एनआरएनए अध्यक्षमा भारी मतले भट्ट निर्वाचित, अधिकांश पदाधिकारी भट्ट प्यानलकै

बिजमाण्डू
२०७४ असोज ३१ गते ०५:०३ | Oct 17, 2017
एनआरएनए अध्यक्षमा भारी मतले भट्ट निर्वाचित, अधिकांश पदाधिकारी भट्ट प्यानलकै


काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट भारी मतअन्तर सहित निर्वाचित भएका छन्। मंगलबार बिहान आएको मत परिणामअनुसार भट्टले १ हजार १९७ मत पाए। उनकी प्रतिद्वन्द्वी जमुना घले गुरुङले ५८४ मत पाइन्। अधिकांश पदमा भट्ट प्यानलकै उम्मेद्वार बिजयी बनेका छन्।

Tata
GBIME
Nepal Life


 

गुरुङले अन्तिम समयमा उम्मेद्वारी दिएकी थिइन्। निर्वाचित भएपश्चात प्रतिकृया दिँदै अध्यक्ष भट्टले एनआरएनएलाई थप उचाइमा लैजान सबै पक्षसँग मिलेर काम गर्ने प्रतिक्रिया दिए। चुनावी हारजितलाई आफुले स्वभाविक रुपमा लिएको र अब संस्थालाई एकढिक्का बनाएर लैजाने उनको भनाइ थियो। भट्टले संघमा एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। 
 
सोमबार भएको निर्वाचनले आगामी २ वर्षका लागि अध्यक्षसहित ३८ पदमा नेतृत्व चयन गरेको हो। कुल १ हजार ८५४ मतदातामध्ये १ हजार ७८८ मतदानमा सहभागी भएका थिए। संघको २ खुला उपाध्यक्ष पदमा कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) क्रमशः १ हजार ३० र ६४४ मतसहित निर्वाचित भए। खुला उपाध्यक्ष पदमा चिरञ्जीवी थापा (जापान),  खगेन्द्र क्षेत्री (अमेरिका), रविना थापा (अमेरिका) तथा सोनाम लामा (अमेरिका) प्रतिस्पर्धी थिए।


 

महिला उपाध्यक्षमा सपिला राजभण्डारी (रसिया) १ हजार ८४ मतसहित विजयी बनेकी छिन्। उनकी प्रतिद्वन्द्वी रञ्जु थापा (अष्ट्रेलिया) ले ६३५ मत प्राप्त गरिन्। महासचिवमा डा. बद्री केसी (रसिया) ७ सय ६७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी यमकुमार गुरुङ (त्रिलोक) (हङकङ) ले ५३८ मत प्राप्त गरे। अर्का प्रतिस्पर्धी अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) ले ३६४ मत प्राप्त गरेका थिए। आगामी कार्यकालका लागि दुई सचिव पदमा डबरबहादुर क्षेत्री (ओमन) र जानकी गुरुङ (बेल्जियम) निर्वाचित हुनुभएको छन्। उनीहरुले क्रमशः ६८६ र ६५५ मत पाए। उक्त पदमा डा. देवीबहादुर बस्नेत (दक्षिण कोरिया), गणेश केसी (अष्ट्रेलिया), ऋषिराम कँडेल (अष्ट्रेलिया) र सन्तोषकुमार भट्टराई (जर्मनी) प्रतिस्पर्धामा उत्रिएका थिए। 
 
कोषाध्यक्षमा एक हजार ३८ मत सहित हिक्मतबहादुर थापा (नाइजेरिया) पुनः विजयी भएका छन् । उनका प्रतिस्पर्धी मुक्षेत्र गुरुङ (बेलायत) ले ६५३ मत प्राप्त गरे। त्यसैगरी, सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा (डेनमार्क) विजयी भएका छन्। उहाँका प्रतिद्वन्द्वी चक्रबहादुर थापा (न्युजिल्यान्ड) थिए। सापकोटा र थापाले क्रमशः एक हजार ३९ र ५२६ मत पाए। महिला संयोजक पदमा प्रतिद्वन्द्वी भूमादेवी लिम्बू (अष्ट्रेलिया) लाई पराजित गर्दै रजनी प्रधान (बेल्जियम) विजयी हुनुभयो। प्रधानले ९८२ मत पाइन् भने लिम्बुले ६७६ मत पाएकी थिइन्। आगामी कार्यकालको युवा संयोजकमा सुदन थापा (जापान) ४९७ मत सहित निर्वाचित भएका। युवा संयोजकमा चार प्रतिश्पर्धी थिए।
 
