यसरी गर्न सकिन्छ बालबालिकाको भविष्यकालागि बचत, केमा लगानी गर्दा हुन्छ ‘थोरै रिस्क धेरै रिटर्न?’

बिजमाण्डू
२०७४ साउन ८ गते १६:३९ | Jul 23, 2017
यसरी गर्न सकिन्छ बालबालिकाको भविष्यकालागि बचत, केमा लगानी गर्दा हुन्छ ‘थोरै रिस्क धेरै रिटर्न?’
बाबुआमा बन्नु जतिको रोमाञ्चकता हुन्छ त्योभन्दा बढि जिम्मेवारी हुन्छ। बच्चा जन्मिना साथ प्रत्येक बाबुआमाले उसको सुन्दर भविष्यको सपना देख्न थालिसक्छन्। कसरी आफ्नो बच्चालार्इ सुरक्षित भविष्य दिन सकिन्छ भनेर त्यसका लागि तयारीसमेत सुरु गर्छन्। यो सबै प्रक्रियामा 'फाइनान्सियल प्लानिङ' सबैभन्दा महत्वपूर्ण हुन्छ। 
 
पहिलेको तुलनामा बालबालिकाको शिक्षा महँगो भइरहेको छ। यस्तोमा आफ्ना बालबालिकालार्इ गुणस्तरीय शिक्षा दिनका लागि पनि वित्तीय योजना बनाएर अघि बढ्नु जरुरी छ।
 
आज जति रकम बालबालिकाको शिक्षामा खर्च भइरहेको छ १५ वर्षपछि कम्तीमा दोब्बर बृद्धि हुने अनुमान छ। यस्तो अवस्थामा कसरी बालबालिकाको पढाइ, स्वास्थ्य तथा सुरक्षित भविष्यको योजना बनाउने? यी बिभिन्न लगानीका क्षेत्रहरुमा लगानी गरेर भविष्यमा आइपर्ने बित्तीय समस्याहरुको समाधान गर्न सकिन्छ।
 
१. म्युचुअल फण्डमा लगानी
धनसम्पती सञ्चयका लागि म्युचुअल फण्ड उत्तम विकल्प हो। यसले शेयरहरु तथा बैंकको निक्षेपमा लगानी गर्दछ। म्युचुअल फण्डका आफ्नै किसिमका फाइदा/बेफाइदा छन्। इक्विटी फण्डमा धेरै जोखिम हुन्छ तर लामो अवधिमा यसैबाट सबैभन्दा धेरै रिटर्न पाइने संभावना पनि हुन्छ। नेपालमा म्युचुअल फण्डमा लगानीको अवधि ५ वर्षको हुन्छ। म्युचुअल फण्डमा लगानी गर्नु तुलनात्मक रुपमा सुरक्षित मानिन्छ। यसमा लगानी गर्दा अभिभावकले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान अपनाउनुपर्छ।
 
२. अचल सम्पत्तिमा लगानी
देश विकास तथा शहरीकरणका क्रममा जमीनको मागमा पनि बृद्धि हुनु स्वाभाविकै हो। अचल सम्पतिमा लगानी गर्नु भविष्यका लागि बचत गर्ने राम्रो स्रोत हो। ठूला शहरहरुमा जमीन खरिद गर्न संभव नभए ससाना शहरोन्मुख ग्रामीण क्षेत्रमा पनि जमीन किनेर राख्नेबारे सोच्न सकिन्छ। साना शहरहरुमा जमीन किन्न सहज र सस्तो पनि हुन्छ। पछि तीनै स्थानमा जमीनको भाउ बढेर राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ। यसले पनि बालबालिकाको भविष्यका लागि सुरक्षित लगानीको काम गर्छ। 
 
३. सुनमा लगानी
हाम्रो परम्परागत तथा सांस्कृतिक मान्यता अनुसार सुन समृद्धिको परिचायक हो। पछिल्ला केही वर्षदेखि सुनको भाउमा खासै धेरै बृद्धि भएको त देखिदैन तर भविष्यमा यस्तै अवस्था रहिरहन्छ भन्न सकिन्न। त्यसैले सुनमा लगानी पनि खेर जाँदैन। छोराछोरीको विवाहको समयमा चाहिने सुनको जोहो बेलैदेखि गरेमा एकैपटक ठूलो रकम सुनमा लगानी गर्न पनि पर्दैन र  आवश्यक परेको खण्डमा सुन बेचेर उच्च शिक्षाको लागि पनि खर्च गर्न सकिन्छ। 
 
४. बीमा सुरक्षा योजना 
म्युचुअल फण्ड, जमीन, सुन तथा अन्य क्षेत्रहरुमा लगानी  गर्नुका साथै तपार्इंले एउटा राम्रो बीमा सुरक्षा योजनामा पनि लगानी गर्न बिर्सनु हुँदैन। यसबाट तपार्इं हुँदा मात्र होइन तपार्इंको भौतिक उपस्थिती नभएको खण्डमा पनि सन्तानको हितमा हुनेछ। बीमा सुरक्षा योजनामा लगानी गर्दा कुनै पनि परिस्थतीमा बालबालिकाको पढाइ, बिवाह तथा अन्य खर्चहरुको पूर्ति गर्न धेरै सहयोग पुग्छ। 
 
५. बाल बीमा सुरक्षा तथा बैकिङ बचत योजना 
बिभिन्न बीमा कम्पनीहरुले चाइल्ड प्लान पनि ल्याएका हुन्छन्। यस्ता योजनाका विशेषताहरुको अध्ययन र विश्लेषण गरी नाफा हुने गरी लगानी गरेमा बालबालिका ठूला हुन्जेलमा ठूलै रकम जम्मा गर्न सकिन्छ। यस्तै बालबालिकाको नाममा बैंकहरुले सुरु गरेका बिभिन्न बाल बचतहरुमा पनि स-सानो रकमहरु जम्मा गर्दै जानु भविष्यको लागि सहयोगी सावित हुन्छ। आफ्नो बच्चाको लागि ‘रिकरिङ डिपोजिट’ तथा लङ-टर्म फिक्स्ड डिपोजिट’ समेत लगानी गर्न सकिन्छ। 
 
तपार्इले आफ्नो बच्चाको लागि लगानीको निर्णय लिने समयमा लगानीसँग जोडिएका जोखिम, सर्ट टर्म तथा लङ टर्म रिटर्नमा ध्यान दिएर मात्र निर्णय गर्नु बुद्धिमानी हुन्छ। 

Tata
GBIME
Nepal Life