बैंकिङको ‘कम्फर्ट जोन’ बाट सपना खोज्दै हुत्तिएकी अर्चना, अब बैंकलाई नै कन्सल्टेन्सी

स्वेच्छा राउत/बिजमाण्डू
२०७४ भदौ ४ गते १६:१३ | Aug 20, 2017
बैंकिङको ‘कम्फर्ट जोन’ बाट सपना खोज्दै हुत्तिएकी अर्चना, अब बैंकलाई नै कन्सल्टेन्सी

Tata
GBIME
Nepal Life

काठमाडौं । बाबा बैंकर, दिदी र बहिनी बैंकर, पति बैंकर। परिवारमा सबैको पेशा बैंकिङ रहेपछि अर्चना कुँवर आफूले पनि बैंकबाटै करियर सुरु गरिन्। तर, बैंकिङ उनको लक्ष्य भने थिएन। उनी चाहन्थिन् आफैं केही गर्न। सानै  ‘स्केल’मा किन नहोस् आफ्नै ‘आन्ट्रप्रेनियरशिप डेभलप’ गर्न।

 
गर्ने चाहिं के त? यही कुरा निश्चित नहुन्जेलको लागि उनले सानिमा बैंकको जागिरलाई स्विकारिन्। साढे तीन वर्ष काम गरेपछि सपना हासिल गर्ने बाटो पाइन्। अफिसर लेभलमा पुगेकी उनमा थप एक बर्ष काम गर्दा ‘डिसिजन’ लिने ‘लेभल’मै पुग्छु भन्ने आत्मविश्वास थियो। तर, त्यो लोभमा अलमलिइनन्। 

अर्चनाका बुबा पर्शुराम कुँवर बैंकिङ करियरको उच्च तहमा पुगि सकेका छन्। उनी अहिले प्रमुख कार्यकारी अधिकृत रुपमा जनता बैंकको कमान हाँक्दैछन्। पति, दिदी, बहिनी पनि बिभिन्न बैंकमा आफ्नो करियरसँग खुसी छन्।

 
यस्तो बेला उनले भने बैंकको काम छोडिन् र लिइन् व्यवसायिक ‘रिस्क’। रिस्क यो अर्थमा- ‘सेक्योर’ जागिर छोडेर आन्ट्रप्रेनियर बन्न हिँडिन्। 'लाग्यो यो सहि समय हो' उनले भनिन्। बैंकिङसँगै सम्बन्धित व्यवसायमा संलग्न हुने अवसर पाएपछि झन् उत्साहित बनेको उनी सुनाउँछिन्। 
 
भन्छिन्,'बैंकको जागिर त व्यवसायको लागि बेस बनाउन जुरेको रहेछ। बैंक र बैंकको आवश्यकता बारे बुझ्ने अवसर जागिर खाँदा थाहा पाएँ। अब व्यवसायमार्फत त्यो आवश्यकता पुरा गर्छु।'


 
प्लस टू साइन्स पढेकी उनले घरका सबैजना बैंकिङमा लागे पछि आफु पनि बैंकर बन्ने सोचेर ब्याचलर्समा बिजनेस म्यानेजमेन्ट पढिन्। एमबीए पढ्दासम्म उनको सोच अर्को भइ सकेको थियो। एमएबीको आन्ट्रप्रेनियरशिप भन्ने बिषयले उनलाई सबैभन्दा धेरै तान्यो। एमबीए सकेर फेरि बैंकमा जागिर खान गए पनि आन्ट्रप्रेनियर बन्ने रहर उनको उनको मनबाट कहिल्यै ओइलाएन।
 
जागिर खानभन्दा खुवाउननै आफुलाई मज्जा लाग्ने उनी सुनाउँछिन्। उनले हात हालेको क्षेत्र हो- ग्राहक र बैंक लगायत बिभिन्न क्षेत्रका सेवा प्रदायक कम्पनीबीचको ग्याप पुरा गर्ने।
 
अर्चनाले आन्ट्रप्रेनियर बन्न रोजेको कम्पनी हो- 'आस्क मी'। बैंक लगायत बिभिन्न कम्पनीलाई आउट सोर्सिङ सेवा दिँदै आएको आस्क मी सात बर्ष अघि नै खुलि सकेको थियो। अर्जनाकै चिनजानका व्यक्तिहरुले यो कम्पनी चलाउँथे। उनीहरुले कम्पनी बेच्ने मनसाय व्यक्त गरेको थाहा पाउने वित्तिकै खरिदका लागि अर्जना तयार भइ हालिन्। गत महिना मात्र कम्पनी टेक ओभर गरेकी अर्जनाले आफ्नो भिजन अनुसार नयाँ स्किम थप गरेर कम्पनीलाई अघि बढाइ सकेकी छिन्। 


