घरजग्गा कारोबारमा घाँटी अठ्याउँदै सरकार, श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर

बिजमाण्डू
२०७४ साउन १८ गते १५:३३ | Aug 2, 2017
घरजग्गा कारोबारमा घाँटी अठ्याउँदै सरकार, श्रीमान् श्रीमतीबीच जग्गा कित्ताकाट गर्दा पनि लाभकर
काठमाडौं। घरजग्गा कारोबारमा हुँदै आएको पूँजीगत लाभकर छलि रोक्न सरकारले थप कडाइ थालेको छ।
 
आन्तरिक राजश्व विभागले सबै मालपोत कार्यालयलाई पत्राचार गर्दै यस अघि घरजग्गा किनबेच गर्दा विभिन्न शीर्षकमा पाइने लाभकर छुटका प्रावधान खारेज गरि दिएको हो।  

Tata
GBIME
Nepal Life


 

विभागले व्यक्तिगत र संस्थागत कारोबारमा छुट्टाछुट्टै फारम प्रयोग गर्नु पर्ने, एक करोड रुपैयाँ माथीको कारोबारमा स्थाई लेखा नम्बर (पान) अनिवार्य प्रयोग गर्नु पर्ने, जग्गा विकासका नाममा खर्च देखाउन नपाउने लगायत व्यवस्था लागु गरेको हो। साथै घर निर्माण सम्पन्न हुँदा नगरपालिका या गाउँपालिकाले गरेको मूल्याङ्कन भन्दा घटाउन नपाउने, घरको रङरोगन तथा मर्मत सम्भार गरेको खर्च कटाउन नपाउने, मुआब्जा पाउँदा पनि लाभकर तिर्नु पर्ने र एकाघरको तीन पुस्तामा (हजुरबुबा, बुवा र छोरा) गरिने अंशवण्डा बाहेक कसैलाई जग्गा उपहारनै दिएपनि पूँजीगत लाभकर तिर्नु पर्ने व्यवस्था गरेको छ। 
 
बाबुले छोरालाई अंश दिँदा बाहेक अरु कुनै समय जग्गा पास गरिदिन चाहेमा पनि लाभकर तिर्नु पर्छ। साथै एकाघरको अंशबण्डा (तीन पुस्ता भित्र) बाहेकको जग्गा कित्ताकाट भयो र उक्त जग्गाको मूंल्याङकन ३० लाख रुपैयाँ भन्दा बढी हुन्छ भने पनि लाभकर तिर्नु पर्नेछ। दुई या त्यसभन्दा बढिले सगोलमा राखेको जग्गाको कित्ताकाट गर्दा पनि लाभकर लाग्नेछ। यस्तो कित्ताकाट श्रीमान् श्रीमतीबीचमा भए पनि कर उन्मुक्ति हुने छैन। 
 
यो व्यवस्थाले घरजग्गा कारोबारमा तत्काल असर नदेखिए पनि कालान्तरमा प्रभाव पर्न सक्ने काठमाडौं मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत पद्दनिधी सोतीले बिजमाण्डूलाई बताए।
 
सोतीका अनुसार यस अघि पुरानो नगर तथा गाउँ पालिकाले गरेको घरको मूल्याङ्कन पनि पुरानो भन्दै घटाइने गरेको थियो। कारोबारीले ६० लाख रुपैयाँ मूल्याङ्कन भएको घरलाई पुरानो भनेर ३० देखि ४० लाख रुपैयाँ मात्र लाभकर तिर्ने गरेका थिए। अब भने निर्माण सम्पन्न हुँदा लिएको प्रमाणपत्रमा उल्लेख भएको मूल्यलाई घटाएर लाभकर छुट लिन पाइँदैन।
 
त्यस्तै कसैले जग्गामा डोजर लगाएको या सम्याएको भन्दै खर्च देखाएर पनि कम लाभकर तिर्दै आएका थिए। अब बेचेको मूल्यबाट किनेको मूल्य सोझो रुपमा घटाइ प्राप्त लाभमा कर तिर्नु पर्ने भएको छ। यदि कारोबारी साँच्चिकै जग्गा विकास गरेको हो र त्यसमा छुट पाउन योग्य छ भने आन्तरिक राजश्व विभागमा निवेदन दिन सक्ने समेत उल्लेख गरेको छ। विभागले मनासिव देखेमा भने उक्त छुट पाइने जनाइएको छ।
 
त्यस्तै फरक फरक कित्तामा रहेको जग्गालाई एकै कित्ता बनाउँदा पनि लाभकर लाग्नेछ। आफुसँग भएको जग्गा थोरै भयो र केहि थपेर जग्गाको क्षेत्रफल बढाउँदा पनि (चक्लाबन्दी गर्नु) लाभकर लाग्ने सोतीले बताए।


 

यसअघि संस्थागत घरजग्गा किनबेचमा मात्र पान प्रयोग हुँदै आएको थियो। अब करोड माथि कारोबार गर्ने व्यक्तिले पनि पान लिनै पर्ने भएको छ। घरजग्गा किन्ने बेच्ने दुबैको पान नभइ पास गर्न नमिल्ने सोतीले जानकारी दिए।
 
यसरी कारोबार गर्दा आयको स्रोत देखाउनु पर्ने र त्यस अनुरुप कर तिरे नतिरेको पनि सरकारले अनुसन्धान गर्न सक्नेछ। 
 
बैंक मार्फत कारोबारले अफ्ठ्यारो
चालु आर्थिक वर्ष देखि १० लाख रुपैयाँभन्दा बढीको घरजग्गा किनबेचमा बैंकमार्फत कारोबार अनिवार्य गरिएको छ। यो व्यवस्थाको जानकारी नहुँदा जग्गा पास गर्न आएका धेरै व्यक्ति फर्केको सोतीले जानकारी दिए। जग्गा पास गर्नु अगावै किन्ने ब्यक्तिले बेच्नेको नाममा रकम जम्मा गर्नु पर्ने व्यवस्थाले जोखिम बढाएको उनको भनाइ छ।
 
'बैंक कारोबारलाई सहज बनाई दिए हुन्थ्यो, उनले भने- जसरी बैंक ग्यारेन्टी बसेको चेक वा भौचर नभई हामिले जग्गा पास गर्दैनौँ त्यसैगरि बैंकले पनि उक्त रकम जग्गा पास भएको प्रमाण नदेखाई झिक्न नदिने व्यवस्था गर्नु पर्छ।' 
 
सकेसम्म बैंक ग्यारेन्टी बसेको चेक प्रयोग गर्न उनले कारोबारीलाई सुझाव दिएका छन्।