पूँजी बजारको जोखिम घटाउन धितोपत्र बोर्डले ल्यायो ब्यावसायीका लागि सुपरिवेक्षकीय दिग्दर्शन

बिजमाण्डू
२०७४ भदौ ४ गते १५:०७ | Aug 20, 2017
पूँजी बजारको जोखिम घटाउन धितोपत्र बोर्डले ल्यायो ब्यावसायीका लागि सुपरिवेक्षकीय दिग्दर्शन


काठमाडौं। धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा मर्चेन्ट बैंकर) सुपरिवेक्षण दिग्दर्शन- २०७४ लागू गरेको छ।
 
सेयर बजारको चुनौतीहरु बढ्दै गएको भन्दै बोर्डले आगामी दिनमा सुपरिवेक्षण तथा कानुन प्रवलीकरणमा विशेष जोड दिई स्वच्छ, पारदर्शी तथा प्रभावकारी रुपमा पूँजी बजार विकास गर्ने कार्यलाई प्राथमिकतामा राख्दै दिग्दर्शन जारि गरेको जनाएको छ। 
 
दिग्दर्शनमा मुख्य रुपमा गैरस्थल र स्थलगत सुपरिवेक्षणको प्रकृया, सुपरिवेक्षण कर्ताको जिम्मेवारी, काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका साथै सुपरिवेक्षकको आचारसंहिता समावेश गरीएको छ। दिग्दर्शन कार्यान्वयनबाट धितोपत्र व्यवसायीकोहरुको ऐन, नियम पालनाको अवस्थामा सुधार आई संस्थागत सुशासन सुदृढ हुने बोर्डले जनाएको छ। 
 
साथै समष्टिगतमा धितोपत्र व्यवसायीहरुको सेवाप्रवाहमा प्रभावकारिता आई बजारको थप विकास र विस्तार हुने बोर्डले जनाएको छ। दिग्दर्शनमा धितोपत्र व्यवसायीको सुपरिवेक्षण स्थलगत र गैरस्थलगत रुपमा नियमित गर्ने व्यवस्था गरिएको छ।
 
धितोपत्र व्यवसायीको सुपरिवेक्षणका कार्यगत उदेश्यहरु तोकिएको तथा जोखिममा आधारित सुपरिवेक्षणमा जोड दिइएको वोर्डले जनाएको छ। धितोपत्र व्यवसायीको नियमितरुपमा सुपरिवेक्षण गरिने व्यवस्था गरिएको छ।
 
यसवाहेक धितोपत्र व्यवसायीको हिसाव किताव तथा लेखा, नियमनकारी निकायले तोकेका वित्तीय विवरणहरु तथा प्रतिवेदनको अवस्था, धितोपत्र व्यवसायीहरुले धितोपत्र सम्बन्धी प्रचलित कानूनको पालनको अवस्था पनि दिग्दर्शनमा उल्लेख छ।
 
यसैगरी  धितोपत्र व्यवसायीको काम कारवाहीको अवस्था, ग्राहक पहिचान विवरण, जोखिम व्यवस्थापन, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी विवरणको रिर्पोटिङ्गको अवस्थाका बारेमा पनि उल्लेख गरिएको छ।

Tata
GBIME
Nepal Life

कारोवार प्रणाली, भौतिक पूर्वाधार एवं जनशक्तिको अवस्था, आन्तरिक नियन्त्रण प्रणाली जस्ता विषयहरुको सुपरिवेक्षणमा जोड दिइएको बोर्डले जनाएको छ। साथै सुपरिवेक्षकका काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्वका साथै सुपरिवेक्षकको आचारसंहिता सम्बन्धी व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ।