भाटभटेनीसँगै यसरी हुर्कियो एनडिज, ७० हजारको लगानी तीन दशक पछि बार्षिक ४५ करोडको कारोबार

प्रभात भट्टराई/बिजमाण्डू
२०७४ साउन २६ गते १०:३४ | Aug 10, 2017
भाटभटेनीसँगै यसरी हुर्कियो एनडिज, ७० हजारको लगानी तीन दशक पछि बार्षिक ४५ करोडको कारोबार

Tata
GBIME
Nepal Life

३२ वर्षअघि मीनबहादुर गुरुङ महाबौद्धबाट साइकलमा दही बोकेर टंगाल स्थित प्रोभिजनल स्टोर जाँदै थिए।
 

रत्नपार्क पुगेपछि गुरुङले प्लास्टिकको झोलामा ल्याएको दही सबै पोखियो। गुरुङ महाबौद्ध स्थित पसल फर्किए र क्षतिपूर्ति स्वरुप दही दिन पसलेलार्इ आग्रह गरे।
 
तर, पसलेले  क्षतिपूर्ति दिन अस्विकार गरे। दुबैबीच केही क्षण भनाभन पनि भयो। अन्तिममा गुरुङले दही किनेर लिएर गए। 
 
३२ वर्षअघि प्रोभिजनल स्टोर सुरु गरेका गुरुङ र दही बिक्री गर्ने पसलेको व्यावसायिक यात्रामा उस्तै समानता छ। दही बेच्ने पसले थिए डा हेडम्बबहादुर राजभण्डारी। उनी सरकारकी कर्मचारी। गुरुङ नेपाल बैंकमा काम गर्थे। दुग्ध विकास संस्थानको दुई कार्यकाल महाप्रवन्धक रहि सकेपछि राजभण्डारीको कृषि मन्त्रालय सरुवा भयो। संस्थानमा दुग्धजन्य कारोबारमा रस बसेको कारण उनले आफैं डेरी खोलेका थिए। गुरुङले पनि बैंकको जागिरले मात्र नपुगेर सानो स्टोर चलाउने सपना सहित सहित प्रोभिजनल स्टोर स्थापना गरेका गरेका थिए। 
 
दुबैले सानो लगानीमा व्यवसाय सुरु गरे र आज देशकै लोकप्रिय ब्राण्डको रुपमा स्थापित गर्न सफल भए। विवाहमा दिएको श्रीमतीको गहना बिक्री गरेर सुरु प्रोभिजनल अहिले भाटभटेनी सुपरस्टोरको नाममा बिभिन्न स्थानमा १३ वटा स्टोर सञ्चालित छ। राजभण्डारीले पनि दुग्ध विकास संस्थानको महाप्रवन्धक हुँदा कमाएको पैसाले नपुगेर साथीहरुबाट सरसापटी समेत लिइ थालेको डेरी अहिले एनडिजको नाममा जनजिब्रोको लोकप्रिय ब्रान्ड बनिसकेको छ। एनडिजका आइसक्रिमदेखि दुध, दही, मिठाइ, चिज लगायत दुग्धजन्य पदार्थ देशभर उपलब्ध छन्। कम्पनीको वार्षिक ४५ करोड रुपैयाँ नाघिसकेको छ।
*** 
‍३२ वर्षअघि राजभण्डारी दुग्ध विकास संस्थानको महाप्रवन्धकबाट बढुवा भएपछि कृषि मन्त्रालय अन्तर्गत पशु सेवा विभागको महानिर्देशक बने। दुग्ध उत्पादनप्रतिको गहिरो रुचीको कारण उनको प्राज्ञिक पृष्ठभूमी पनि थियो। उनले डेरीमै विद्यावारिधी गरेका थिए। आफ्नो प्राविधिक सिप र रुचीलाई उनले छोड्न चाहेनन्। तर, सरकारी जागिरे भएर कसरी आफ्नो काम भ्याउने? केही समय विलखबन्दमा परे।

