सरकारको मुख ताक्दा गण्डक नहर क्षेत्रको सडकमा खाल्डैखाल्डा, उद्योगले मर्मत गर्न स्थानीयको माग

बिजमाण्डू
२०७४ साउन ११ गते १४:०७ | Jul 26, 2017

वीरगञ्ज। पर्साको गण्डक नहर क्षेत्रमा करिब ३ अर्बको लगानीमा उद्योग स्थापना भएका छन्। अर्बौको लगानी भएपनि त्यसक्षेत्रमा न्यूनतम सुविधाहरु समेत उपलब्ध छैनन्। गण्डक चोक पश्चिममा पर्ने परसौनी विर्ता ,लिपनीविर्ता र जगरनाथपुरसम्म करिब १२ वटा ठुलठुला उद्योगहरु स्थापना भएका छन्। तर त्यस क्षेत्रमा पक्की सडक र संचार सुविधा पुगेको छैन।

Tata
GBIME
Nepal Life

गण्डक नहर क्षेत्रको सडक हाल पनि कच्ची नै छ ,करिब एक किलोमिटर पर्ने सडकमा खाल्डाखुल्डी छन् ।उद्योगको लागि चाहिने विद्युत सेवा उपलब्ध छ भने टेलिफोन सेवा हालसम्म सो क्षेत्रमा पुग्न नसकेको व्यवसायीहरु बताउँछन् । सडक खाल्डाखुल्डीमा परिणत हुँदा उद्योग कलकारखाना सञ्चालनमा समस्या भइरहेको व्यवसायीले गुनासो गरे ।

गण्डक नहरको लिपनीविर्तामा सर्वप्रथम २०५५ सालमा छाला व्यवसायी फारुख लारीले पहिलो उद्योग मरियम लेदरको कारखाना स्थापना गरे ।त्यसपछि ग्लोबल लेदर, नेपाल लेदर, नेशनल लेदर, निम्बसको प्रोबायोटेक इण्डष्ट्रिज प्राली, ऋद्धिसिद्धि समुहको विश्वकर्मा सिमेन्ट प्राली, कलश सिमेन्ट प्राली, चन्दन लुब्रिकेन्ट प्राली ,  सुपर गैस प्राली, अमित पेष्टिसाईड उद्योग, फोम र सिसाजन्य उत्पादन गर्ने उद्योग, ओम इन्टरनेशनल सिमेन्ट गरी १२ वटा उद्योग स्थापना भइसकेका छन् ।

सो सडक आउजाउ गर्ने स्थानिय बासिन्दा तथा यात्रुहरु भने तिनै उद्योगका कारण सडकको अवस्था नाजुक भएको आरोप लगाउँछन्। वीरगञ्ज–२१ लिपनीविर्ताका बासिन्दा तथा अधिवक्ता जीतेन्द्रप्रसाद कुर्मीले उद्योगमा आउने भारती सवारी साधनले गर्दा सडक सँधै बिग्रिरहने बताए। ब्यवसायीहरुले उद्योगको नाफाबाट केही अंश सडकको मर्मतमा पनि लगाउनुपर्ने स्थानीय बासिन्दाको तर्क छ।
 
गण्डक नहरलाई व्यवस्थापन गर्ने निकाय नारायणी सिचाईले सडकमा गुडने सवारी साधनबाट जिल्ला समन्वय समितिले राजस्व असुल्ने भएकोले बाटो बनाउने जिम्मेवारी त्यही संस्थाको भएको डिभिजनका ईन्जिनियर सुबोध गुप्ताले बताए  । सडक कालोपत्रे गर्न पहल गर्ने जिल्ला समन्वय समिति पर्साले आश्वासन दिएको छ ।

पहिले सिचाई डिभिजनको गाडी मात्र गुड्ने सडकमा पछिल्लो समयमा टायर गाडा र भारी सवारी साधन पनि गुड्न थालेपछि पर्साको ग्रामीण भेगको लाईफलाइनको रुपमा यो सडक प्रयोगमा आएको छ।