सुदूरपश्चिममा सबैभन्दा महँगो जग्गा कैलालीमा, सस्तो अछाममा, हेर्नुस जग्गाको मूल्य कहाँ कति?

बिजमाण्डू
२०७४ साउन २४ गते ११:१३ | Aug 8, 2017
सुदूरपश्चिममा सबैभन्दा महँगो जग्गा कैलालीमा, सस्तो अछाममा, हेर्नुस जग्गाको मूल्य कहाँ कति?
काठमाडौं।जग्गाको न्यून मूल्यांकन रोक्न सरकारले विभिन्न क्षेत्रको जग्गाको मूल्यांकन बढाएको छ।

Tata
GBIME
Nepal Life


लम्की बजार। तस्विर- पानोरामियो डट कम।  
जग्गामा हुने राजस्व छली रोक्न सरकारले मूल्यांकन बढाएको हो। चालु आर्थिक वर्षमा मुलुकका विभिन्न स्थानको जग्गाको मूल्यांकन बढिसकेका छन्।सुदुरपश्चिममा समेत जग्गाको मूल्यांकन २५ प्रतिशतसम्म बढाइएको छ।सुदुरपश्चिमको केन्द्रमा रहेको कैलालीको मूल्यांकन सबैभन्दा बढी २५ प्रतिशत बढाइएको छ।सुदुरपश्चिममा सबैभन्दा महँगो जग्गा कैलालीकै बनेको छ।कैलालीमा सरकारी मूल्यांकनकै आधारमा कठ्ठाको ९५ लाख रुपैयाँ पुगेको छ।

 
कैलालीः २५ प्रतिशत बृद्धि, ९५ लाख रुपैयाँ कठ्ठा
कैलालीमा जग्गाको कारोबार धेरै भएका र शहरी पूर्वाधारहरु तयार भएको ठाउँमा २५ प्रतिशत सम्मले मूल्याङ्कन बढाएको कैलाली मालपोत कार्यालय धनगढीका प्रमुख मालपोत अधिकृत बिसनसिंह थापाले बिजमाण्डूलाई बताए।
 
प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा २५ प्रतिशतले जग्गाको मूल्याङ्कन बढाईएको छ। थापाले भने- धनगढी बाहेक अत्तरिया र घोडाघोडी नगरपालिकामा पनि २५ प्रतिशतले मूल्याङ्कन बढाईएको छ।धनगढी उपमहानगरपालिकामा जग्गाको सरकारी मूल्य प्रति कठ्ठा ८५ लाख रुपैयाँ पुगेको छ। गतवर्ष सम्म धनगढीको जग्गाको सर्वाधिक मूल्य ७१ लाख रुपैयाँ प्रतिकठ्ठा थियो। धनगढी मूलसडकमा २० प्रतिशत सम्म मूल्य बढेपनि भित्री सडकहरुमा २५ प्रतिशत मूल्यबृद्धि भएको थापाले बताए।
 
महेन्द्र राजमार्ग र महाकाली राजमार्ग एकअर्कामा काटिएको अत्तरियामा धनगढी भन्दा महँगो मूल्यांकन गरिएको छ। अत्तरियामा प्रतिकठ्ठा ९५ लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ। घोडाघोडी नगरपालिकामा प्रति कठ्ठा ५० लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ। यस्तै लम्कीचुहा नगरपालिकामा राजमार्गसँग जोडिएका जग्गा ५५ लाख रुपैयाँ प्रतिकठ्ठा मूल्यांकन गरिएको छ। टीकापुर नगरपालिकाभित्र भने प्रतिकठ्ठा ४० लाख रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ।
 
खेतीयोग्य जमिन पनि कैलालीमा महंगिएको छ। धनगढी नगरपालिका भित्र बाटो नभएका जमिनको मूल्य प्रतिकठ्ठा तीन लाख रुपैयाँ सम्म कायम गरिएको छ। अन्यत्र पनि धेरै जसो ठाउँमा एक लाख देखि डेढ लाख रुपैयाँ सम्म बाटो नभएका जमिनको मूल्यांकन गरिएको छ।
 
पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएका जग्गाहरुको न्युनतम १५ लाख रुपैयाँदेखि ९५ लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ।  हुलाकी राजमार्गमा पनि प्रतिकठ्ठा १० लाख रुपैयाँ देखि २२ लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ।
 
कञ्चनपुरः १५ प्रतिशत वृद्धि, ८२ लाख रुपैयाँ कठ्ठा
कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा यो वर्ष १५ प्रतिशत भन्दा बढीले मूल्यांकन बढाईएको छ।

गतवर्ष ७१ लाख रुपैयाँ प्रतिकठ्ठा रहेको महेन्द्रनगर बजारक्षेत्रमा यो बर्ष ८२ लाख रुपैयाँ प्रतिकठ्ठा सम्म मूल्यांकन गरिएको छ। अन्य ठाउँमा भने सामान्य मूल्य बढाइएको छ।
 

डोटीः १० प्रतिशत बृद्धि, ८८ लाख रुपैयाँ रोपनी
डोटीको दिपायल र  सिलगढी नगरपालिकामा पर्ने बजार क्षेत्रसँग जोडिएको मूलसडकको दायाँबायाँ प्रति रोपनी ८८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
 
सिलगढीमा बजार क्षेत्रभित्र पर्ने गोरेटोबाटो भएको ठाउँमा पनि प्रति रोपनी ६ लाख रुपैयाँदेखि १० लाख रुपैयाँ मूल्यांकन गरिएको छ। खेतमा भने साढे तीन लाख रुपैयाँ प्रति रोपनी मूल्यांकन गरिएको छ।