विभागमा रहेका साथीहरुसँग सल्लाह गरे। केशवराज केसरी, सीपबहादुर नेपाली र डा. हिमबहादुर प्रधानसँगको छलफलपछि डेरी चलाउने निर्णय भयो। चारै जनाले १०/१० हजार रुपैयाँ निकाले। बाँकी ३० हजार खोजखाज गरेर ७० हजार ठिक पारियो। महाबौद्धस्थित हेडम्बको घरमै डेरी खोल्ने निर्णय भयो। त्यही ७० हजार रुपैयाँबाट दूध तताउने करार्इ र राख्ने भाँडा किनियो। नेपाल डेरी नामाकरण गरेर निजी क्षेत्रको पहिलो डेरीको औपचारिक शुभारम्भ भयो।


 

पहिलो दिन २० लिटर दूध किनियो। दूध मात्रै बेचेर नहुने देखेपछि दही बनाउने निर्णयमा हेडम्ब पुगे। तर दहीकालागि आवश्यक उपकरण थिएनन्। ७० हजार रुपैयाँमा दही जमाउने भाँडो र राख्ने फ्रिज आउने कुरै थिएन। हेडम्बले पूरानो दराजलार्इ मोडिफिकेशन गरेर दही राख्न थाले। त्यतिबेला दुग्ध विकास संस्थानको मात्रै दही पाइन्थ्यो।

केही व्यक्तिले अनौपचारिक तवरमा दही जमाएर बेचेपनि त्यसले माग धानेको थिएन। भक्तपुरको दही काठमाडौं आइ नपुगि उतै सकिन्थ्यो। यस्तोमा हेडम्बले जमाउन थालेको दही हारालुछ भइ सकिन थाल्यो। त्यस अघि असन र महाबौद्धमा दूध र दही बेच्ने कोही थिएन। उनका लागि त्यही बजार नै पर्याप्त भयो। ‘बिजनेस आउटलेट’ सानो भएपनि गुणस्तरमा कुनै सम्झौता थिएन। त्यसैले नेपाल डेरीका उत्पादनलाई उपभोक्ताको जिब्रोमा झुन्डिन कति पनि समय लागेन।


 

बजार बन्यो तर उनको डेरीमा ‘मेकानाइजेशन’ थिएन। परम्परागत शैलीलाई  ‘मेकानाइज्ड’ नगरे  दीर्घकालिन रुपमा अघि बढ्न नसक्ने निर्क्यौलमा पुगे उनी। नेपाल डेरी सुरु भएको पाँच बर्षपछि मेशिनरी प्लान्ट खरिद गर्छु भन्ने सोचले हेरम्ब ऋणकालागि ठमेल स्थित नेपाल बैंक शाखा पुगे। त्यतिबेला ऋण पाउन पनि ठूलै सोर्सफोर्स र कसरत गर्नुपर्थ्यो।

निकै पापड बेलेपछि उनले ५० हजार रुपैयाँ ऋण पाए र त्यसबाट ‘क्रिम सेपरेटर’ किने। बल्ल उनको डेरीले आधुनिकीकरणको यात्रा सुरु गर्यो। त्यस अघि उनी दूध ल्याउँथे । दराजबाट बनाइएको भाँडोमा हालेर जमाउँथे। त्यसबेला एक लिटर दहीको मूल्य साढे चार रुपैयाँ लिने गरेका थिए। गाउँघरमा जस्तै ठेकीमा दही मथेर घिउ निकाल्थे। यो दृश्य हेर्न उनको पसलमा विदेशी पर्यटक समेत पुग्थे।


 

क्रिम सेपरेटर आएपछि दही मथेर घिउ निकाल्नुपर्ने बाध्यता अन्त्य भयो। सँगसँगै व्यापार विस्तारले पनि तिब्रता पायो। चाडवाडमा उनीकहाँ दही र दूध लिन आउनेको लाइन लाग्न थाल्यो। छिमेकीले आएर दूध र दही बिक्रीमा सहयोग गर्नुपर्ने अवस्था आयो। उनको व्यापार बढेको देखेपछि अरु कर्मचारीले उजुरी दिए। सरकारी जागिर हुँदाहुँदै व्यवसाय सुरु गरेको बारे स्पष्टीकरण पनि सोधियो। सूर्यबहादुर थापा प्रधानमन्त्री थिए। अन्त्यमा सरकारी काममा कुनै बाधा नगरी व्यवसाय संचालन गर्नु भनेर सफार्इ पाए। 
 
