इमेल इन्टरनेट प्रयोगले हरायो चिठ्ठीपत्रको चलन, तेह्रथुममा पत्र होइन बचत स‌ंकलन गर्दै हुलाक ‍

रासस
२०७४ साउन ८ गते १३:१० | Jul 23, 2017

तेह्रथुम। सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ । अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो ।
हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या बर्सेनि क्रमशः घट्दै गएको छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख रामलखन यादवले बताए।

Tata
GBIME
Nepal Life

एकदशक अगाडिसम्मपनि कतिपयले हुलाकमार्फत चिठी पठाउँदै आए पनि हिजोआज सञ्चारको विकाससँगै हुलाकमार्फत पत्राचार कम भएको उनले बताए।

सरकारी कार्यालय, संघसंस्था तथा विद्यालय र एफएम रेडियोका चिठी अहिले पनि हुलाकमार्फत आउने गरेको तर व्यक्तिगत चिठी भने हुलाकमार्फत आदानप्रदान गर्ने चलन हराउँदै गएको उनको भनाइ छ।

प्रविधिको विकासले सर्वसाधारणमा हुलाक सेवाप्रतिको धारणा नै बदलिएको चर्चा गर्दै निमित्त प्रमुख यादव भन्छन्, “राज्यले पनि समयअनुसार हुलाकलाई विकसित गर्न सकेन, आवश्यक नीतिनियम र पूर्वाधारको विकाससमेत नगरिँदा हुलाक सेवा जनतामाझ प्रभावहीन जस्तै बनेको छ, अब हुलाक केबल सरकारी निकायका चिठीपत्रको कारोबारका लागि मात्र हो भन्ने दिन पनि नआउँलान् भन्न सकिन्न ।”

उनले हुलाक सेवालाई गुणस्तरीय बनाउन राज्यले नीतिनियममै परिमार्जन गर्नुपर्ने बताए। कार्यालयमा २० वर्ष सेवा गरिसकेका हुलाकी खड्गबहादुर कटुवाल भन्छन्, “ हुलाक सेवा समयअनुसार चुस्त र छिटोछरितो नबन्दा सर्वसाधारणको ध्यान घटेको हो । सर्वसाधारणले आधुनिक प्रविधिको प्रयोगमा छिनमै देशविदेशमा खबर आदानप्रदान गर्न सक्छन् ।”

उनी पुराना दिन सम्झन्छन्, “बीस वर्षअघि बोरामा हालेर चिठीपत्र बोक्नुपथ्र्यो अहिले मासिकरुपमा बल्ल दुई चार सय चिठीपत्र जम्मा हुन्छन् । कहिलेकाहीँ त हल्काराले रित्तै पनि हिँड्नुपर्छ । हुलाक सेवामा सर्वसाधारणको ध्यान क्रमशः घट्दै जाँदा कर्मचारीमा त्यसको प्रभाव परेको निमित्त प्रमुख यादवले जानकारी दिए।

जहाँ सेवाग्राही कम आउँछन्, जनतासँगको सम्बन्ध कम हुन्छ, निमित्त प्रमुख यादवले भने, “यो कार्यालयमा काम गर्न हामी कर्मचारीलाई खासै जाँगर नै छैन त्यसले गर्दा जिल्लाका हुलाक कार्यालयको सेवामा पनि कहिलेकाहीँ प्रश्न उठ्ने गरेको उनी स्वीकार गर्छन् ।” तेह्रथुममा एक जिल्ला हुलाकसहित नौ इलाका र २२ वटा अतिरिक्त हुलाकमा १५० कर्मचारी छन् ।

जिल्ला र इलाका हुलाक कार्यालयमा मात्रै हाल १०१ जनाको दरबन्दीमा ५९ जना मात्रै कार्यरत छन् । गएको तीन वर्षयता जिल्ला हुलाक कार्यालयमै कार्यालय प्रमुख छैनन् । कार्यालय प्रमुख नहुँदा कामकारबाही गर्न कहिलेकाहीँ समस्या भएपनि कामअनुसार कर्मचारीको व्यवस्थापन हुँदै आएको छ ।
जिल्ला हुलाक कार्यालयअन्तर्गत हाल हुलाक बचत बैंक र विभिन्न चार ठाउँमा टेलिसेन्टर सञ्चालनमा छन् । सदरमुकामस्थित हुलाक बचत बैंकमा हाल ९०२ निक्षेपकर्ताले  एक करोड ३८ लाख ८३ हजार १२१ रुपैयाँ निक्षेप संकलन गरेको निमित्त प्रमुख यादवले जानकारी दिए । हाल हुलाक कार्यालयमा चिठीपत्रभन्दा हुलाक बचत बैंक प्रभावकारी रुपमा सञ्चालन भइरहेको उनले बताए।
यस्तै कार्यालयले म्याङ्गलुङ्गसँगै बसन्तपुर, शुक्रबारे र मोराहाङमा टेलिसेन्टरमार्फत सुपथ मूल्यमा कम्प्युटर तालीम, फोटोकपि, फ्याक्स, इमेललगायतका सेवा प्रदान गर्दै आएको छ ।