पूँजी बृद्धिको तुलनामा नाफा साढे ८ प्रतिशत बिन्दुले कम बढ्यो, २३ बाणिज्य बैंक अर्बपति क्लबमा

बिजमाण्डू
२०७४ भदौ ५ गते १०:१५ | Aug 21, 2017
काठमाडौं। सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुले एक बर्षमा ४५ अर्ब २६ करोड रुपैयाँ नाफा गरेका छन्। अघिल्लो आर्थिक बर्ष बैंकहरुको नाफा ३५ अर्ब ७४ करोड रुपैयाँ थियो। एक बर्षमा नाफा २६.६१ प्रतशितले बढेको हो।
 
बैंकहरुले पूँजी बढाएको अनुपातमा भने नाफा बढाउन सकेका छैनन्। बैंकहरुले चुक्ता पूँजी मात्र ३५.१४ प्रतिशतले बढाएका छन् तर नाफा भने पूँजी बृद्धिको तुलनामा ८.५२ प्रतिशत बिन्दुले कम छ।
 
बैंकहरुले एक खर्ब ३५ अर्ब रुपैयाँको पूँजीलाई एक बर्षमा एक खर्ब ८२ अर्ब रुपैयाँ पुर्याएका हुन्। 


बैंकको नाफा
 
नाफा रकमका आधारमा सबैभन्दा वढि नबिल बैंकले आर्जन गरेको छ। नबिलले ३ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको हो। बैंकले करिव २९ प्रतिशतले नाफा बढाएको हो। तीन अर्ब माथि कमाउनेमा अरु तीन बैंक पनि छन्।
 
नेपाल बैंकले तीन अर्ब २१ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले तीन अर्ब १६ करोड र राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ। यसपछि कृषि विकास बैंकको नाफा दुई अर्ब ७७ करोड रुपैयाँ छ। दुई अर्ब माथि कमाउनेमा हिमालयन बैंक र ग्लोबल आइएमइ बैंक छन्। हिमालयनको दुई अर्ब १७ करोड र ग्लोबल आइएमइको दुई अर्ब तीन करोड रुपैयाँ नाफा छ।
 
अघिल्लो आर्थिक बर्षसँग तुलना गर्दा सबैभन्दा बढि नाफा बृद्धि गर्नेमा जनता बैंक छ। जनताको नाफा ३८० प्रतिशतले बढेको छ। 
 
यसपछि लुम्बिनी बैंकलाई गाभेको बैंक अफ काठमाण्डूको नाफा ८९ प्रतिशतले बढेको छ भने एनसिसी बैंकको ८७ प्रतिशतले बढेको छ।  प्रभु बैंकको नाफा पनि साढे ५२ प्रतिशतले बढेको छ।
 
सबैभन्दा कम नाफा सिभिल बैंकले गरेको छ। बैंकको नाफा दुई प्रतिशतले मात्र बढेर ३३ करोड ८१ लाख रुपैयाँ पुगेको छ। ८ प्रतिशतले नाफा बढाउँदै सेञ्चुरी बैंकले ४४ करोड ७४ लाख रुपैयाँ कमाएको छ। कुमारी बैंकको नाफा दुई प्रतिशतले घटेको छ। बैंकले ७० करोड रुपैयाँ नाफा गरेको छ। अर्ब तल नाफा गर्नेमा मेगा बैक पनि हो। बैंकको नाफा साढे ४३ प्रतिशत बढे पनि कुल ७९ करोड १४ लाख रुपैयाँ मात्र आर्जन गरेको छ।


बैंकको पूँजी
 
विदेशी संयुक्त लगानीको एभरेष्ट बैंकले एक अर्ब ९८ करोड, स्ट्यान्डर्ड चार्टर्डले एक अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको छ। नेपाल एसबिआइ बैंकले एक अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ।
 
एक अर्बभन्दा माथि र दुई अर्बभन्दा तल  नाफा गर्नेमा १६ बैंक छन्। प्रभुले एक अर्ब ७५ करोड, एनएमबीले एक अर्ब ५१ करोड, प्राइमले एक अर्ब ४८ करोड, एनआइसी एसियाले एक अर्ब ४६ करोड, सिद्धार्थले एक अर्ब ४१ करोड, एनसिसीले एक अर्ब ३२ करोड, माछापुच्छ्रेले एक अर्ब ३० करोड, सानिमाले एक अर्ब ३० करोड, बिओकेले एक अर्ब २३ करोड, सिटिजन्सले एक अर्ब २१ करोड, एनबी बैंकले एक अर्ब २० करोड, सनराइज एक अर्ब१६ करोड र लक्ष्मी एक अर्ब रुपैयाँ कमाएका छन्।

Tata
GBIME
Nepal Life