***
सन् १९९६ मा हेडम्बका छोराछोरी उच्च शिक्षा हासिल गरेर स्वदेश फर्किए। दुर्इ छोरा र एक छोरीलार्इ पढाउन हेडम्बले वानेश्वरमा रहेको दुर्इ रोपनी जग्गानै बिक्री गरेका थिए। जेठा छोरा कम्प्युटर साइन्स, कान्छा डेरी साइन्स र छोरी फूड टेक्नोलोजीमा ग्र्याजुयट गरेर स्वदेश फर्किए। उनीहरु आएपछि सुरु भयो- नेपाल डेरीको 'यू-टर्न'।

विदेशबाट सिप र शिक्षा दुबै लिएर आएका छोरा छोरीले परम्परागत शैलीमा हुँदै आएको व्यवसाय परिवर्तन गर्ने निधो गरे। र, विदेश तिर जस्तै दूधको भ्यालु एडिसनबारे सोच्न थाले। उनीहरुले परम्परागत रुपमा हुँदै आएको दही, दूध र चिजको व्यापारसँगै अरु उत्पादन थाल्ने योजना बनाए। युवा पुस्ता लक्षित गरेर आइसक्रिम बजारमा ल्याए।
 

‘हामीले परम्परागत रुपमा चलाउँदै आएको डेरी उद्योग परिवर्तन गर्ने निर्णय गर्यौं, हेडम्बका छोरा अरनिको राजभण्डारीले बिजमाण्डूसँग भने- योङ जेनेरेशन आकर्षित गर्न आइसक्रिम उत्पादन गर्न थाल्यौं।’ नेपाल डेरीको आइसक्रिमले सुरुमा सजिलै बजार लिन सकेन। त्यो बेलामा बजारमा निरुलाज, क्वालिटी एवं भारतबाट आयात हुने आइसक्रिमको दबदबा थियो। 
 
उनीहरुले बजार विस्तारकालागि ब्रान्डिङमा नयाँ सोच ल्याए। ‘युवापुस्ता सर्टकर्ट नाम रुचाउँछन्। विदेशमा पनि ब्राण्डनेम छोटै हुन्छ, अरनिकोले भने- नेपाल डेरी नाम सुन्दा केही परम्परागत नै थियो त्यसैले हामीले ‘एनडिज’ नाम दियौँ।’ एनडिजप्रति युवापुस्ता छिटै आकर्षित भए। ‘छोटो नामकै कारण धेरैलार्इ विदेशी ब्राण्डजस्तो पनि लाग्यो, उनले सुनाए- कम्पनीले त्यही बेलामा लोगो पनि परिवर्तन गर्यो। बहुराष्ट्रिय विज्ञापन कम्पनी थम्पसनले डिजाइन गरेको लोगो छोटो समयमै धेरै युवाको मनमा बस्यो।’


 

कलेज पढ्ने विद्यार्थी एनडिज भनेपछि हुरुक्कै हुन थाले। ‘हामीले सोचे अनुसार ब्राण्ड स्थापित भयो, अरनिको भन्छन्- त्यही बेलामा हामीले विदेशमा देखेको एउटा किन्दा अर्को सित्तैमा अफर ल्यायौँ। यो अफरले आइसक्रिमनै दिन नसक्ने अवस्था आयो। हेडम्बले सुरु गरेको २० लिटरको दूधको यात्रा सेकेन्ड जेनेरेसनको रिब्राण्डिङ र भ्यालु एडिसन सोचले कायापलट नै भयो।
***
बजार विस्तार भएपनि पैसाको अभावले भने उनीहरुलार्इ सधै गाँजिरह्यो। किसानलार्इ प्रत्येक १५ दिनमा दूधको पैसा भूक्तानी गर्नुपर्ने तर होटल र रेष्टुरेन्टले भने दुर्इ महिनासम्म उधारो चलाउने। किसानको विश्वसनियता कायम राख्न पैसा अभाव हुँदा हेडम्बको संचय कोष समेत झिकेर दिए।
 
‘समयमा पैसा भूक्तानी गर्न नसके किसानसँग हाम्रो विश्वसनियता गुम्न सक्थ्यो, अरनिकोले भने- त्यो बेला बैंकबाट ऋण पाउनसक्ने अवस्था पनि थिएन। त्यही कारण हामीले हाम्रो आउटलेटहरुलाई थप सशक्त बनाउनेतिर लाग्यौं।’ त्यहाँबाट नगद कारोबार मात्र हुन्थ्यो र किसानलाई भुक्तानी गर्न सकिन्थ्यो। सोही कारण एनडिजको आउटलेट अझ चुस्त बन्यो।
 
