जागिर नफापेका मल्ल, जसले कृषि फार्म खोलेपछि पछाडि फर्कनु परेको छैन, मासिक कमाइ २ लाख

बिजमाण्डू
२०७४ साउन १० गते १४:५४ | Jul 25, 2017
जागिर नफापेका मल्ल, जसले कृषि फार्म खोलेपछि पछाडि फर्कनु परेको छैन, मासिक कमाइ २ लाख
म्याग्दी । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो। 
 
जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने योजना सुनाउँदा धेरैलाई पत्यार लागेको थिएन। तर, अहिले मल्लले त्यही बगरको झाडीमा कृषि फार्म मात्रै खोलेका छैनन्, नौ वर्षको अवधिमा उनी त्यसलाई नमूना कृषि फार्मको रुपमा स्थापित गराउन समेत सफल भएका छन्। 
 
वर्षौंदेखि उपयोगविहीन बनेर झाँडी बनेको जग्गालाई खनजोत र मलजल गरी ५२ वर्षीय मल्लले शुरुमा तरकारीखेती थालेका थिए। विस्तारै उनले उर्वराशक्ति नभएको बगरलाई बाहिरबाट माटोसमेत ल्याएर पुर्दै उर्वर भूमि बनाए। 


 
अहिले त्यही बगर मल्लको जीविकोपाजर्नको माध्यम मात्रै बनेको छैन, आकर्षक कमाइको भरपर्दो स्रोतसमेत बनेको छ। विसं २०६५ देखि मल्लले राहुघाटमा तरकारीखेतीबाट कृषि फार्म शुरु गरेका थिए। 
 
२०६९ देखि मल्लले कृषिसँगै व्यावसायिक रुपमा बाख्रापालनसमेत थप गरी भरत मल्ल राहुघाट कृषि फार्म सञ्चालनमा ल्याएका हुन्। तरकारीखेतीसँगै व्यावसायिक रुपमा बाख्रापालन, कुखुरापालन र भैँसीपालनसमेत गरिरहेका छन्। मल्लको अहिले मासिक दुई लाख रुपैयाँ हाराहारीमा कमाइ छ। 
 
मल्लले अहिले टनेलमा गोलभेँडाखेतीसँगै घिरौँला, बन्दा, काउली, खुर्सानीलगायतका मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन्। तरकारीखेतीबाट मात्रै वार्षिक तीनदेखि पाँच लाखसम्म कमाइ हुने कृषक मल्लले बताए। 
 
उनको कृषि फार्ममा अहिले ७२ वटा जमुनापारी जातका बाख्रा, दुई हजार ५०० अण्डा दिने कुखुरा र दुई वटा भैँसी छन्। यसै वर्षदेखि उनले खरायोपालन र लुईस जातको कुखुरा समेत पाल्न थालेका छन्। अष्ट्रेलियामा हुने लुईस जातको कुखुरा एक जोडीलाई पाँच हजारमा काठमाडौँबाट खरिद गरी ल्याएका मल्लको फार्ममा अहिले ७० वटा खरायो छन्।
 
फार्मबाट मल्लले आफू र परिवारबाहेक अन्य पाँच जनालाई रोजगारी दिएका छन्। मल्ल कुखुरापालनबाट वार्षिक १५ लाख र बाख्रापालनबाट १८ देखि २० लाखसम्म आम्दानी हुने बताउँछन्।
 
'कुखुरापालन र बाख्रापालन फस्टाउँदै गएको छ, आम्दानी राम्रो हुन थालेपछि कुखुरा र बाख्राको खोरको क्षमता पनि बढाउँदै लगेको छु, अहिले वार्षिक रुपमा खर्च कटाएर २० देखि २२ लाखसम्म कमाइ हुने गरेको छ' उनले भने। 
 
उनले फार्मबाट भएको आम्दानीलाई फार्मकै क्षमता विस्तारमा खर्चिएको बताए। अहिलेसम्म तरकारीखेती गर्ने जग्गा बनाउन, कुखुरा, बाख्रा र भैँसी पालनको पूर्वाधार तयार गर्न झण्डै एक करोड खर्चिसकेका छन्।
 
यसै वर्ष उनले ११ लाख लगानी गरी एक हजार ५०० कुखुराको चल्ला अट्ने खोर निर्माण गरेका छन्। मल्लले आफ्नो फार्म नजिकै गलेश्वरमा होटल र मासु पसलसमेत खोलेका छन्। फार्मको नेतृत्व उनी आफैँ गर्छन् भने होटल र मासु पसल उनकी श्रीमती कुमारी मल्लले चलाएकी छिन्। 
 
आफ्नै फार्मबाट उत्पादन हुने तरकारी र मासुजन्य पदार्थलाई आफ्नै होटल र मासुपसलबाट बिक्री गर्दा आम्दानी राम्रो हुने मल्लले बताइन्। आफ्नै पसल र बजारसमेत नजिकै रहेकाले कृषि फार्मबाट उत्पादन हुने तरकारी तथा कुखुरा र बाख्रा बजारीकरणको लागि कुनै समस्या नरहेको उनको भनाइ छ।
 
मजदुरको रुपमा साउदी पुगेका मल्लले त्यहाँ छ वर्षसम्म सवारी चालकको रुपमा काम गरेका थिए। विदेशमा अरुको गुलामी गर्नुभन्दा स्वदेशमै केही गर्छु भन्ने अठोट लिएर स्वदेश फर्किएका मल्लले जिल्लामै झण्डै १४ वर्ष यातायात व्यवसायी र सवारी चालकको रुपमा समय बिताए। यातायात क्षेत्रबाट कमाइ राम्रो हुने भए पनि कच्ची सडकको कारण दुःख र जोखिम बढी हुने भएपछि मल्ल कृषितिर लागेका हुन्। रासस

Tata
GBIME
Nepal Life