राष्ट्र बैंकको कर्मचारी बिनियमावली लोक सेवा आयोगमा अध्ययनको चरणमा, युनियनको आन्दोलन थपियो

बिजमाण्डू
२०७४ असोज २९ गते १६:०३ | Oct 15, 2017
काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले स्वीकृतिका लागि पेश गरेको कर्मचारी बिनियमावली संशोधनमा अध्ययन भइ रहेको लोक सेवा आयोगले जनाएको छ। सन् २००१ देखि लागु ३० बर्षे सेवा अवधि खारेज लगायतका प्रावधान सहित कर्मचारी बिनियमावली स्वीकृतिका लागि केन्द्रीय बैंक सञ्चालक समितिले आयोगमा पेश गरेको थियो।
 
‘राष्ट्र बैंकको कर्मचारी बिनियमावली संशोधन स्वीकृतिका लागि आयोगमा आइ पुगेको छ र अहिले त्यसमा अध्ययन भइ रहेको छ, आयोग प्रवक्ता लक्ष्मी विलास कोइरालाले भने – सम्पुर्ण पक्षको अध्ययन पश्चात आयोगले आफ्नो राय दिनेछ।’ 
 
राष्ट्र बैंकमा भने सञ्चालक समितिको उक्त निर्णय तीब्र बिवादमा परेको छ। आम कर्मचारीको वृत्ति विकासमा असर पुर्याउने भन्दै उक्त प्रावधान खारेजीको माग राखि राष्ट्र बैंकका कर्मचारी युनियनले आन्दोलन गरि रहेका छन्। कांग्रेस निकट नेपाल वित्तिय संस्था कर्मचारी संघले शुक्रबार आन्दोलन निरन्तरताको घोषणा गरेको छ भने एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघले पाचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। 
 
वित्तिय संस्था कर्मचारी संघले आउँदो कात्तिक ८ गतेसम्म हरेक दिन बिहान १० दिन १२ बजे बालुवाटार स्थित प्रधान कार्यालयमा कालोपट्टी बाँधि गभर्नर कार्यालय घेराउ गर्ने जनाएको छ। त्यो अवधिमा थापाथली स्थित बैंकिङ कार्यालयका कार्यकारी निर्देशक र जिल्ला स्थित शाखा प्रमुखको कार्यकक्षमा धर्ना दिने संघले जनाएको छ। 
 
यस्तैा राष्ट्र बैंक कर्मचारी संघले दैनिक एक घण्टाको धर्ना बढाएर दुई घण्टा पुर्याएको जनाएको छ। तिहार बिदा अघिसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको संघले दैनिक बिहान १० देखि १२ बजेसम्म केन्द्रीय कार्यालयमा गभर्नर एवं अन्य कार्यालयमा प्रमुखको कार्यकक्ष घेराउ गर्ने जनाएको हो। त्यस बाहेक सञ्चालक समितिको बैठक बसेको खण्डमा त्यहाँ पनि धर्ना दिने संघले उल्लेख गरेको छ। 

Tata
GBIME
Nepal Life