अफ्रिका क्षेत्रका सबै पदका आकांक्षीहरू निर्विरोध निर्वाचित भएका छन्।  संयोजकमा सुनिल कार्की (केन्या), उप–संयोजकमा डा. भुवनप्रसाद ढकाल (केन्या) र शिवप्रसाद शर्मा (तान्जिनिया), महिला उप–संयोजकमा मनकला विष्ट थापा (नाइजेरिया) तथा युवा उप–संयोजकमा बाबुराम लुइँटेल शर्मा (मोजाम्बिक) निर्विरोध चुनिएका हुन्।
 
एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय संयोजकमा किरणविक्रम थापा (जापान) निर्वाचित भए। क्षेत्रीय उप–संयोजक (एशिया प्रशान्त) का लागि पारसमणि पोखरेल (जापान) र विनोद कुँवर (कोरिया) चुनिएका छन्। एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय महिला उप–संयोजकमा जूनुमाया गुरुङ (कोरिया) निर्विरोध निर्वाचित भइन् भने युवा उप–संयोजक पदमा उम्मेदवारी परेन। 

तश्विरहरु- द्वारिका काफ्ले
 
अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक पदमा गौरीराज जोशी (अमेरिका) र उप–संयोजकमा नवीन शेरचन (अमेरिका) निर्वाचित भएका छन्। अमेरिका क्षेत्रीय महिला उप–संयोजकमा संगीता लम्साल शिवाकोटी (अमेरिका) र युवा उप–संयोजकमा डा. वर्षा मोक्तान (अमेरिका) निर्विरोध निर्वाचित भए। 
मध्यपूर्व क्षेत्रका लागि संयोजकमा राजेन्द्रकुमार शर्मा (कतार) चुनिए। यो क्षेत्रको दुई क्षेत्रीय उप–संयोजक पदमा गोपालप्रसाद कँडेल (यूएई) र प्रवीण गुरुङ (कतार), महिला उप–संयोजकमा यासयीन बेगम (सैयद) (साउदी अरब) तथा युवा उप–संयोजकमा राजकुमार बस्नेत (बहराइन) निर्विरोध निर्वाचित भए। 
 
ओसिनिया क्षेत्रीय संयोजकमा धर्मराज अधिकारी (अष्ट्रेलिया) विजयी भएका छन्। यो क्षेत्रको उप–संयोजकमा ईश्वरचन्द्र कुईँकेल (अष्ट्रेलिया) र लोकनाथ पौडेल (न्युजिल्यान्ड) को बराबर मत आएको छ भने महिला उप–संयोजकमा प्रीति शर्मा (अष्ट्रेलिया) तथा युवा उप–संयोजकमा ऋषिराज आचार्य (अष्ट्रेलिया) विजयी भएका छन्। 
 
युरोप क्षेत्रीय संयोजक पदमा शिव बरुवाल (बेल्जियम) निर्वाचित भएका छन्। युरोप क्षेत्रका लागि २ उप–संयोजक पदमा गोविन्द गौतम (रसिया) र एकराज गिरी (स्पेन) विजयी भए। त्यस्तै, महिला उप–संयोजक पदमा संगीता मरहठ्ठा (बेलायत) र युवा उप–संयोजक पदमा जयकृष्ण ठाकुर (डेनमार्क) निर्विरोध निर्वाचित भए। 
 
एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा २१ जनाको कार्यसमिति रहन्छ। उक्त समितिमा पदाधिकारी सहित ६ क्षेत्र तथा महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्यवस्था छ। सोमबार सम्पन्न निर्वाचनमा ३९ पदका लागि ८४ जनाले प्रतिस्पर्धा भएको थियो। निर्वाचनअन्तर्गत ११ जना निर्विरोध निर्वाचित भएका थिए भने १ पदमा उम्मेदवारी दर्ता नै भएन। नेतृत्व चयन गर्न सोमबार दिउँसो सुरु मतदान राति अबेरसम्म चलेको थियो। 
 
नयाँ नेतृत्वले गोरखाको लाप्राकमा निर्माणाधीन नमुना वस्ती विकास तथा बालुवाटारको एनआरएनएको केन्द्रीय कार्यालय निर्माणलाई मुख्य प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। गत शनिबार काठमाडौं सुरु संघको आठौं विश्व सम्मेलन उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। सम्मेलनमा आर्थिक विकास, पुनर्निर्माण, महिला तथा युवा, वैदेशिक रोजगारी आदि विभिन्न विषयमा छलफल तथा कार्यपत्र प्रस्तुत गरिएका थिए। संघको आन्तरिक पुनर्संरचनाको प्रस्तावसहित भिजन २०२० एण्ड बियोण्डलाई सम्मेलनको बन्दसत्रले संसोधनसहित पारित गरेको थियो। काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन आज (मंगलबार) समापन हुनेछ।