भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त, जोगबनीबाट आयात/निर्यात ठप्प, वैकल्पिक नाका खोल्न पहल

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ भदौ ५ गते २०:१३ | Aug 21, 2017
भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त, जोगबनीबाट आयात/निर्यात ठप्प, वैकल्पिक नाका खोल्न पहल
विराटनगर ।सीमावर्ती भारतीय बजार जोगबनीदेखि पाँच किलोमिटर दक्षिणमा रहेको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा आइतबार साँझदेखि विराटनगर नाकाबाट हुने आयात/निर्यात ठप्प भएको छ।वीरगञ्ज र भैरहवापछि बढी सामान भित्रिने नाकामा विराटनगर पर्छ।

Tata
GBIME
Nepal Life


पुल एक तिहाई भागबाट १० इन्च भास्सिएपछि त्यहाँबाट आवत/जावत हुने सबै प्रकारका ठूला सवारी साधनमा रोक लगाइएको छ।जोगबनी प्रहरी कार्यालयका असर्इ शक्ति सिंहका अनुसार पुलमा शनिबार दिउँसो नै सामान्य क्षति भएको देखिएको थियो । तर पनि मालवाहक र यात्रुवाहक ठूला सवारी साधन चलिरहेका थिए । 
 
प्रशासनले १० मेट्रिक टनसम्म मालसामान लोड गरिएका सवारी साधनलाई चल्न दिएको थियो ।तर आइतबार दिउँसो पुलको एक हिस्सा भास्सिएपछि स्थानीय वासिन्दाले जुलुसै निकालेर सबै प्रकारका ठूला सवारी साधनमा रोक लगाउन माग गरे । सोही अनुसार स्थानीय प्रशासनले सबै प्रकारका ठूला सवारी र मालवाहक साधनमा रोक लगाएको सिंहले बताए । 
 
‘यात्रु वा मालसामान लोड गरिएका सवारी साधनमात्र होइन’, उनले भने, ‘खाली सवारी साधनलाई पनि रोक लगाइएको छ । यो पुलबाट तत्काल जिप, कार, भ्यान, रिक्सा र ठेलालाई मात्र चलाउन दिने अनुमति छ ।’पुलका फलामे खाँबा र तलको जग नै भास्सिएको प्राविधिकले बताए।भारतीय प्रहरीले पुलमा २४ सै घण्टा सुरक्षा दिएर इजाजतप्राप्त साना र हलुका सवारीलाई मात्र आवागमन गर्न दिएको उनले जानकारी दिए ।
 
पुलको मर्मतका लागि इन्जिनियरले अध्ययन पूरा गरिसकेको र मर्मत सामग्री अर्डर पनि भइसकेको सिंहले जानकारी दिए।उनले भने, ‘पुल मर्मत गर्न १५ दिन लाग्ने अनुमान गरिएको छ ।’
 
आयु सकिएको पुल  
स्थानीय युवा शम्भुकुमार शाहका अनुसार फलामबाट निर्मित यो पुल अङ्ग्रेजकै पालामा तयार गरिएको उनका हजुरबाले उनलाई सुनाएका थिए ।


शम्भुका हजुरबाले यसको आयु ७५ वर्ष तोकिएको र त्यो पुगिसकेको बताएका थिए।भारत सरकारले आइसिपी (एकीकृत जाँच विन्दु) बनाउन थालेपछि यो पुरानो पुलबाट ३ सय मिटर उत्तरमा अर्को पक्की पुलको निर्माण गरिरहेको छ ।तर नेपालले समयमा जमिन उपलब्ध गराउन नसकेका कारणले आइसिपीको निर्माणमा विलम्ब भएपछि मिरगञ्जको पुलको निर्माण कार्य पनि सुस्त भयो ।यो पुरानो फलामे पुलका सट्टामा तत्काल अर्को पुल छैन । 
 
यताका गाडी यतै उताका उतै 
मिरगञ्जको पुल क्षतिग्रस्त भएपछि नेपालतर्फ आयात हुन लागेका मालसामानका ट्रक र लरीहरू उतै रोकिएका छन् । 


विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले ट्रक, लरी र पेट्रोलियम पदार्थका ट्याङ्कलरीसमेत गरी पाँच सयभन्दा बढी गाडीहरू उतै रोकिएको जानकारी दिए ।नेपालतर्फ मालसामान अनलोड गरेर भारततर्फ फर्किएका गाडीहरू पनि पाँच सयकै हाराहारीमा छन् ।
 
के छ तात्कालिक उपाय ?
मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले विराटनगर नाकातर्फ आउन लागेका मालवाहक सवारी साधनलाई तत्काल सुनसरीको भीमनगर/भन्टाबारी भन्सार नाकाबाट ल्याउन सकिने बताए।

भारतको जोगबनी भन्सारका डेपुटी कमिस्नर पवनकुमारसित जोशीले भारततर्फको भीमनगरसित जोडिएको नेपालको भन्टाबारी भन्सारबाट मालसामान आयातको व्यवस्था मिलाउन आग्रह गरे।सोमबार संघको प्रतिनिधि मण्डलले मीरगञ्जको क्षतिग्रस्त पुलको अवलोकन गरेपछि डेपुटी कमिस्नर पवनकुमारलाई भेटेको थियो ।
 
‘यसका लागि धेरै ठुलो प्रक्रिया अपनाउनु पर्दैन’, जोशीले भने, ‘दुबै तर्फका भन्सार प्रमुखले लिखित स्वीकृति दिए पुग्छ ।’यसअघि पनि त्यो नाका संचालनमा आएको बताउँदै उनले दुबै भन्सार प्रमुखको स्वीकृति भए तत्कालै नाका संचालनमा ल्याउन सकिने बताए।जोशीका अनुसार भन्टाबारी भन्सार विराटनगर भन्सारअन्तर्गत नै सञ्चालित छ । 
 
त्यस्तै विहारको राजधानी पटनास्थित भन्सारका प्रमुखको अनुमति लिएर जोगबनी भन्सारका प्रमुखले भीमनगर भन्सार नाकासम्बन्धी निर्णय गर्न सक्नेछन् । जोगबनीबाट भीमनगर–भन्टाबारी नाका ५५ किलोमिटर पश्चिममा छ । नेपालमा दशैँ, तिहार र छठजस्ता महत्वपूर्ण चाडबाड नजिकिएको बताउँदै उनले यसका लागि व्यवसायीले प्रशस्त उपभोग्य सामग्री आयात गरेकाले तत्कालै पहल आवश्यक रहेको बताए।डेपुटी कमिस्नर पवनले भीमनगर भन्सार आफ्नो अधीनमा रहेको जानकारी दिँदै आयातनिर्यातलाई सहज बनाउन आफू प्रतिबद्धता रहेको बताए।
 
रिरुट झन्झटपूर्ण छ 
व्यापार संघका महासचिव नवीन रिजालले विराटनगर नाकाबाट आयात गरिने मालसामान रिरुट गरेर अर्को नजिकैको काँकडभिट्टा भन्सारबाट प्रवेश गराउन धेरै प्रक्रियागत झन्झट रहेको बताए।
 
‘यस्तो रिरुट समुद्रपारका मुलुकबाट आयातित मालसामानमा मात्र हुन्छ’, महासचिव रिजालले भने, ‘रिरुट गर्न कोलकाता वन्दरगाहस्थित भन्सारबाट जारी भएको सिटिडी (कस्टम ट्रान्जिट डिक्लियरेसन) फाराममै सुधार गर्नुपर्ने हुन्छ । यसका लागि नेपालको वाणिज्य विभागको स्वीकृति लिएर कोलकातास्थित नेपालको महावाणिज्य दूतावासमा जानुपर्छ । यसपछि महावाणिज्य दूतावासले कोलकाता वन्दरगाहस्थित भन्सार कार्यालयलाई रिरुटका लागि सिफारिस दिएमात्रै सामान ल्याउन सकिन्छ।’
 
भारतबाट पैठारी गरिने सामानमा भने रिरुट गरिरहनु आवश्यक छैन ।तेस्रो मुलुक वा भारत दुबै स्थानबाट आयातीत सामानलाई भीमनगर–भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गराउनु नै अहिलेको सर्वोत्तम विकल्प रहेको महासचिव रिजालले बताए।