साइबर ह्याकिङ: हाम्रै कमजोरीको फाइदा उठाइरहेछन् साइबर अपराधी, लोभमा फसाउँदै भैरहेछ अपराध

बिजमाण्डू
२०७४ साउन २६ गते ११:५९ | Aug 10, 2017

पछिल्लो केही वर्षदेखि साइबर अपराध बढिरहेको छ। तपार्इको एकाउण्ट ह्याक हुनु सामान्य भैसकेको छ। कसैको कम्प्यूटरमा हमला हुनु, डिजिटल जानकारीहरु चोरी हुनु अहिले विश्वकै लागि खतरनाक समस्याको रुपमा देखिएको छ।

Tata
GBIME
Nepal Life

अक्सर साइबर अपराधीहरु कुनै पनि देशको महत्वपूर्ण दस्तावेजहरुलार्इ आफ्नो निसाना बनाइरहेका हुन्छन्। एक महिनाअघिमात्र विश्वका धेरै देशहरुमा एकैसाथ रैनसमवेयर भन्ने  साइबर हमला भएको थियो। यस्ता साइबर अपराधीहरु हप्ता असुली जस्तै किसिमको ‘प्रोटेक्सन मनी’ माग्ने गर्छन्। एकैपटक उनीहरुले विश्वका धेरै देशहरुको सूचना तथा साइटहरु क्रयास गरिदिन्छन्।

जब कुनै ठूलो वा सानो साइबर अट्याक हुन्छ यसमा अपराधीहरुले सबैभन्दा सुरक्षित भनिएका नेटवर्कलार्इ निसाना बनाएका हुन्छन्। हाम्रो डिजिटल सुरक्षा कमजोर भएकोमा हामी चिन्तित हुन्छौ। तर विज्ञहरुको भनाइमा साइबर अपराधीहरु पनि आम अपराधीहरुजस्तै अल्छी र सजिलो बाटोबाट पैसा कमाउन चाहने हुन्छन्। उनीहरुको जति बढाइचढाइ गरेर खतरनाक रुपमा प्रस्तुत गरिएपनि साइबर अपराधीहरुलार्इ कुनै जादू वा खतरनाक क्राइम गर्न भने आउँदैन।

उनीहरु केवल हाम्रो कमजोरीको फाइदा उठाइरहेका हुन्छन्। मौका मिल्नासाथ उनीहरु हाम्रो साइबर सम्पतिमाथि हमला गर्छन्। उनीहरु आम अपराधीहरु जस्तै मौकाको खोजीमा हुन्छन्। जब हामी आफ्नो साइबर सुरक्षामा लापरवाही गर्छौ उनीहरु लुसुक्क दुले चोरझैं त्यसमा आक्रमण गर्छन्।

साइबर अपराधीहरु बिरुद्ध काम गरिरहेको यूरोपेली संस्था यूरोपोलका अनुसार विश्वभरमै डिजिटल अपराध बढिरहेको छ। उनीहरु रेनसमवेयरको माध्यमबाट आक्रमण गरिरहेका छन्। ह्याकिङ गरेर महत्वपूर्ण डेटाहरु चोरिरहेका छन्। गैरकानुनी तरिकाबाट वेब अन्डरवर्ल्डमा साइबर सम्पत्ति बेचिरहेका छन्। उनीहरु अक्सर स्मार्ट यूवाहरुलार्इ आफ्नो काममा प्रयोग गर्छन्। उनीहरुले बैंक खाताखेखि कम्प्यूटरसम्मलार्इ निसाना बनाउने गरेका छन्।

बेलायतको सरे यूनिवर्सिटीका साइबर एक्सपर्ट एलन उडवर्डका अनुसार साइबर अपराधीहरुले सुरक्षासंग सम्बन्धित विषयलार्इ चुनौती दिने गर्छन्। उनीहरु खासमा हाम्रो साइबर सुरक्षालार्इ जिस्क्याउँछन्। हेर तिमीहरुको साइबर सुरक्षा कति कमजोर छ भन्ने उनीहरुको आशय हुन्छ।

योसंगै अरु किसिमका अपराधीहरु पनि आजकल डिजिटल अपराधतर्फ छिरेका छन्। एलन उडवर्ड भन्छन् यस्ता अपराधीहरुलार्इ ‘टेक्निकल-नलेज’ भने हुँदैन। त्यसैले उनीहरु अन्य  जानकार युवाहरुलार्इ पैसाको लोभ देखाएर आफ्नो काममा लगाउँछन्।

बेलायतको नेशनल क्राइम एजेन्सीको तथ्यांक अनुसार ह्याकिङ गर्नेहरुको औसत उमेर १७ वर्षको मात्र हुने गरेको छ। उनीहरुले वेबसाइटमा गएर  त्यसलार्इ क्रयास गरिदिन्छन्। डेटाहरु चोरी गर्छन्। उनीहरुले पर्सनल कम्प्यूटरहरुलार्इ पनि आफ्नो निसाना बनाउँछन्।  विश्वनै इन्टरनेट र वर्ल्ड वाइड वेवमार्फत एक अर्कासँग जोडिएको छ र यसको सुरक्षाको लागि अपनाइएका संयन्त्रहरु अत्यन्त कमजोर छन्। यहि कमजोरीको फाइदा साइबर अपराधीहरुले लिइरहेका छन्। साइबर अपराध बढिरहेको छ।

उडवर्डका अनुसार ह्याकरहरुले अपर्याप्त सुरक्षा भएका साइटहरुलार्इ नै निसाना बनाउने गर्छन्। उनीहरुले स्पाम मेलको माध्यमबाट जालमा फसाउने गर्छन्। अक्सर साइबर अपराधीहरु मानिसलार्इ बिभिन्न किसिमका लोभलालच देखाएर फलाना लिंकमा क्लिक गरे खातामा लाखौं रकम आउँछ भन्ने सम्मका लोभहरु देखाउँछन्। यस्तै लोभमा फसेर मानिसले त्यो लिंक खोलेमा साइबर हमलाको शिकार हुने गर्छ। कैयौ पटक केही विशेष चिजको लोभमा फसेर नै मानिसहरु डिजिटल माफियाको शिकार भैरहेका छन्।

उदाहरणका लागि ओसामा बिन लादेनको मृत्युपछि फेसबुक प्रयोगकर्ताहरुका लागि एउटा लिंक पठाइएको थियो। लिंकमा ओसामा बिन लादेनको मृत्युको अन्तिम समयको भिडियो रहेको भन्दै पठाइएको लिंक वास्तवमा एउटा भाइरस थियो जुन प्रयोगकर्ताहरुको डेटा चोरी गर्न प्रयोग गरिएको थियो।