बाम एकताको असर साता दिनमै सकियो सेयर बजारमा, विज्ञले दिए बजार बढ्ने यस्तो आधार

बिजमाण्डू
२०७४ असोज ३१ गते ११:०८ | Oct 17, 2017
बाम एकताको असर साता दिनमै सकियो सेयर बजारमा, विज्ञले दिए बजार बढ्ने यस्तो आधार
काठमाडौ। दसैंपछि लगातार घटेको बजार आइतबारयता हरियो रंगमा फर्किएको छ। बाम एकताका कारण बजार निरन्तर ओरालो लागेर कारोबार रकममा पनि उच्च गिरावट आएको थियो। तर आइतबारदेखि बजार हरियो हुन थालेको छ। हिजो मात्रै बजार करिव ४७ अंकले बढेर १५६४ अंकसम्म पुग्यो। 


 
'शेयर बजारमा चाडबाडसँगै राजनितिले नयाँ मोड लिँदा 'पर्ख र हेर' को अवस्थामा पुगेका लगानीकर्ता विस्तारै सामान्य अवस्थामा फर्किएका छन्,' इन्भेष्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले बिजमाण्डूसँग भने, 'लगानीकर्ता पूर्ववत अवस्थामा गएपछि बाम एकताको असर पनि सकिएको छ।'
 
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पुरानै घर कांग्रेस फिर्तिले लोकतान्त्रिक दलहरुको एकीकरण सुरु भएको रुपमा पनि लगानीकर्ताले लिएका छन्। यसले पनि एकता घोषणासँगै बजार ४७ अंकमाथि पुग्न मद्दत गरेको लगानीकर्ताहरुको बुझाइ छ। 
 
लगानीकर्ताको अस्थिर मनोविज्ञान पुन पुरानै लयमा फर्किसकेको बताउँदै पौडेलले आगामी दिनमा बजार अझ माथि जाने आधारहरु प्रस्तुत गरे। सुचिकृत कम्पनीहरुको पहिलो त्रैमासको बिबरण आउने क्रम सुरु हुने छ। जसमा धेरै कम्पनीहरुले बिगतको भन्दा राम्रो प्रदर्शन गर्ने देखिएको छ। यसले पनि बजारलाई बढाउन टेवा दिने पौडेलको विश्लेषण छ।
 
अनलाइन ट्रेडिङले बजारमा पहुँच थप विस्तार हुन्छ। बैंक तथा वित्तीय संस्थाहरुको हकप्रद निष्कासनमा बिस्तारै स्थिरता आउँदै छ,  बैंकको ब्याजदर बढ्ने क्रम रोकिएको छ। मुद्दती निक्षेपको ब्याज घट्न थालिसकेकाले ऋणको पनि घट्ने अनुमान लगानीकर्ताको छ। बैंकिङ तरलाता सहज हुँदै गएकाले बैंक वित्तीय संस्थाले शेयर कर्जाको लागि लगानीकर्ता डाक्न थालेका छन्। 'सबै हिसावले आगामी परिदृष्यहरु सवल देखिएका छन्,' पौडेलले भने, 'यो नै बजार बढ्ने आधार हो।' 
 
अहिले बजारमा बुलिश ट्रेन्ड पनि नआएको र बियरिस ट्रेन्ड पनि सुरु नभएको शेयर बजारका जानकार डा. मनोहरकृष्ण श्रेष्ठ बताउँछन्। उनका अनुसार, बुलिस ट्रेन्ड आएको भए बजार १९ सय अंक नाघ्ने थियो र  बियरिस भएको भए १२ सय अंक तल आउने थियो। तर बजार न १९ सय पुगेको न १२ सयमा झरेको छ। 
 
'अहिले बजार १५ सयदेखि १६ सयको बीचमा रहेको कारणले सुचकलाई स्थिर मान्नु पर्छ,' उनले भने, 'अहिले राजनीतिक घटनाहरु फरक ढंगले विकास भएका कारण सुचक केही तलमाथि देखिएको मात्र हो।' 
 
बजार अहिले स्टेबल हुनुमा लगानीकर्तामा आएको चेतना मुख्य कारण रहेको श्रेष्ठको भनाई छ। लगानीकर्ताले सुचानाको सही विश्लेषण गर्न थालेकाले बजार स्थिरतातर्फ उन्मुख भएको उनको तर्क छ। 
 
सेयर लगानीकर्ता तथा पूर्व बैंकर अनलराज भट्टराई निर्बाचनका कारण स्थिर सरकार निर्माण हुने भन्दै यसका कारण सरकारी खर्च बढ्ने अनुमान गर्छन्। निर्वाचन तथा विकास खर्चका कारण बैंकिङ तरलता बढेर कात्तिक पहिलो साताबाटै ऋणको ब्याज केही घट्ने अनुमान भट्टराईको छ। ब्याज सामान्य रुपमा घटे पनि यसले बजारलाई माथि लैजान प्रेरित गर्ने उनले बताए।

Tata
GBIME
Nepal Life