पहिरोमा परी मकवानपुरमा एकै परिवारका ६ जनाको मृत्यु, सुर्खेतमा तीन जनाको निधन

रासस
२०७४ साउन २९ गते १०:१४ | Aug 13, 2017
हेटौँडा। मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका ६  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।
 

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए।
 
यस्तै अविरल वर्षासँगै पहिरोले घर बगाउँदा सुर्खेतमा तीनजनाको मृत्यु भएको छ।सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीनजनाको मृत्यु भएको हो।
 
मृत्यु हुनेमा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उहाँका १४ वर्षीय नाति विक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको छ । गएराती १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय, छिन्चुले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज बिहान निकालेको छ ।
 
यता, रत्न राजमार्गको हर्रे–कोहलपुर सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन बन्द भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो गएको हो ।सुर्खेत प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि यात्रुको विचल्ली भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास बिहानैदेखि शुरु भएको छिन्चु प्रहरीले जानकारी दिएको छ । 

Tata
GBIME
Nepal Life