अन्य गाउँ/नगरपालिकामा भने बाटो र जग्गाको प्रकृति हेरेर प्रति रोपनी ५० हजार रुपैयाँदेखि चार लाख रुपैयाँसम्म मूल्यांकन गरिएको डोटी मालपोतका प्रमुख मालपोत अधिकृत सुनिल कुमार जोशीले बताए।
 

डडेल्धुराः १० प्रतिशत बृद्धि ८० लाख रुपैयाँ रोपनी
डडेल्धुरामा रोपनीको ८० लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकामा मूल सडकले छोएको जग्गाको मूल्यांकनप्रति रोपनी ८० लाख रुपैयाँ सम्म गरिएको डडेल्धुरा मालपोत कार्यलयका प्रमुख प्रेम माझीले बताए।अमरगढी नगरपालिकामा अधिकांश जग्गाको मूल्यांकन रोपनीको १० लाख रुपैयाँ भन्दा बढी गरिएको छ। मूलसडकबाट दुईसय मिटरभित्रको जग्गा रोपनीको २२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
 

अन्य ठाउँमा भने बाटो नभएको जग्गा रोपनीको ४० हजार रुपैयाँदेखि डेढलाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ।
 
दार्चुलाः नगरमा २० र गाउँमा १० प्रतिशत बृद्धि, ५६ लाख रुपैयाँ रोपनी
दार्चुला सदरमुकाम महाकाली नगरपालिकामा बाटोसँग जोडिएका जग्गाहरु प्रति रोपनी चार लाख रुपैयाँ देखि ५६ लाख रुपैयाँ सम्म मूल्यांकन गरिएको छ।
 
शैल्यशिखर नगरपालिकामा सडकसँग जोडिएका जग्गा रोपनीको छ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको मालपोत कार्यालय दार्चुलाका प्रमुख मालपोत अधिकृत अमरसिंह कुँवरले बताए।
 
अन्य गाउँपालिकामा भने सडकसँग जोडिएका जग्गाहरु डेढ लाख रुपैयाँदेखि सात लाख ५६ हजार रुपैयाँ सम्म मूल्यांकन गरिएको छ।खेतीयोग्य जमिनहरु भने रोपनीको २६ हजार रुपैयाँदेखि एक लाख २६ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ।
 
बझाङः २० प्रतिशत बृद्धि, ५० लाख रुपैयाँ रोपनी
बझाङ सदरमुकाम जयपृथ्वी नगरपालिकामा २० प्रतिशत सम्म मूल्यांकन बढाईएको छ। गाउँपालिकामा भने १० प्रतिशत मात्रै मूल्यांकन बढेको बझाङ मालपोत कार्यालयका प्रमुख छविराज उपाध्यायले बताए।
 
मूल्यांकन बढाएपछि बझाङ सदरमुकाममा रोपनीको ५० लाख रुपैयाँ सम्म पुगेको छ। अन्य गाउँ तथा नगरपालिकामा भने सदरमुकामको तुलनामा धेरै कम ५० हजार देखि डेढ लाख रुपैयाँ प्रतिरोपनी मूल्यांकन गरिएको उपाध्यायले बताए।
 
बाजुराः १० प्रतिशत बृद्धि, २३ लाख रुपैयाँ रोपनी
बाजुरा सदरमुकाम मार्तडी बजारमा मूलसडकको दायाँबायाँ प्रतिरोपनी २३ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

बुढीनन्दा नगरपालिकामा १० लाख रुपैयाँ प्रति रोपनी मूल्यांकन गरिएको छ। अन्य गाउँपालिकाका केन्द्रहरुमा भने प्रतिरोपनी ५० हजार देखि देखि डेढ/दुई लाख रुपैयाँ सम्म मात्र कायम गरिएको बाजुरा मालपोत कार्यालयका प्रमुख हिरालाल गिरीले बताए।
 

बैतडीः २० लाख रुपैयाँ रोपनी
बैतडी सदरमुकाम दशरथचन्द नगरपालिकामा रोपनीको २० लाख रुपैयाँ मूल्यांकन गरिएको छ।

पाटन नगरपालिकामा पनि २० लाख रुपैयाँनै मूल्यांकन कायम गरिएको बैतडी मालपोत कार्यालयका प्रमुख गोविन्द लेखकले बताए। अन्य गाउँपालिकामा भने ५० देखि ६० हजार रुपैयाँदेखि राम्रो खेतीयोग्य जमिन डेढलाख रुपैयाँ प्रतिरोपनी सम्म मूल्यांकन कायम गरिएको लेखकले बताए।
 

अछामः १० प्रतिशत बृद्धि, १७ लाख रुपैयाँ रोपनी 
अछाम सदरमुकाम मंगलसेनमा व्यावसायीक जग्गाको मूल्यांकन १७ लाख १७ हजार रुपैयाँ प्रतिरोपनी कायम गरिएको छ।

बजार क्षेत्रभित्र पर्ने खेतीयोग्य जमिनको पनि १५ लाख ७१ हजार रुपैयाँ मूल्यांकन गरिएको अछाम मालपोत कार्यालयका प्रमुख कृष्ण बोहोराले बताए। खेतीयोग्य जमीन भने रोपनीको ४० हजार देखि एक लाख रुपैयाँ मूल्यांकन कायम गरिएको छ।
 

साँफेबगर नगरपालिकामा प्रति रोपनी व्यावसायीक तर्फ १३ लाख ५३ हजार रुपैयाँ र कृषि तर्फ १२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ। अन्य गाउँपालिकामा प्रकृति हेरेर ३० हजार देखि तीन लाख रुपैयाँ प्रतिरोपनी सम्म कायम गरिएको उनले बताए।