बियरिस ट्रेन्डमा लगानीकर्ताको नजर, भन्छन्- बजार ओरालो लागेको होइन करेक्सन भएको हो

बिजमाण्डू
२०७४ भदौ २७ गते १३:३४ | Sep 12, 2017

काठमाडौं। साउन महिनाको मध्यदेखि शेयर बजार ओरालो लाग्न थालेपछि बजारमा अनेक टिका टिप्पणी भैरहेका छन्। कोही नेप्सेको सूचकांक करेक्सन भएको भनिरहेका छन् भने कोही बजारमा नियमनकारी निकायले लगानीकर्ता बढाउन तर्फ कुनै भूमिका नखेलेको आरोप लगाइरहेका छन्। लगानीकर्ताहरु चाडबाडको मुखमा सस्तो दरमा शेयर बेच्नुपरेपछि मुख अमिलो पारिरहेका छन्।  

Tata
GBIME
Nepal Life

साउन र भदौ महिना कम्पनीहरुले अघिल्लो आर्थिक बर्षमा कमाएको आर्जनबाट बोनस घोषणा गर्ने महिना हो। यसै समयमा दोस्रो बजारका लगानीकर्ता हौसिएर कारोबार गर्न थाल्छन्। तर यस बर्ष साविकका बर्ष भन्दा ट्रेन्ड उल्टो देखिएको छ।

जसरी नेपाल राष्ट्र बैंकले दुर्इ अर्बका बैंकलार्इ पूँजी बढाए आठ अर्ब पुर्यायो जसले एक हजार हाराहारीको सूचक बढेर १८८१ अंक पुर्यायो। यहि सूचक करेक्सन भएको हो बजार घटेको होइन भन्छन् सन्नी सेक्युरिटिजका प्रवक्ता सन्तोष पौडेल।

अहिलेको अवस्थामा लगानीकर्ता हतास हुनुपर्ने अवस्था होइन। बरु नेपाल स्टक एक्सचेन्ज तथा धितोपत्र बोर्डले नयाँ जोस जागर भएका युवा भित्र्याउन सक्नुपर्छ। बजार बढ्दा मात्र कमाउने अवस्था रहेको छ घट्दा पनि कमाउने सिस्टम ल्याउनु पर्ने उनको भनार्इ छ।

नेपाल राष्ट्र बैंक तथा नियमनकारी निकायले दुर्इ अर्ब चुक्ता पूँजी बढाउन निर्देशन गरेसँगै दोस्रो बजारमा लगानीकर्ता बढाउन नलागेको निभ सेक्युरिटिजका आधिकारिक प्रतिनिधी बिष्णु प्रसाद सापकोटाले बताए।

ठूला लगानीकर्ताले चाहेर मात्र बजार घट्ने अवस्था नरहेको भन्दै उनले यसलार्इ लगानीकर्ताका लागि सबैभन्दा राम्रो अवसर भएको विश्लेषण गरे।
‘बाणिज्य बैंकहरुको शेयर मूल्य तीन बर्ष अगाडिको मूल्यमा फर्केकाले अहिले लगानी गर्नुपर्छ’- सापकोटाको भनार्इ छ। बैंक तथा वित्तीय संस्था राम्रो नाफा कमाउन लागिपरेकाले भविष्यमा बाणिज्य बैंकका शेयरमूल्य हालको भन्दा धेरै बढी हुने उनी बताउँछन्।  
 
नेपाल स्टक एक्सचेन्जको वेव साइट हेर्दै बजारको गतिशिलताको आधारमा आफ्नो मुड बनाइरहेका लगानीकर्ता बजार उकालो लाग्दा वरिपरि घुम्ने घट्दा भाग्ने सिलसिला चलिरहेको अवस्था छ। बजार लगातार घटिरहँदा लगानीकर्तामा उत्साह देखिएको छैन।

दोस्रो बजारमा कारोबार गरिरहेका विरेद्र दाहाल सबै कुरा सकारात्मक हुँदा पनि बजार तल झरेकाले आफु अचम्ममा परेको बताउँछन्। समाजशास्त्र पढाउने दाहालको विश्लेषण अलि फरक छ।

उनी भन्छन्- ‘सिस्टममा केहि खराबी छैन। कम्पनीले भकाभक बोनस जारी गरिरहेका छन्। बैंकले ब्याजदर घटाउन लागिरहेका छन्, राजनीतिक स्थायित्व विस्तारै हुँदैछ, चुनाव सम्पन्न हुन सकेको छ।  यी सबै हुँदा पनि बजार ओरालो लाग्नु स्वाभाविक लाग्दैन।’

बजारमा शेयर धेरै भएपनि डिमाण्ड क्रिएट नभएकाले उनी नयाँ लगानीकर्ताहरु भित्र्याउनुपर्ने तर्क दिन्छन्। नियमनकारी निकायले लगानीकर्ताका रुपमा एनआरएनलार्इ भित्र्याउनुपर्ने उनको सुझाव छ।

लगानीकर्ता उमेश शर्मा लगभग चार गुणा पूँजी बृद्धि भएका कारण बजारमा शेयर बेच्नेहरुको संख्या धेरै भएकाले गिरावट आएको बताउँछन्।

अर्का लगानीकर्ता सुजन सुवेदीको गुनासो भने बेग्लै छ। बजारमा लगानी गर्न बैंकले साना लगानीकर्तालार्इ लोन नदिने र दिएमा पनि  १० देखि १५ दिन अल्झाउने हुँदा लगानी गर्न नसकेको सुवेदी बताउँछन्।

साना लगानीकर्ताले बजारबाट शेयर किन्न नसक्ने अनि ठूला लगानीकर्ताले धेरै लाभ लिने वातावरण भएकाले साना लगानीकर्ता निराश भएको उनको भनार्इ छ।