वीरगञ्जमा टाउन हलको फेरियो मुहार, ठूला होटललाई टक्कर दिँदै थाल्यो गुणस्तरीय सेवा

बिजमाण्डू
२०७४ साउन २६ गते १३:०० | Aug 10, 2017

वीरगञ्ज। केही वर्ष अघिसम्म उचित व्यवस्थापनको कमीले जीर्ण र कुरुप बनेको वीरगञ्जको नगर सभागृह अर्थात टाउन हलले अहिले गुणस्तरीय सेवा दिन थालेको छ। एक वर्षदेखि टाउन हलको मुहारै फेरिएको छ। वीरगञ्ज महानगरपालिकाले भाडामा लगाएपछि पुनर्संरचना तथा नयाँ ब्यबस्थापनका कारण टाउन हल आकर्षक होटल सरह देखिन थालेको हो।

Tata
GBIME
Nepal Life

वीरगञ्जको ठूला होटल सरह नै सेवा सुविधा उपलब्ध गराएको टाउन हलका संचालक भोला कलवारले बिजमाण्डूलार्इ बताए।  कलवारले ५ वर्षअघि निजी स्तरबाट संचालन गर्नेगरी २२ वर्षका लागि टाउनहल भाडामा लिएका हुन्।  

सञ्चालन अघि थुप्रै मर्मत तथा पुनर्निर्माण गरेर टाउनहललार्इ नयाँ स्वरुप दिइएको हो। ४० वर्षअघि वीरगञ्जको आदर्शनगरमा प्यागोडा शैलीमा निर्माण गरिएको टाउन हल निकै पुरानो र जिर्ण भएकोले २ वर्ष लगाएर मर्मत गरिएको करवारले जानकारी दिए। उनले मर्मतमा मात्रै ६ करोड रुपैयाँ खर्च गरेको बताए।

निर्माण अवधी भएको पहिलो दुई वर्ष करिब ४ लाख वार्षिक राजस्व उनले महानगरपालिकालाई  तिरेका छन् । गत साउनदेखि भने वार्षिक राजस्वको रुपमा उनले ७ लाख तिर्नुपर्नेछ ।

करिब १० कठा क्षेत्रफलमा रहेको टाउन हलमा राम्रो स्टेज, पार्किङको पर्याप्त सुविधाका साथै धेरै किसिमका परिवर्तनहरु भएकाले अहिले सबैको रोजाईमा परेको छ। ५ सय क्षमताको हलमा सांगीतिक कार्यक्रमहरुका साथै बिभिन्न किसिमका सभा सेमिनारहरु हुने गर्छन्।


 
टाउन हलमा गुणस्तरीय रेस्टुरेन्टका साथै लक्जरी कोठाहरुसमेत निर्माण गरिएको छ। बैवाहिक कार्यक्रम वा पार्टीका लागि हल बुक गरेकाहरुलार्इ आवासको समस्या नहोस् भन्नाकालागि कोठाहरु संचालनमा ल्याइएको कलवारले बताए। यसबाट भारतको विहार तथा अन्य क्षेत्रबाट वीरगञ्जमा विहेवारी गर्न आउनेहरुलाई आवासको सुविधा भएको छ।