 
‘रिक्रुटमेन्ट प्रोसेस आउटसोर्सिङ’, ‘म्यानपावर आउटसोर्सिङ’, ‘कल सेन्टर एवं क्लाइन्ट केयर म्यानेजमेन्ट’, ‘क्लाइन्ट स्याटिसफ्याक्सन सर्भे’, ‘कोल्याटरल इन्सपेक्शन आउट सोर्सिङ’, ‘मेल म्यानेजमेन्ट सिस्टम’ र ‘डुअर स्टेप बैंकिङ आउटसोर्सिङ’ लगायतका सेवा उनले सुरु गरेकी छिन्। यी सबै सेवाले कुनै कम्पनी र ग्राहकबीचको ग्याप घटाउन सघाउनेछन्। 


 
उनले दिने सेवा अझ बैंकका लागि नै धेरै प्रभावकारी छन्। धितो मूल्यांकन देखि ग्राहक सन्तुष्टि मापनका विविध आयाममा उनको कम्पनीले सेवा प्रवाह गर्नेछ। जसले बैंक र ग्राहकबीचको आत्मियता बढाउने देखि बैंकका कर्मचारीको समय बचत हुनेसम्मका फाइदा रहेको उनले सुनाइन्।
 
साउन एक गतेबाट उनी फूल टाइम आस्क मी लाई दिएर आफ्नो सपना हासिल गर्ने धुनमा लागेकी छिन् अर्जना। पहिलो महिना बिभिन्न बैंकमा पुगेर आफ्नो कम्पनीले दिने सेवाबारे जानकारी गराइन्। प्राय सबैले आफ्नो प्रोजेक्टप्रति सकारात्मक प्रतिकृया दिएको उनी बताउँछिन्। 'बैंकिङमै काम गरेको कारणले पनि होला, स्कीम सुनाउन पुग्दा कुनै पनि बैंकका अधिकारीले भेट्न अस्वीकार गर्नु भएको छैन, आज नभए भोलीलाई समय दिनु भएको छ' उनले खुसी व्यक्त गरिन्। 


 
कुनै कम्पनीको प्रडक्ट बेच्ने देखि नयाँ प्रडक्ट र सर्भिसको जानकारी फोन एवं मेलमार्फत गराउने, कर्मचारी भर्ना लिने लगायतका काममा पनि आउट सोर्सिङ सेवा दिने स्कीम उनले थप गरेकी छिन्। जसले उनलाई अझ व्यस्त बनाइ सकेको छ। 'जिम्मेवारी थपिएको छ। पहिले बिदा कुरिन्थ्यो अहिले सधैं आफ्नो वर्किङ आवर। लाग्छ- मैले नगरे कसले गर्छ?' अहिले हर क्षण नयाँ सर्भिस र प्रडक्टबारे सोचिरहने बताउँछिन् उनी। 
 
किनभने उनी अब आइडियाहरुसँग खेल्न थाले सकेकी छिन्। नयाँ के गर्न सकिन्छ बुझ्न थालेकी छिन्। सानिमा बैंकमा कार्यरत रहँदा पनि उस्तो खाली समय त बिताएकी होइनन्। भन्छिन्,'तलबको लागि समय बिताउनु र लगानीको लागि समय बिताउनुमा फरक हुन्छ नै। जस्तो व्यस्त रहेर पनि परिवार र सन्तानलाई समय दिन भ्याएकी छु।' 

आफुलाई अघि बढ्न परिवारको साथले महत्वपुर्ण भूमिका खेलेको उनी सुनाउँछिन्। परिवारकै साथले बैंकमा चाहे जित समय दिन पाएकी उनलाई व्यवसाय थाल्छु भन्दा पनि कसैले रोकेनन्। परिवारले बुझिदिएकै  कारण विवाह अघि र पछिको स्वतन्त्रतामा कुनै फरक नपरेको उनले सुनाइन्।

 
'आफ्नो कम्फर्ट जोन बाहिर निस्किएकी छु। आफ्नै लागि च्यालेन्ज छ अब। मैले मेरो प्यासनलाई प्रमाणित गर्ने बेला आएको छ।' अर्चना आफ्नो व्यवसायलाई आफैसँगको प्रतिस्पर्धाको संज्ञा दिन्छिन्।