फायर एण्ड आइस रेष्टुरेन्टमा मोजेला चिज आपूर्ति हुन्थ्यो। निरुलाजको आइसक्रिमकालागि पनि एनडिजले दही बिक्री गर्थ्यौ। व्यापार हुने तर पैसा नआउने भएपछि उनीहरु हत्तु भइसकेका थिए। त्यसकारण पनि महाबौद्धको आउटलेटमा भ्यालु एडिसनसहितको राम्रो रेष्टुरेन्टमा विस्तार गरे।
 
नेपालमा सबैभन्दा पहिला केसी रेष्टुरेन्टले पिज्जा बिक्री गर्थ्यौ। त्यसबेला पिज्जा विदेशीलार्इ ‘टार्गेट’ गरिएको थियो तर एनडिजले महाबौद्धमा नेपालीलार्इ टार्गेट गरेर पिज्जा बेच्ने योजना बनायो। ‘हामीले सुरुमा २५ रुपैयाँमा पिज्जा दियौं। चिज र ब्रेडको लागत मात्र उठाउने गरि मूल्य, उनले भने- हामीलार्इ नगदको मात्रै समस्या थियो त्यो आउँदा हुन्छ भन्ने लाग्यो।’ महाबौद्धमा पिज्जाको हारालुछनै भयो।


 

केही समयमा निरुलाज बन्द हुन पुग्यो। मजदुर समस्याका कारण उक्त उद्योग चलेन। निरुलाज किन्न अफर पनि आएको थियो। झमेलामा नफस्ने भनेर राजभण्डारी परिवारले मानेनन्। केही समय पछि क्वालिटी आइसक्रिम पनि बन्द भयो। यसले बजारमा एनडिजलाई झन् एकछत्र बनायो।
***
बिदेशबाट बिजनेसको नयाँ स्वरुपबारे जानकारी हासिल गरेपनि अरनिकोले ब्राण्ड स्थापना बुझ्न बाँकी नै थियो। जुन, नेपाल आएपछि व्यवहारबाटै सिके उनले। ‘ब्राण्डिङ विज्ञापनबाट मात्र नहुने रहेछ,  उनले सुनाए- उपभोक्ता सन्तुष्ट नभएसम्म कहिलेपनि ब्राण्ड स्थापित हुन सक्दैन। हामीले उपभोक्तालार्इ गुणस्तर र मूल्यमा ठगी गर्यौ भने जस्तो सुकै ब्राण्डिङ पनि कुनैपनि समय समाप्त हुन्छ।’ 
 
सन् १९९७ मा लोगो भन्ने थाहानै थिएन। गार्इ र नेपालको तस्विर राखेर एउटा छाप बनाइएको थियो। चाहिँदा त्यही ढ्याप्पै लगाइदिने गरिएको थियो। पछि मात्र ‘आइक्याची’ लोगो चाहिने रहेछ भन्ने थाहा भयो। ‘लोगो र पसलको कलर पनि समान चाहिने रहेछ भन्ने पनि त्यही बेला थाहा भयो, उनले भने। केही समय पछि प्याकेजिङ थप ‘आकर्षक’ बनाउन कर्मचारीले सुझाव दिए। १० लाख रुपैयाँ खर्चेर चीनबाट ‘प्याकेजिङ म्याटेरियल’ मगाइयो। नयाँ प्याकेजिङमा ब्यापार बढ्नु भन्दा घट्ने अवस्था पो आयो।  
 
‘१० लाख रुपैयाँको प्याकेजिङ म्याटेरियल चल्दै चलेन। उत्पादनको भाउ घटाउँदा पनि बिकेन, अरनिकोले भने-  त्यसपछि हामीलार्इ लाग्यो टार्गेट ग्रुप सेट हुँदो रहेछ। एउटा टार्गेट ग्रुपले एसेप्ट गरेको ब्राण्डलार्इ हतपत चलाउन हुँदैन भन्ने पनि ज्ञात भयो।’ 
 
