त्रिभुवन विमानस्थलको सफार्इ देखेर नायक राजेश हमाल अचम्मित, कसरी बदलियो फोहोर विमानस्थल?

रासस
२०७४ साउन ५ गते २१:४४ | Jul 20, 2017
त्रिभुवन विमानस्थलको सफार्इ देखेर नायक राजेश हमाल अचम्मित, कसरी बदलियो फोहोर विमानस्थल?
काठमाडौँ । असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए। उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ। छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनी आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको देख्दा खुसीसँगै अचम्म लगाेको बताउँछन्।
      

हो, यतिखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जो कोहीलाई पनि यस्तै लाग्छ। भुइँ, चर्पी, स्नानकक्ष, भित्ता र कुर्सी सबै सफा छन्। सामान यत्रतत्र छरिएका छैनन्, आ–आफ्ना स्थानमा मिलाएर राखिएका छन्। फोहर राख्ने बाकसहरुसमेत आकर्षक र सफा देखिन्छ। भित्र छिरेपछि मगमग बास्ना पनि आइरहेको हुन्छ। यात्रु अचम्म मान्दै भनिरहेका हुन्छन्- “राम्रो १ सफा भएछ विमानस्थल ।” 
 
खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव एवम् नेपालका एकजना वरिष्ठ इञ्जिनियर भीम उपाध्यायले आफ्नो फेसबुक वालमा गत असार ३० गते लेखे, ‘खेमजीको दक्षताको नेपालीले भरपूर फाइदा लिनु सक्नुपर्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको कम्पनीले स्वयंसेवकका रुपमा अकल्पनीय सफाइ गरेको प्रत्यक्ष देख्न पाइन्छ। सिंहदरबारभित्र पनि हामीलाई सिकाइदिन मैले अनुरोध गर्दा म सदा तयार छु, जहिले भन्नुहुन्छ अष्ट्रेलियाबाट ४८ घण्टामै नेपाल आउनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। महान छन् खेमजी नमन् ।’  
 
सचिव उपाध्यायले यो टिप्पणी गरेका तिनै खेम शर्माले यतिखेर विमानस्थल सरसफाइको नेतृत्व गरेका हुन्। बत्तीस वर्षीय शर्माले अष्ट्रेलियामा सफाइको काम गरेको आठ वर्ष भयो आफ्नै कम्पनी खेम्स क्लिनिङमार्फत। उनले त्यहाँको सरकारी एवम् गैरसरकारी क्षेत्रका ठूला कार्यालय, कम्पनीलगायतका क्षेत्रमा सरसफाइको काम गर्दै आएका छन्। तिनै सफाइका हातहरुले हाम्रो विमानस्थल सफा गर्न थालेको तीन हप्ता मात्र भयो, तर विमानस्थलको मुहार फेरिइसकेको छ।        
 

गएको असार २ गते नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन र गैरआवासीय नेपाली सङ्घबीच सो विमानस्थलको टर्मिनल भवनमा आधुनिक तथा अन्तर्राष्ट्रियस्तरको सरसफाइ थालेर नमूना स्थापित गर्ने विषयमा एक सम्झौता भएको थियो। गैरआवासीय नेपाली सङ्घले मुख्य जिम्मेवारी लिएको यस कार्यको अभिभारा अष्ट्रेलियामा सरसफाइका क्षेत्रमा कार्यरत संस्था खेम्स क्लिनिङलाई दिएको थियो। उक्त कामको नेतृत्व खेम शर्माले लिए र उनलार्इ विमानस्थलमा सफाइको काम गर्दै आएका मजदुरले सघाए। गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले अष्ट्रेलियामा खेमले गरिरहेको कामको सफलताका कारण उनलार्इ नै रोजेको बताए ।   
 

खेमको नेतृत्वमा प्रत्येक दिन रातको १२ बजे सुरु हुन्छ सफाइको काम। उनको साथमा छन् विमानस्थलकै ३० जना सफाइ मजदुर। मजदुरसँगै राति विमानस्थल पुग्छन् र बिहान ५ बजे निस्किन्छन् खेम। काठमाडौँ ब्युँझिनासाथ विमानस्थल सफा भइसक्छ र त्यसपछि शर्मा र मजदुरहरुको सुत्ने समय हो। उनले यहाँ २० दिनअघि काम सुरु गरेदेखिको समय तालिका हो यो ।

Tata
GBIME
Nepal Life

यसबीचमा गत जुलाई १५ मा परेको शर्माको जन्मदिन पनि राति विमानस्थलमै मजदुरहरुसँगै मनाएको स्मरण गर्दै एक सफाइ मजदुर सञ्जय मगर भन्छन्, “सरसँगै बसेर उहाँको जन्मदिन मनाउन पाउँदा मेरो खुसीको त सीमै रहेन नि। उहाँले हामीलाई सिकाउने मात्र नभएर सँगै आफैँ पनि काम गरेको देख्दा मलाई अचम्म लाग्छ। मानिसले कामको सम्मान कसरी गर्नुपर्छ भन्ने कुरा सबै नेपालीले उहाँबाट सिकिदिए हुन्थ्यो। हामीले मध्यरात शुरु गरेर बिहान सबेरै सफा गरिसक्छौँ।”

