प्रधानमन्त्रीको भारत भ्रमण : कोशी बाँधको ५० करोड माग्ने, रेल सञ्चालन बारे छलफल हुने

बिजमाण्डू
२०७४ भदौ ५ गते १३:०२ | Aug 21, 2017
काठमाडौँ। मन्त्रिपरिषद्को आज बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारतको राजकीय भ्रमणबारे छलफल भएको छ। 
 

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बैठकपछि सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार बैठकमा भारतसँग छलफलको लागि विषयवस्तु बारे सल्लाह भएको थियो। मन्त्री बस्नेतका अनुसार कोशी बाँध बनाउँदा स्थानीयलाई भारतले दिने भनेको ५० करोड रुपैयाँ अहिलेसम्म नदिएको कारण त्यो कुरा उठाउने तयारी छ। 
 
त्यसैगरी भूकम्पपछि पुननिर्माण प्राधिकरणलाई सहयोग गर्ने भनेर भारतले वाचा गरेको रकम हालसम्म आइनसकेको हुनाले त्यसबारे पनि नेपालले कुरा उठाउने भएको छ। पुराना सन्धि सम्झौता पुनरावलोकन, सन् १९५० को सन्धिबारे छलफल, लक्ष्मणपुर र कोशी बाँधबाट भएका क्षति र नोक्सानी बारे छलफल गर्ने तयारी नेपालले गरेको उनले बताए। 
 
सुपुर्दगी सन्धिका बारेमा पनि छलफल हुनेछ, उनले भने। लामो समयदेखि यो सन्धिको चर्चा भइरहेको छ।नेपाल-भारत रेल सञ्चालन बारे पनि छलफल हुने सरकारका प्रवक्ता बस्नेतले बताए। 
 
परराष्ट्र मन्त्रालयले सोमबार भ्रमण कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ। मन्त्रालयका अनुसार यही बुधबारदेखि प्रधानमन्त्रीको औपचारिक भ्रमण सुरु हुनेछ।भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा ५ दिनका लागि भारत भ्रमणमा जान लागेका हुन्। भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री देउवाले यसअघि पूर्वप्रधानमन्त्रीसँग पनि परामर्श गरेका थिए।
 
भ्रमणका क्रममा प्रधानमन्त्री देउवा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछन्।प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, सरकारका अन्य मन्त्रीहरु, सांसद्हरु, सरकारका सचिव र अन्य उच्च पदस्थ सरकारी अधिकारी रहनेछन्।

Tata
GBIME
Nepal Life