स्मार्ट सिटी निर्माण गर्न डीपीआर बनाउने कम्पनी छनौट गरिँदै, चार शहरका लागि १७ कम्पनी

बिजमाण्डू
२०७४ कात्तिक १ गते ०९:५६ | Oct 18, 2017
स्मार्ट सिटी निर्माण गर्न डीपीआर बनाउने कम्पनी छनौट गरिँदै, चार शहरका लागि १७ कम्पनी
काठमाडौं। उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटीको  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि कम्पनी छनौंट अन्तिम चरणमा पुर्याएको छ। सरकारले चार स्मार्ट सिटीको डीपीआर निर्माणका लागि ग्लोवल टेन्डर आव्हान गरेको थियो।
 
उपत्यका विकास प्राधिकरणका शहरी योजनाकार भागवत खोखालीले सबैभन्दा ठूलो शहर इशानको लागि ६ वटा कम्पनी सर्ट लिस्टमा परेका छन् भने बाँकी रहेका तीन शहरका लागि ११ वटा कम्पनी सर्ट लिस्टमा परेका छन्।


 
यी कम्पनीहरुको प्राविधिक क्षमता,वित्तीय प्रस्ताव, काम गरेको अनुभव आदिका आधारमा सर्ट लिस्टमा परेका हुन्।
 
अब आर्थिक र प्राविधिक दुवै कुरालार्इ मध्यनजरमा राखेर कम्पनीहरु छनौट हुनेछन्। छनौटपछि कम्पनीहरुले डीपीआर निर्माण सुरु गर्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ। छनौट हुने कम्पनीले १८ महिनामा इशान तथा बाँकी तीन शहरको १५ महिनामा डीपीआर तयार गर्नुपर्ने छ।
 
डीपीआर निर्माण सम्पन्न भएपछि कस्तो खालका शहर बनाउन सकिन्छ भन्ने टुङगो लाग्ने भएकाले  कम्पनी छानेर काम अघि बढाउन प्राधिकरणले काम गरिरहेको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा. भार्इकाजी तिवारीले बताए। 
 
अहिले स्मार्ट सिटी निर्माणकै लागि १ लाख ३० हजार रोपनी क्षेत्रफलमा कित्ताकाट तथा भौतिक निर्माण गर्न रोक लगार्इएको छ। तर भुकम्प पिडितलार्इ घर बनाउन,दाजुभार्इका वीचमा अंशबण्डा, मोहियानी जग्गा बाँडफाँड, पहिले नै मुद्धा परेको अवस्थामा भने कित्ताकाट गर्न पाइने गरि खुकुलो बनाइएको छ। तर जग्गा कित्ताकाट गर्दा ८ आना दुवैतिर हुनुपर्ने प्राधिकरणकले जनाएको छ।

पहिलो स्मार्ट सिटी:काठमाडौं र्इशान(पुर्व-उत्तर)
यो उपत्यकामा निर्माण हुन लागेको पहिलो शहर हो। जसलार्इ काठमाडौं इशान नाम दिर्इएको छ। यो क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो शहर पनि हो। जुन १ लाख रोपनी क्षेत्रफलमा फैलने छ। 
 
पुर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेल कोट भन्ज्याङसम्म तथा पश्चिममा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानबाट मुलपानीको गोठाटार हुदै मनोहरा खोलाको पुलबाट भक्तपुर जाने बाटोसम्म फैलिनेछ। त्यसै गरि उत्तर दिशामा साँखु बजार तथा दक्षिणमा भक्तपुरको बाटोसम्म पुग्नेछ।
 
दोस्रो काठमाडौं आग्नेय (पुर्व-दक्षिण)
यो शहर काठमाडौको पुर्व-दक्षिण दिशामा पर्छ। त्यसैगरी १० हजार रोपनी क्षेत्रफलमा फैलने छ। पूर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि मन्दिरसम्म, सुर्यविनायक बनलार्इ बाहिर पार्दै शहर निर्माण हुनेछ।
 
पश्चिममा खहरेखोला, बालकोट विरुवासडक, पानी ट्याङकी अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग सिमानालार्इ छुनेछ। यो शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ।
 
दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट जंगलछेउ, अनन्त लिङगेश्वर, फेदी, तर्खगाल, पात्लेश्वर, विरुवा हुँदै खहरेसम्म पुग्नेछ।
 
तेस्रो काठमाडौ नैऋत्य (दक्षिण-पश्चिम)
१० हजार रोपनी क्षेत्रफलमा फैलने यो शहरको नाम काठमाडौ नैऋत्य राखिएको छ। यो ललितपुरलार्इ समेटेर निर्माण हुन्छ। पुर्वमा छ्यासिकोटदेखि साविकको संबु गाविसको सिमाना हुदै फर्सिडोल बागमती नदिको झोलुङगे पुलसम्म पुग्नेछ। 
 
त्यस्तै पश्चिममा बागमती नदिको सिमानासम्म तथा उत्तरमा सैबु गाविसको सिमाना नै छुनेछ। दक्षिणतर्फ भने बागमती नदिसम्म फैलने छ।  
 
चौथो नयाँ शहर:काठमाडौ उत्तर
काठमाडौ उत्तर नाम दिएको यो शहर पनि अन्य दुर्इ शहर जस्तै १० हजार रोपनी क्षेत्रफलमा नै फैलने छ। पुर्वमा सामाखुसी,टोखा,रोड हुदै बाइपास पुग्नेछ। पश्चिममा काभ्रेस्थली बार्इपास जाने मुल सडक जोडिनेछ। 
 
उत्तरमा सपनातिर्थ हुँदै काभ्रेस्थलीतिर जानेछ। दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुदै महादेवखोला काभ्रेस्थलीको मुल सडकको पुलसम्म पुग्नेछ।
 
यी शहरलार्इ सेवा सुविधाको विस्तार गरि स्मार्ट सिटीका रुपमा विस्तार गदै लैजाने उपत्यका विकास प्राधिकरणले जनाएको छ। त्यसै स्मार्ट सिटीको निर्माणपछि अव्यवस्थित बसोबासलाई ब्यवस्थित बन्ने प्राधिकरणले जनाएको छ। सरकारको दिगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म ५० वटा स्मार्ट सिटी निर्माण गर्ने योजना छ।

Tata
GBIME
Nepal Life