तिहारको पूर्वसन्ध्यामा शेयर बजारले मार्यो छलाङ, सोमबार नेप्से ४५ अंकले बढ्यो

बिजमाण्डू
२०७४ असोज ३० गते १५:५३ | Oct 16, 2017

काठमाडौँ।तिहारको पूर्वसन्ध्यामा शेयर बजारले छलाङ मारेको छ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुनिश्चितता भएपछि लगानीकर्ता आश्वस्त भएकोले शेयर बजारमा ४५ अंकले बढेको हो।

Tata
GBIME
Nepal Life

सोमबार कारोबार रकम समेत बढेको छ।यो वृद्धिसँगै नेप्से १५६४.९० अंकमा उक्लिएको छ।भदौं २८ पछि नेप्सेमा सोमबार सबैभन्दा धेरै वृद्धि भएको हो।
राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको भोलीपल्ट शेयर बजारमा व्यापक सुधार आएको हो।सोमबार कारोबार भएको १ सय ६३ कम्पनीमध्ये १ सय ५४ कम्पनीको मूल्य बढेको छ। राजनीतिक ध्रुविकरणसँगै ओरालो लागेको शेयर बजारमा निर्वाचनले लगानी गर्न हौंस्याएकोले बजार बढेको विश्लेषकहरु बताउँछन्।

 सोमबार कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १० करोड रुपैयाँ बढेर बढ्दै ६० करोड ५० लाख रुपैयाँको कारोबार भयो।नेपाल इन्भेष्टर फोरमका निर्वतमान अध्यक्ष डा.आत्मराम घिमिरेले निर्वाचनको सुनिश्चिततासँगै शेयर बजारमा सुधार आएको बताए।‘निर्वाचनको सुनिश्चिततासँगै लगानीकर्तामा आत्मविश्वास बढ्यो।यसले शेयर बजारमा सुधार आएको हो’उनले बिजमाण्डूसँग भने।

उनका अनुसार निर्वाचनसँगै पहिलो त्रैमासिकमा शेयर ऋण लिएका लगानीकर्ताले ब्याज भूक्तानीका लागि शेयर बिक्री गरेको र अहिले लगानीकर्ताले खरीद आदेश बढाउँदा नेप्से बढेको हो।सोमबार बजारमा १६३ कम्पनीका १३ लाख ४७ हजार कित्ता शेयर कारोबार भए। जसमा बाणिज्य बैंकको मात्र २८ करोड २४ लाख रुपैयाँको कारोबार भयो। सबैभन्दा बढी बैंक अफ काठमाण्डूको १० करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ।

कारोबारमा आएका आठ उपसूकमा ट्रेडिङ समूहले ४.२२ अंकले गुमाएको छ।बाँकी सबै सूचक बढेका छन्। बैंक ४८.६६, होटल ७८.०५, विकास बैंक ५७.३६, जलबिद्युत ५२.५५, फाइनान्स ९.९, बीमा २६४.७५ र अन्य ०.२८ अंकले बढेको छ।सोमबार सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। सबैभन्दा बढी गुमाउनेमा विशाल बजार कम्पनीका शेयरधनीले करिब तीन प्रतिशत गुमाए।