नेपालको ‘ताजमहल’ मा रिसोर्ट सञ्चालन, १२ रोपनी जग्गा, स्थानीय खाद्य उत्पादन प्राथमिकता

रासस
२०७४ असोज ४ गते १०:२८ | Sep 20, 2017
पाल्पा। नेपालको ‘ताजमहल’ भनेर चिनिने पाल्पाको रानीमहल जाने बाटोमा रिसोर्टहरु सञ्चालनमा आउन थालेका छन्। 
 
रानीमहल पुग्नुभन्दा चार किलोमिटर अगाडि बगनासकाली गाउँपालिका–८, गाईघाटमा डिउ क्याम्पिङ्ग रिसोर्ट सञ्चालनमा आएपछि रानीमहल आवतजावत गर्ने पर्यटकलाई सहज हुन थालेको छ। रिसोर्टमा खाना, नास्ता तथा बासको समेत व्यवस्था रहेको सञ्चालक बसन्त कुँवरले बताए।
 
तानसेनदेखि १३ किलोमिटर उत्तरमा रानीमहल रहेको छ। कालीगण्डकी नदी विश्वमै वीरलै बहने उत्तरबाहिनी नदीका रुपमा रहेकाले पनि पर्यटकको धेरै आवतजावत हुने भएपछि त्यस क्षेत्रमा सुविधासम्पन्न होटलको अभाव रहेको थियो। 
 
कुँवरको ५० लाख रुपैयाँ लगानीमा १२ रोपनी जग्गामा रिसोर्ट निर्माण गरिएको हो। रानीमहल क्षेत्रमा सुविधासम्पन्न होटलको अभावमा रानीमहल पुगेपनि तानसेन नै बास बस्न आउनुपर्ने बाध्यता रहेको थियो।
 
हराभरा तथा सुन्दर क्षेत्रमा रहेको रिसोर्टमा स्थानीय जातका धानको भात, कोदो, फापर, मकै, दूध, घ्यू, लोकल कुखुरा, खसी बोका, माछाको परिकार प्रमुख विशेषता रहेको छ। 
 
रिसोर्टमा सुविधासम्पन्न स्थानीय मोडलमा भान्साघर, काउन्टर, आवासका लागि दुईवटा कुडुले घर, मिनि स्वीमिङ पुल, तरकारी बाली र प्रसस्त पिकनिकस्थलसमेत रहेको सञ्चालक कुँवरले जानकारी दिए। 

Tata
GBIME
Nepal Life