एनडिज किन्न बहुराष्ट्रिय कम्पनीनै आयो। युनिलिभरले १० वर्षपछिको नाफा दिएर किन्ने प्रस्ताव ल्यायो। उनीहरुले दिएनन्। 
***
एनडिजको व्यापार गत वर्ष २० प्रतिशतले बढेको छ। व्यापारसँगै गुणस्तरप्रतिको लगाव सुरु देखिनै कायम छ। कुनै बहुराष्ट्रिय कम्पनी नै दूग्ध क्षेत्रमा आएमा प्रतिश्पर्धा गर्ने गरि मेसिन ल्याउने तयारीमा आफुहरु रहेको अरनिको सुनाउँछन्।

महाबौद्धमा २०४० सालमा नेपाल डेरी स्थापनाका लागि जगपुजा गर्दै हेरम्ब र दूध किसान जीवनाथ।
 
‘हाइजनिङ कन्डिसन कसरी माथि लैजाने भन्नेमा केन्द्रित छौं, उनले सुनाए- हामीले आठ घण्टा काम गर्दा सबैभन्दा बढी त्यसैमा ध्यान दिएका छौं।’ त्यो बाहेक कम्पनी आफैँले सबै क्षेत्रमा ध्यान दिने मान्यता हटाएर भ्यालु एडिसनमा जोड दिन पनि थालेको छ। पहिला काठमाडौंमै दूध ल्याएर प्रोसेसिङ हुन्थ्यो। अब विस्तारै उनीहरु आउटसोर्समा केन्द्रित हुन थालेका छन्।
 
‘पहिला सबै प्रोसेसिङ यही गर्थ्यौं। अब भने त्यो काम अरुलार्इ दिन खोजेका छौं, अरनिकोले सुनाए- दुर्इ वर्षयता इलाममा दुर्इवटा चिज उद्योग खुलायौँ।’ ती उद्योगमा एनडिजले मेसिन उपलब्ध गराएको छ। निजी क्षेत्र र किसान सहकारी मिलेर उत्पादनमा सहभागी छन्। र, त्यहाँबाट उत्पादिन चिज एनडिज आफैंले खरिद गरिदिन्छ। एनडिजले गुणस्तर जाँच र लेभलिङ गरेर चिज बिक्री गर्छ। 


 

इलाममै उद्योग स्थापना गर्दा दुईवटा फाइदा भयो। एक इलामबाट यहाँसम्म बोकेर ल्याउनुपर्ने झण्झटको अन्त्य र अर्को चिज बनाउन ‘आर्टिफिसियल एयरकण्डिसन’ तयार गर्न परेन। अब पनिर, खुवा लगायत पनि यहि अवधारणामा उत्पादन गर्ने कम्पनीको योजना छ। त्यही अनुरुप डडेलधुरामा खुवा उत्पादनको तयारी भइसकेको छ। 
 
‘काठमाडौंसम्म दूध बोकाएर ल्याउनु पेट्रोलमा पैसा उडाउनु मात्र हो,  उनले सुनाए- १०० लिटर दूधबाट आठ किलो खुवा आउँछ। त्यो काठमाडौं ल्याउन पनि सजिलो छ। दुधको ठाउँमा खुवा बिक्दा किसानले पनि भ्यालुएडिसन गर्न पाए।  यसले गाउँको अर्थतन्त्रलार्इ उकास्छ।’
***
तीन दशक अघि एक/एक वटा पसल हुँदा स्थापना भएको भाटभटेनी र एनडिजको सम्बन्ध आज पनि कायम छ। त्यसबेला प्रोभिजनल स्टोरमा नेपाल डेरीको दही साइकलमा लगेर बेचिन्थ्यो। अहिले एयरकण्डिसन भ्यानले एनडिजको आइसक्रीम, दूध, दही लगायत भाटभटेनी हरेक आउटलेटमा पुर्याउँछन्। अरनिको यी दुबै बिजनेसमा समानता पनि देख्छन्। 
 
‘धेरै उतारचढावमा पनि हामीले भाटभटेनीमा निरन्तर दुग्धजन्य उत्पादन आपूर्ति गरिरहेका छौँ, उनले भने- उहाँहरुले पनि सानोबाटै सुरु गर्नु भएको हो। हाम्रो पनि यात्रा त्यही हो। हामी एकैचोटी ठूलो उद्योगमा गएको भए ग्रासरुट लेभलको समस्या थाहा हुँदैनथ्यो। तलको समस्या नबुझेको भए हामी दुबैले व्यवसायमा स्थायित्व पनि पाउन सक्दैनथ्यौँ होला।’