रणनीतिक साझेदार आए नाफा अनुसारको लाभ दिने बन्ला एनटिसी? कम्पनीलाई आफ्नै पूँजीको बोझ

बिजमाण्डू
२०७४ असोज २९ गते ११:३१ | Oct 15, 2017
रणनीतिक साझेदार आए नाफा अनुसारको लाभ दिने बन्ला एनटिसी? कम्पनीलाई आफ्नै पूँजीको बोझ
काठमाडौं । २०५८ सालसम्म दूरसञ्चार क्षेत्रमा मोनोपोली राज गरेको नेपाल टेलिकम (एनटिसी)ले अहिले तीब्र प्रतिश्पर्धा झेलि रहेको छ। टेलीकम कम्पनीहरुको ‘रेभेन्यु’ मै एनटिसी दोस्रो स्थानमा धकेलिएको छ।
 
त्यति हुँदा पनि नेप्सेमा सूचीकृत पब्लिक कम्पनीमध्ये सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा पर्छ एनटिसी। नेप्सेमा सूचीकृत कम्पनीमध्ये नाफाको दृष्टिले दोस्रो स्थानमा रहेको कम्पनीको आर्जन एनटिसीको तुलनामा एक चौथाइ हाराहारी मात्र छ। बर्षेनी १० अर्ब रुपैयाँ बढि नाफा कमाए पनि कम्पनीको प्रतिफलसँग लगानीकर्ता त्यति धेरै उत्साहित छैनन्। त्यसको कारण हो कम्पनी उच्च चुक्ता पूँजी। एनटिसीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ। त्यसैले कम्पनीले दिने प्रतिफल ५० प्रतिशत माथि जान छैन। 

Tata
GBIME
Nepal Life


 

सरकारी नीति नियममा चल्नु पर्ने बाध्यताको कारण सोचेजस्तो बिजनेश बढाउन नसकेको कम्पनीका उच्च अधिकारी बताउँछन्। सोही कारण आफ्नो बिजनेस तथा सेवामा गुणस्तर थप्ने एनटिसी रणनीतिक साझेदारको पर्खाइ छ। यसका अहिले कम्पनीको डिडिए रिपोर्ट (सम्पत्ती तथा दायित्वको मुल्याङ्कन) तयार पार्ने काम भइ रहेको छ। डिडिए एक बर्षभित्र सम्पन्न गर्ने साझेदार भित्र्याइ हाल्ने कम्पनीका उच्च अधिकारी बताउँछन्। त्यसपछि नयाँ रणनीति र योजनाका साथ टेलिकम बजारमा गुमेको एक नम्बर फिर्ता ल्याउन सकिने विश्वास उनीहरुमा छ।
 
“बजारमा अझ एग्रेसिभ रुपमा अगाडि जानलार्इ रणनितिक भित्र्याउने तयारी गरेका हौँ, कम्पनीकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्- आज बजारमा निजी कम्पनी बलियो प्रतिस्पर्धी हुँदा पनि नेपाल टेलिकम लिडमा नै छ र भविष्यमा पनि लिडमा नै हुने गरि काम गर्नेछौँ।” 
 
अहिलेको पूँजी संरचनामा टेलिकमका सरकार ९१.४९ प्रतिशत शेयर स्वामित्व रहेको छ। शतप्रतिशत स्वामित्व रहेको सरकारले २०६४ सालमा ६०० सय रुपैयाँ न्यूनतम मूल्य तोकेर बडाबडमा आफ्नो शेयर ८.४८ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गरेको थियो। त्यस बाहेक कम्पनीमा नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर रहेको छ।
 
अन्य क्षेत्रमा लगानी 
कम्पनीले दुर्इ जलविद्युत आयोजनामा लगानी गरेको छ। त्रिशुली जलविद्युत आयोजनाको संस्थापक लगानी कर्ताको रुपमा एनटिसीले ३० प्रतिशत शेयर लिएको छ। साथै कम्पनीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा पनि एनटिसीको छ प्रतिशत शेयर रहेको। कम्पनीले विभिन्न ऋणपत्रमा लगानी गर्नुका साथै माथिल्लो तामाकोशीमा कर्जा लगानी समेत गरेको छ। 
 
