एउटा यस्तो सहकारी जसको शेयर सदस्यनै ३५ हजार छन्, अब आफ्नै एटीएम र ट्याब्लेट बैंकिङ

रासस
२०७४ भदौ ५ गते २२:३२ | Aug 21, 2017
गैँडाकोट। बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक एटिएम सेवाको शुभारम्भ गरेको छ ।
 
यहाँ आज आयोजित सत्ताइसौँ वार्षिकोत्सव समारोहमा संस्थाले आजदेखि सदस्य बीमा कार्यक्रम, एटिएम सेवा र ट्याब्लेट बैंकिङ सेवा शुरु गरेको हो । एससिटी नेटवर्कमा सञ्चालित एटिमबाट नेपाल भारत र भुटानका जुनसुकै स्थानबाट रकम निकाल्न सकिने संस्थाले जनाएको छ । सिद्धार्थ इन्सुरेन्स प्रालिसँगको सहकार्यमा सदस्य सुरक्षाअन्तर्गत सदस्य स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको हो ।
 
कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष डिबी बस्नेतले विकुले शुरु गरेको सेवा स्वागतयोग्य रहेको बताए । गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले  नगरपालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता अब बिकुबाट उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिर्इन् । विकुका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य खेमराज सापकोटाले बिकुले सदस्य सुरक्षामा विशेष जोड दिएर अघि बढ्नुपर्ने बताए।
 
व्यावसायिक तथा सीप विकास तालिम प्रशिक्षण केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेलले बिकुसँगको सहकार्यमा सदस्यलाई व्यावसायिक सीप प्रदान गरिएको बताउँदै आगामी दिनमा अझ बढी सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्धप्रकाश पौडेल, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णुप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतमलगायतले संस्थाको प्रगतिका लागि शुभकामना मन्तव्य राखे । ३५ हजार शेयर सदस्य र  १०  सेवा केन्द्र रहेको संस्थाको रु साढे दुई अर्ब कुल पुँजी रहेको संस्थाका सचिव गोविन्द रिमालले बताए।
 

Tata
GBIME
Nepal Life