सोमबारको उत्साह टिकेन शेयर बजारमा, झन्डै छ अंकको करेक्सन, कारोबार रकम पुरानै लयमा

बिजमाण्डू
२०७४ असोज ३१ गते १६:०१ | Oct 17, 2017
काठमाडौं । सोमबार तीब्र गतिमा बढेको शेयर बजारमा मंगलबार ५.७२ अंकको करेक्सन आएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुनिश्चितता बढेसँगै लगानीकर्ता उत्साहित भएर कारोबार गर्दा सोमबार ४७ अंकले बजार बढेको थियो। 
 
एकैपटक ठुलो अंकले बढेको कारण बजारमा मंगलबार करेक्सन आएको लगानीकर्ता प्रकाश दाहालले बताए। गएको असोज १७ गते बजार १५५६ अंकमा थियो। दशैँ पछी बाम एकताको खबरले राजनीतिक ध्रुबिकरण बढ्दा देखिएको चुनावको अनिश्च य आदी कारणले बजार ओरालो लागेको थियो। एक साताको अवधिमा बजारले ५५ अंक गुमाउदै असोज २३ गते सूचक १५०१ अंकमा झरेको थियो। राजनीति प्रति लगानीकर्ता आश्वस्त भएसँगै सोमबारसम्ममा बजार दशैँ पछी गुमाएको ५५ अंक पूर्ति गर्दै थप आठ अंक बढेर सूचक १५६४ अंकमा उक्लिएको थियो।
 
दशैं पछिको नाफा घाटा हेर्दा लगानीकर्ता अझै तीन अंक फाइदामा रहेको दाहालको भनाइ छ। मंगलबार बजार नबढे पनि लगानीकर्ताको मनोबल बलियो भएको उनले बताए। 
 
बजारले बिस्तारै बढ्ने गति समातेको र यसलाई वृद्धिको सुरुवात मान्नु पर्ने लगानीकर्ता ज्योतिबहादुर थापाले बताए। लगानीकर्तामा अहिले उत्साह देखिएको उनको भनाइ छ।
 
मंगलबार शेयर बजार मापक सूचक ५.७२ अंकले घटेर १५५९.१८ अंकमा झरेको छ। सेन्सेटिभ इन्डेक्स १.०७ अंकले घटेर  ३२८.३४ अंकमा ओर्लिएको छ। 
मंगलबार १६२ कम्पनीका १४ लाख १३ हजार कित्ता शेयर ६१ करोड २० लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी ओरियन्टल होटलको करिब पाँच करोड रुपैयाँको शेयर खरिद बिक्रि भएको छ। 
 
नौ समूहको कारोबारमा ६ समूह घटेको छन्। बैंक ५.६२, होटल १२.९६, विकास बैंक ९.१, फाइनान्स १.९२, बीमा ४१.१७ र उत्पादन मूलक समूह १६.७६ अंकले घटे। ट्रेडिङ २.६२, जलबिद्युत ७.७८ र अन्य ०.२९ अंकले बढेका छन्। 
 
मंगलबार सबैभन्दा बढी बेस्ट फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाए। हिमालयन डिस्टिलरीका शेयरधनीले सबैभन्दा बढी ६ प्रतिशत गुमाए।

Tata
GBIME
Nepal Life