परवानीपुर गण्डक चार लेनको सडक बिस्तार मंसिरदेखि, अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइने

बिजमाण्डू
२०७४ साउन ११ गते १३:४२ | Jul 26, 2017

वीरगञ्ज। वीरगञ्ज पथलैया सडकखण्डको परवानीपुरदेखि गण्डक चोकसम्म चार लेनको सडक विस्तार हुने भएको छ। आगामी मंसिरदेखि सडक विस्तार सुरु हुने वीरगञ्ज पथलैया ब्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ।

Tata
GBIME
Nepal Life

सडक विस्तार कार्यकालागि आह्वान भएको बोलपत्रमा ८ वटा ठेकेदार कम्पनीले बोलपत्र दर्ता गराइसकेका र एक महिनाभित्र ठेक्काको प्रकृया पूरा भएपछि सडकको विस्तार कार्य थालिने योजना कार्यालयका इन्जनियर अशोककुमार यादवले जानकारी दिए। चार किलोमिटर दुरी भएको सडक विस्तारको लागि करिब ४० करोडको लागतमा कार्यालयले गत जेठमहिनामै बोलपत्र आह्वान गरेको थियो।

बोलपत्रको एक महिनाको समय सीमामा ८ वटा कम्पनीले बोलपत्र हालेको उनले बताए। ‘ठेकेदार कम्पनीहरुको मूल्यांकनको काम चलिरहेको छ। २०\ २५ दिनमै ठेक्काको प्रकृया पूरा भइ सम्झौता गरिने र काम थालिनेछ।’ इन्जिनियर यादवले भने ।

हाल रहेको सडकको बीच भागबाट २५ २५ मिटर दाँयाबायाँ सडकको विस्तार कार्य हुने बताइएको छ। चार लेनको सडकको बीचमा चार मिटरको हरित क्षेत्र डिभाइडर बनाइनेछ। डिभाइडरको दायाँबायाँ समान ११ मिटर चौडाइमा साढे ३\ ३ मिटर गरी ७ मिटरमा २ लेन सडक र ४ मिटरको फुटपाथ बनाइनेछ। दायाँबायाँ दुबै र डिभाइडरको चौडाइ जोड्ने हो भने ४ लेन सडकको चौडाइ २६ मिटरको हुनेछ।
 
सडक विस्तार कार्य दुर्इ वर्षमा सकिने बताइएको छ। काम सम्पन्न भएपछि वीरगञ्ज पथलैया सडकको ट्राफिक ब्यवस्थापनमा सहयोग मिल्नेछ। साथै परवानीपुरदेखि गण्डकसम्म दिउँसोको समयमा हुने ट्राफिक जामबाट पनि मुक्ति पाइने चालकहरुले बताएका छन्।

हाल परवानीपुर गण्डक सडक किनारको अधिकांश जग्गा अतिक्रमित छ। सडकको दुबै छेउमा पसल टहरा पक्की भवन लगायत बिभिन्न भौतिक संरचना खडा गरी जग्गा मिचिएको छ। सडक विस्तार कार्य अघि बढेसंगै अतिक्रमण गरी बर्षौदेखि बसोबास तथा ब्यापार गर्नेहरुमा खैलाबैला मच्चिएको छ।