विराटनगर जुट मिल्सको चुनौतीपूर्ण ‘कम ब्याक’, अध्यक्ष र एमडि चुनिए, तीन महिनामै संचालन हुने

बिजमाण्डू
२०७४ साउन ११ गते १६:५३ | Jul 26, 2017

विराटनगर । विराटनगर जुट मिल्सको अध्यक्ष पदमा वसन्त वन चयन गरिएका छन् । नेपालकै जेठो उद्योगका रूपमा चिनिँदै आएको विराटनगर जुट मिल्सको अध्यक्ष पदमा सञ्चालक समितिले वनलाई चयन गरेको हो ।

Tata
GBIME
Nepal Life


अध्यक्ष बसन्त वन

कार्यकारी अध्यक्षका रूपमा विगत २ वर्षदेखि कार्यरत नीलहरि काफ्ले मिल्सको प्रबन्ध सञ्चालकमा नियुक्त गरिएका छन् । काफ्ले अब मिल्सको दैनिक कार्य सञ्चालनमा प्रत्यक्ष संलग्न रहनु पर्नेछ ।

‘यो कुनै घटुवा र बढुवा होइन’, नवनियुक्त प्रबन्ध सञ्चालक काफ्लेले भने, ‘निकट भविष्यमै मिल्स सञ्चालनमा लैजाने लक्ष्यमुताविक गरिएको जिम्मेवारी बाँडफाँड मात्र हो । अध्यक्ष वनले मिल्स सञ्चालनका लागि नीति निर्माणमा सहयोग पुर्याउनु हुनेछ ।’

आगामी तीन महिनाभित्र मिल्सलाई प्रति दिन २० देखि २५ मेट्रिक टन क्षमतामा सञ्चालन ल्याइसक्ने योजनाअनुसार काम सुरु गरिएको प्रवन्ध सञ्चालक काफ्लेको दाबी छ ।


प्रबन्ध संचालक निलहरि काफ्ले

मिल्स पूर्ण क्षमतामा सञ्चालन गर्दा जुटका सामग्री प्रति दिन ४५ मेट्रिक टनका दरले उत्पादन गर्न सकिन्छ र ३ हजार ५ सयले रोजगारी पाउँछन् ।
भारतको औद्योगिक समूह विनसम इन्टरनेशनलले २०७१ असोज १८ गते देखि उत्पादन बन्द गरेपछि जुट मिल्स अझै बन्द अवस्थामा छ ।

विनसमलाई जुट मिल्सको उत्पादन वहालमा दिने बेलामा नेपाल सरकारले विद्युत्को ३३ केभिए प्रसारण लाइन उपलब्ध गराउने र जुट मिल्सभित्रका भवनलाई कार्यालय र क्वार्टरका लागि प्रयोग गर्न दिने शर्त गरेको थियो ।

सरकारी शर्त पूरा नभएपछि विनसमले ११ महिना ३ दिनसम्म मिल चलाएर बन्द गर्यो । त्यसपछि हालसम्म बन्दकै अवस्थामा छ । सरकारले पनि विनसमलाई औपचारिक रूपमै विदा गरिसकेको छ ।

गत कात्तिक २६ गते विराटनगर आएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि शर्तमा जुट मिल्स सञ्चालन गर्न सरकार तयार रहेको अभिव्यक्ति दिएका थिए । जुट मिल्सको निरीक्षण गरेपछि मिल्स परिसरमै प्रचण्डले मिल चलाउने घोषणा गरेका थिए ।

उनले घोषणा गरेको १ वर्षपछि मिल्सबाट उत्पादन सुरु गर्ने योजनाअनुसार काम सुरु भएको छ । प्रति दिन २० मेट्रिक टनका दरले जुटका सामाग्रीको उत्पादन गर्दा वार्षिक २९ करोड नाफा गर्न सकिने संचालक समितिले अनुमान गरेको छ ।

इन्जिनियर सौरभको नेतृत्वमा प्राविधिक टोली

मिल्सका मेसिन तथा पार्टपुर्जाको मर्मतकालागि इन्जिनियर सौरभ विष्टको नेतृत्वमा प्राविधिक टोली बुधबार विराटनगर आइपुगेको छ । इन्जिनियर सौरभ काठमाडौं विश्वविद्यालयमा आबद्ध छन् ।