शेयर मूल्य किन न्यून ?
लामो समय देखि नेपाल टेलिकमको शेयर मूल्य ८०० रुपैयाँ माथि उक्लिन सकेको छैन। बैंक तथा वित्तीय संस्था, उत्पादन मुलक कम्पनी, हाइड्रोपावर कम्पनी, होटल जस्ता समुहका केहि कम्पनी बाहेक अरु कम्पनीको प्रतिशेयर आम्दानी १०० रुपैयाँ माथि छैन।  
 
नेपाल टेलिकमको भन्दा एकदमै कम प्रतिशेयर आम्दानी भएका तथा भविश्यको सुनिश्चितता नभएका कम्पनीको पनि बजार मूल्य एनटिसीभन्दा धेरै माथि छ। एनटिसीभन्दा धेरै शेयर मूल्य भएका अधिकांश बीमा कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ हाराहार मात्र छ। त्यति हुँदा पनि उच्च चुक्ता पूँजीका कारण एनटिसीको शेयरले लगानीकर्तालाई खास आकर्षण गर्न सकेको देखिँदैन। 
 
कम्पनीको विगत छ बर्षको आर्थिक विवरण अनुसार कम्पनीले गत बर्ष पहिलो पटक प्रति शेयर १०० रुपैयाँ आम्दानी गर्न सफल भएको छ। २०७१/७२ मा ९७ रुपैयाँसम्म पुगेको प्रति शेयर आम्दानी अघिल्लो बर्ष फेरि ९१ रुपैयाँमा झरेको थियो। छ बर्षको अवधिमा कम्पनीले नगद लाभांश प्रति शेयर ४६ रुपैयाँ देखि ५१ रुपैयाँसम्म दिएको छ। बोनश र हकप्रद शेयरमा बढि लोभिने नेपाली लगानीकर्ताको स्वभावका कारण पनि एनटिसीको शेयर मूल्य खास बढ्न नसकेको देखिन्छ।
 
भोलिको फाइदा
धेरै प्रतिश्पर्धी आए पनि मुलुकमा आधारभुत टेलिफोन सेवा (ल्यान्ड लाइन) दिने एनटिसी एकमात्र कम्पनी हो। त्यस बाहेक कम्पनीले वायरलेस, इन्टरनेट र ग्रामीण क्षेत्रमा स्याटेलाइट मार्फत दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ। रणनीतिक साझेदार भित्रिएको अवस्थामा कम्पनीले यी सेवा अझ चुस्त र प्रभावकारी बनाउन सक्ने आँकलन गरेको छ। 
 
अहिले कम्पनीको जगेडाकोषमा ७८ अर्ब रुपैयाँ रहेको छ। यो रकम उत्पादन मूलक एवं प्रतिफल दिने क्षेत्रमा लगानी गरेर कम्पनीले नाफालाई थप विस्तार गर्न सक्छ। कम्पनीले लगानी गरेका जलविद्युत आयोजनाले पनि दीर्घकालिन प्रतिफल दिनेछन्। र, त्यसले अन्ततः एनटिसीका लगानीकर्ताहरुलाई नै फाइदा पुग्नेछ। त्यस बाहेक नेपाल टेलिकमसँग रहेको अथाह सम्पत्ति अहिले ह्रास कट्टी भएर त्यसै थन्किएको छ। त्यस्ता सम्पत्तिलाई समय सापेक्ष उपयोग गर्न सके प्रतिफलमा गुणात्मक विस्तार हुन सक्छ। 
 
यति हुँदा पनि एनटिसीको सेवामा गुणस्तर बारे निरन्तर प्रश्न उठ्ने गरेको छ। त्यसप्रति बेलैमा सम्बोधन नभए निजी क्षेत्रका अब्बल कम्पनीसँग प्रतिश्पर्धा गरि रहन सहज हुनेछैन।