धनत्रयोदशीमा सुनचाँदीका सामान किन्ने मोह, राजधानीका सबै सुनचाँदी पसलमा उपभोक्ताको भीड

बिजमाण्डू
२०७४ असोज ३१ गते २१:११ | Oct 17, 2017
धनत्रयोदशीमा सुनचाँदीका सामान किन्ने मोह, राजधानीका सबै सुनचाँदी पसलमा उपभोक्ताको भीड


काठमाडौँ। आज धनत्रयोदशी।धनत्रयोदशीमा द्रब्य जोडेमा लक्ष्मी प्रसन्न हुने जनविश्वासका कारण आज देशभरका सुनचाँदी पसलमा सुन र चाँदीका सामान किन्न उपभोक्ताको बाक्लो भीड लाग्यो।

Tata
GBIME
Nepal Life

त्यसमा पनि राजधानीका सुनचाँदी पसलमा उपभोक्ता खचाखच भरिए।कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीमा द्रब्य जोड्नु राम्रो हुने जनविश्वास छ। धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरस (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ।  यही जनविश्वासका कारण सुनचाँदीको कारोबार व्यापक हुन्छ।नेपाल रत्न तथा आभूषण संघका द्धितीय उपाध्यक्ष एवं ऋद्धिसिद्धि ज्वेलर्सका संचालक नरेन्द्रकुमार गुप्ताले मंगलबार सुनचाँदीको व्यापार सोचे भन्दा राम्रो भएको बताए।

‘यो वर्ष धनत्रयोदशीका दिनमा सुनचाँदीको कारोबार एकदमै राम्रो भयो।अहिलेसम्म देशभरको तथ्यांक आएको छैन।तर न्यूरोडका सुनचाँदी पसलमा उपभोक्ताको भीड देख्दा राम्रो कारोबार हुने देखिएको छ’उनले बिजमाण्डूसँग भने।नेपालमा दैनिक चाँदीको माग तीन सय किलो हुन्छ।तर तिहारको समयमा भने चाँदीको माग पाँच सय किलो हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले बताए।उनका अनुसार सुनको बिक्री पनि तिहारमा देशभर ३५ किलो पुग्छ।

सामान्य समयमा सुनको बिक्री दैनिक २० किलोको हाराहारीमा हुन्छ।नयाँ सडकमा रहेको लक्की ज्वेलर्सले गत वर्षको तिहारमा झण्डै डेढ करोडको सुनचाँदीको कारोबार गरेको एकाउन्टेन्ट श्रीनिवास उपाध्यायले बताए।उनले अहिलेको तिहारमा ग्राहकको भीड अझै बढेकोले व्यापार वृद्धि हुने बताए।उनले आज मात्रै एक करोडको कारोबार भइसकेको बताउँदै धनत्रयोदशीका दिनका लागि २५ किलो चाँदी तयारी अवस्थामा राखेको बताए।न्यूरोडमा रहेको बराह ज्वेलर्सले समेत तिहारका लागि ४५ किलो चाँदीका सिक्का र विभिन्न भाडाकुँडा बनाएर राखेको छ।

पसलका संचालक शिवकुमार लामिछानेका अनुसार मंगलबार मात्रै २२ किलो चाँदी बिक्री भइसक्यो।न्यूरोडमै रहेको आरके ज्वेलर्सले समेत २५ किलो चाँदी बिक्री गरिसकेको छ।पसलका संचालक राजेन्द्रकुमार शाक्यले तिहारमा ५० किलो सुन बिक्री गर्ने लक्ष्य राखेको बताए।उपभोक्ताले समेत त्यही जनविश्वासका आधारमा धनत्रयोदशीमा सुनचाँदीका सामान किन्न आएको बताए।धनत्रयोदशीका दिनमा सामान किने लक्ष्मी खुशी हुने भएकाले सुनको सिक्री किनेको उषा गुप्ताले बतार्इन्।बानेश्वरकी बबिता मल्लिकले नयाँ सडकमा रहेको हिराको फूली खरीद गरेको बतार्इन्।