मिल्समा ६० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपुर्जा खराब अवस्था रहेको बताइएको छ । सौरभ नेतृत्वको प्राविधिक टोलीले सबै मेसिन तथा पार्टपुर्जालाई दुरुस्त बनाउने मिल्स सञ्चालक समितिले बताएको छ । प्राविधिक टोलीलाई काम गर्न कम्तीमा ७५ दिन लाग्ने  तथा कम्तीमा १० करोड मूल्यका नयाँ पार्टपुर्जा लगाउनुपर्ने अनुमान गरिएको छ ।

प्राधिकरणद्वारा ३३ केभिए जडानको स्वीकृति

नेपाल विद्युत् प्राधिकरणले मिल्स सञ्चालन गर्न आवश्यक पर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिइसकेको छ ।
प्राधिकरणका पूर्वाञ्चल क्षेत्रीय निर्देशक व्रजभूषण चौधरीले ३३ केभिए विद्युत् प्रसारण लाइनको स्वीकृति दिइएको २ हप्ता भइसकेको जानकारी दिएका हुन् ।

निर्देशक चौधरीका अनुसार जुट मिल्सबाट करिब १ किलोमिटर दक्षिणमा रहेको प्राधिकरणको स्विचिङ स्टेसनबाट तार टाँगेर विद्युत् लैजान पाउने गरी ३३ केभिए प्रसारण लाइनको स्वीकृति दिइएको हो । यसका लागि आवश्यक तार, ट्रान्सफरमरलगायतका सामान र जडान खर्च पनि मिल्सले नै जुटाउनु पर्नेछ ।

सञ्चालक काफ्लेका अनुसार ३३ केभिए प्रसारण लाइन प्राप्त भएपछि भोल्टेज कम हुने समस्या आउँदैन । साथै पटकपटक लाइन गइरहने झन्झट पनि कम हुन्छ । प्रसारण लाइन जडान गर्न २ महिना लाग्ने उनको भनाइ छ ।

खुल्ने भो औद्योगिक सङ्ग्रहालय

काफ्लेले विराटनगर मिल्सको परिसरभित्र नेपालको पहिलो औद्योगिक संग्रहालय स्थापना गर्ने जानकारी दिए । उनी भन्छन्-, ‘नेपालमा दर्ता नम्बर १ रहेको उद्योग विराटनगर जुट मिल्स परिसरमै औद्योगिक संग्रहालयको स्थापना गर्नेछौँ।’ उनले सङ्ग्रहलायको अवलोकन गर्न स्मार्ट टिकट प्रणाली जडान गरिने र यो  नेपालकै नमुना  सङ्ग्रहालय  हुने दावी समेत गरे।  
 

सञ्चालनमा धेरै छन् चुनौती

मिल्स यतिबेला प्रशस्त ऋणमा डुबेको छ । मिललाई अहिले साँवा, ब्याज र ब्याजको स्याजसमेत गरेर ३ अर्ब २० करोड ऋण लागेको छ । मिल्स सुचारु भएमा ऋण तिरेर नाफामा जान सकिने सञ्चालक काफ्लेको विश्वास छ ।

मिल्सको स्वामित्वमा दुई प्लट गरेर ६७ विगाहा भन्दा बढी जमिन छ । मिल्स परिसरभित्र जीर्ण र काम नलाग्ने भइसकेका पुराना पूर्वाधार धेरै छन् । सशस्त्र प्रहरी र अन्य व्यक्तिले समेत गरेर मिल्सको करिब २५ विगाहा जग्गा अतिक्रमण गरिएको सञ्चालक काफ्लेको दाबी छ ।

अतिक्रमित उक्त जग्गा खाली गराउन पटकपटक मिल्सले ताकेता गर्दै आए पनि कुनै उपलब्धि हात लागेको छैन । मिल्स परिसरभित्र कार्यालय र  क्वार्टरका लागि प्रयोग गर्न कुनै पनि सद्दे र आधुनिक भवन छैनन् ।

नेपालका कृष्णप्रसाद कोइराला र रामलाल गोल्छासमेतका सहयोगमा भारतका उद्योगी राधाकृष्ण चमडियाले १९९३ मिल्सको स्थापना गरेका हुन् । यहीँबाट नेपालको औद्योगिक इतिहास सुरु हुन्छ ।