपैयाँको हकप्रद र १२ करोड तीन लाख रुपैयाँको बोनस शेयर जारी गर्ने कम्पनीको योजना छ।
 
प्रुडेन्सिएल इन्स्योरेन्सले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट १२ करोड ८३ लाख रुपैयाँ बोनस शेयर दिएको थियो। आर्थिक बर्ष २०७३/७४ को नाफाबाट आठ करोड ५५ लाख बोनश शेयर र त्यसपछि कायम हुने पूँजीमा २५ करोड ६६ लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने कम्पनीको योजना छ। आर्थिक बर्ष २०७४/७५ मा थप १० करोड ७८ लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने कम्पनीले जनाएको छ।
 
नेको इन्स्योरेन्सले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट सात करोड १३ लाख रुपैयाँ बोनश शेयर र २१ करोड ५८ लाख रुपैयाँ हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ। त्यसपछि थप २३ करोड ५६ लाख रुपैयाँको हकप्रद शेयर जारी गरि एक अर्ब २३ करोड रुपैयाँ पूँजी पुर्याउने कम्पनीको योजना छ।
 
शिखर इन्स्योरेन्सले बोनश शेयर मार्फत नै समितिले तोके बमोजिम पूँजी पुर्याउने प्रस्ताव समिति समक्ष राखेको छ। कम्पनीको हालको चुक्ता पूँजी ५१ करोड रुपैयाँ रहेको छ। त्यस्तै प्रिमियर इन्स्योरेन्सले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट छ करोड ७३ लाख रुपैयाँको बोनस शेयर दिने र ६ करोड ६० लाख रुपैयाँको हकप्रद शेयर जारी गर्ने जनाएको छ। त्यसपछि चालु आर्थिक बर्ष २०७४/७५ को नाफाबाट ४३ करोड ६३ लाख रुपैयाँको हकप्रद* शेयर दिने कम्पनीले योजना बनाएको छ। 
 
नेपाल इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्सले योजना बुझाउने म्याद थपका लागि निवेदन दिएको पौडेलले बताए।  

*सच्याइएको।