विराटनगर औद्योगिक कोरिडरमा ३ अर्ब क्षति, बाढी बीमा नगर्दा ठूला उद्योगीनै परे मारमा

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ भदौ ५ गते ०७:१० | Aug 21, 2017
विराटनगर औद्योगिक कोरिडरमा ३ अर्ब क्षति, बाढी बीमा नगर्दा ठूला उद्योगीनै परे मारमा
विराटनगर ।सेन्चुरी फुड एन्ड स्पाइसेज उद्योगका सञ्चालक एवम् पूर्व सांसद् मोती दुगड पछुताउँदै भन्छन्, ‘आँधी, हुरी, भूकम्प, आगजनीजस्ता दैवी प्रकोपको वीमा त गरियो तर बाढीको गरिएन ।’बाढीको बीमा नगर्दा उनको दुर्इ वटा उद्योगमा दुर्इ करोडको क्षति भएको छ।

Tata
GBIME
Nepal Life

 बुढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्सको उद्योग परिसर।तस्विर:अनन्त न्यौपाने/बिजमाण्डू
 

बाढीबाट मोरङको बुढीगङ्गा गाउँपालिकास्थित उनको सेन्चुरी परिसरमा रहेको मसला र स्न्याक्स उद्योगमा दुर्इ करोडको क्षति भएको हो।‘सम्पूर्ण क्षतिको विवरण तयार पार्न अझै एक साता लाग्छ’, उद्यमी दुगडले भने, ‘दुर्इवटा उद्योगको क्षतिले २ करोड नाघ्ने अनुमान गरिएको छ ।’उनले उद्योगमा भएको कच्चा सामग्री, तयारी सामान, प्याकेजिङ म्याटेरियल केही बाँकी नरहेको बताए ।

 
‘यो त सरसामग्रीको क्षति भयो’, दुगडले भने, ‘कारखानामा बाढीको पानीसँगसँगै दुर्गन्धित हिलो पनि पस्यो । पानी त बग्यो तर हिलो छाडेर गयो । अहिले मेसिन सफा गराउने काम गरिरहेका छौँ । दुर्गन्धले कारखानाभित्र पसिसक्नु छैन ।’दुगड ठूला उद्योगीमध्ये एक हुन् ।
 
‘तर ठूला उद्योगी ९५ प्रतिशतले बाढीको बीमा गरेका छन्’, नेपाल इन्स्युरेन्सका विराटनगरस्थित प्रमुख मदन खतिवडाले भने ‘यसको ठीक विपरीत साना तथा मझौला उद्योगी ९५ प्रतिशतले गरेका छैनन् । बाढीको विनासबाट अहिले सबैभन्दा बढी थिचिने र मिचिनेमा साना तथा मझौला उद्यमी छन् ।’
 
कटहरी गाउँपालिकामा प्लास्टिकका चप्पल र ग्लास उत्पादन गर्ने विजय तोदीले पनि बाढीको बीमा गरेका थिएनन् । ‘दुबै युनिटको गरेर क्षति १ करोड ५० लाख नाघ्छ होला’, तोदीले भने।विराटनगरमा गुटखा उदयोग रहेका गोविन्द खतिवडाको हालत पनि त्यस्तै छ।उनका अनुसार कच्चा पदार्थ र मेशिन सबै काम नलाग्ने भएको छ।उनले तीन करोड रुपैयाँ बराबरको क्षति भएको बताए।
 
उद्यमी खतिवडाले बाढीको बीमा नहुनुमा बैङ्कको पनि दोष रहेको आरोप लगाए ।‘हामीले त के जात्रु र ?’, गोविन्दले भने, ‘मेरो पनि बाढीको बीमा रहेनछ । बीमा गरिदिएको बैङ्कले नै हो । आफूलाई त्यो थाहै भएन्’
 
महँगो छैन प्रिमियम 
नेपाल इन्सुरेन्सका खतिवडा भन्छन्, ‘यति बेला आएर बैङ्कलाई दोष दिनु भनेको चित्त बुझाउने मेलोमात्र हो । बाढीको पनि बीमा गर्नका लागि उद्यमी आफै सचेत हुनुपर्थ्यो।’
 
उनका अनुसार अनुसार बाढीको बीमाको प्रिमियम १ हजार बराबर ४० रुपैयाँ मात्रै तिरेपुग्छ। । व्यवसायीले यति सस्तो प्रिमियमको लाभ उठाउन सक्थे । बाढीपछि भने उद्यमीहरू धमाधम बाढी बीमा गराउन आइरहेको उनले जानकारी दिए । बाढीको बीमा गराएका भने क्लेमको लागि आउन थालेका छन्।
 
क्षति ३ अर्बभन्दा बढी
मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा ३ अर्बभन्दा बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको बताए। 
 
यस क्षेत्रका ५ सयमध्ये ३ सयजति उद्योग अझै बन्द छन् । मोरङको कटहरी क्षेत्रका त सबै उद्योग ठप्प छन् । कटहरीमा सानाठुला गरी ३० उद्योग सञ्चालित छन् ।‘क्षतिको पूर्ण विवरण आउन अझै एक हप्ता लाग्छ’, अध्यक्ष शारडाले भने, ‘कतिपय उद्योगमा त भर्खर पानी सुक्तैछ, त्यहाँभित्र पस्न सक्ने अवस्था छैन । त्यसैले पूर्ण विवरण प्राप्त गर्न एक हप्ता पर्खनुपर्छ । अहिले त हिलो र फोहर पन्छाउँदै फुर्सद छैन ।’
 
सबै उद्योगहरू पूर्ववत् सुचारु हुन अझै एक हप्ता लाग्ने उनले बताए।विराटनगरका दुबै उद्योगवाणिज्य सङ्घ– मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनमा उद्यमी–व्यवसायीले क्षतिको विवरण पेश गर्न थालेका छन् ।अहिलेसम्म प्राप्त सूचनाअनुसार अन्नपूर्ण निटिङ इन्डस्ट्रीमा १६ करोड ५४ लाखको क्षति भएको छ । जसमध्ये मेसिनतर्फ ५ करोड ५० लाख, कच्चा सामग्री ३ करोड ५० लाख र तयारी कपडा ४ करोड ४९ लाखको क्षति भएको छ ।त्यस्तै विशाल ग्रुपको सञ्चालनमा रहेको मैनावती स्टिलमा ६ करोडको क्षति भएको छ ।

मैनावतीको मिलमेसिनरीतर्फ १ करोड ५५ लाख, कच्चा पदार्थ १ करोड ७५ लाख र उत्पादित वस्तु २ करोड १६ लाखको क्षति भएको छ ।इटहरीस्थित रिजाल टासीमा पनि २२ करोडको क्षति भएको छ ।