 
दुई हप्तामा अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री र माथिल्लो भागमा उल्लेख्य परिवर्तन आएको छ। नेपालमा सरकारबाट सरसफाइको विधि र मापदण्ड बन्ने हो र त्यसै बमोजिमको अनुगमन पनि हुने हो भने यहाँका सबैजसो सहरका अर्बौँ  लगानीमा बनेका सबै सुन्दर भवनहरु छ महिनादेखि एक वर्षभित्र सफा बनाउन सकिन्छ। “नेपालका सडकमा भएको धुलो–धुवाँका कारण आधुनिक भवनको सरसफाइमा देखिने समस्या अस्थायी भएको हो। त्यो पनि सडकको निर्माणसँगै समाधान हुने हुँदा सफा नेपाल सम्भव छ”, खेमले भने। 
 
उनको जस्तै धारणा अभिनेता राजेश हमाल पनि राख्छन्। केही दिनअघि विमानस्थल पुगेका उनले सफाइ अभियान देखेर आफू अत्यन्तै प्रभावित भएको प्रतिक्रिया दिँदै भने, “हामी सार्वजनिक, सरकारी वा निजी क्षेत्रका भौतिक संरचनाहरु निकै नै उत्साहित भएर बनाउँछौँ तर तिनको आवश्यक सरसफाइ र मर्मत–सम्भार गर्न नसक्दा केही वर्षमै जीर्ण अवस्थामा पुग्ने गर्छन् ।” 
 
हालका लागि केही दिन मात्र गर्नेगरी यो कार्य शुरु गरिएको भए पनि यसबाट यहाँका मजदुर पनि लाभान्वित भएका र सीप हस्तान्तरणका दृष्टिले पनि आगामी दिनमा यो आधुनिक सफाइको अभियानलाई निरन्तरता दिइने नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले बताए। उनले भने, “खासगरी गैरआवासीय नेपालीको प्रविधि, सीप र अन्तर्राष्ट्रियस्तरको कार्यशैली सिक्न यो अभियान शुरु गरिएको हो र यसले दिएको उत्साहप्रद परिणामले गर्दा आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिन्छौं। 
 
यहीँका मजदुर र प्रविधिको प्रयोग गरी उनीहरुलाई तयारी अवस्थामा राखेर सफाइ अभियान सञ्चालन गरिएकाले आगामी दिनमा पनि यहाँ कार्यरत मजदुरबाटै यस्तो काम लिन सकिने उनको भनाइ छ । उनको भनाइमा थप बल पुग्नेगरी विमानस्थलका सफाइ मजदुर सञ्जय मगर भन्छन्, “हामीले अब अन्तर्राष्ट्रियस्तरको सफा गर्ने तरिका सिकेका छौँ र आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराएमा यसैगरी सधैँभरि विमानस्थल टल्काउन सक्छौँ ।” 
 
यसैगरी सिंहदरबार टल्काउने रहर खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायको छ । आफ्नो फेसबुक वालमा लेखेजस्तै उपाध्यायले खेमलाई सिंहदरबारका भवनहरु सबै सफा गर्ने जिम्मा दिन मन लागेको बताए । “हुन त आफ्नो घर वा कार्यालय सफा गर्न अरूलाई जिम्मा दिने काम राम्रो होइन, तर एकपटक उहाँबाट अन्तर्राष्ट्रियस्तरको सीप तथा कार्यशैली यहाँका कामदारलाई सिकाउन सकिए यसैअनुरुप आगामी दिन निरन्तरता दिन सकिन्थ्यो भन्ने लागेको हो”, उनले भने । 
 
नेपाल होटल व्यवसायी सङ्घका महासचिव विनायक शाहले विमानस्थलमा ओर्लिने विदेशी पर्यटकलाई कम्तीमा पनि अहिलेको जस्तो सफा र व्यवस्थित विमानस्थल देखाउन पाएमा यसले उनीहरुमा नेपालप्रतिको राम्रो प्रभाव पार्ने बताए। “नेपाल आउने जो कोहीलाई पनि सफासुग्घर र हरियाली देखाउने इच्छा जसलाई पनि हुन्छ, अहिले गरिएको यो सफाइ अभियानलाई हालका लागि नभई सधैँको अभियानका रुपमा चलाउन सक्नुपर्छ,” उहाँले सुझाव दिँदै भने। 
 
नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थलको सफाइ भएमा मात्र अन्तर्रास्ट्रिय रुपमा देशको छवि सुन्दर बन्छ भन्ने खेमको धारणा छ । गैरआवासीय नेपाली आफ्नो ज्ञान, सीप र आर्जन गरेको धन आफ्नो मातृभूमिका लागि सदुपयोग गर्न चाहन्छन् भन्ने यो एक उदाहरण भएको उहाँ बताउँछन्। यो अभियान जुलाईको अन्तमा औपचारिक रुपमा समापन भए पनि सरसफाइको काम निरन्तर भएकाले अनुरोध भएसम्म काम जारी रहने उनले बताए। 
 
हालका लागि यो अभियान एक महिने र स्वयंसेवा हो। खेमको कम्पनीले भरतपुर विमानस्थल, भरतपुर क्यान्सर अस्पताललगायत कैयौँ स्थानमा यस्तो सरसफाइ अभियान गरिरहेको छ। उहाँले आफूले ती संरचना वा स्थल सफा गर्नेभन्दा पनि यहीँका जनशक्तिलाई सीप र कार्यशैली सिकाउने काम गर्दै आएका छन्। विमानस्थल सफाइको काम पनि एक महिनामै बन्द नगरेर निरन्तरता दिइनुपर्ने सुझाव हिजोआज विमानस्थल पुग्नेहरुले दिइरहेका भेटिन्छ।