लक्ष्मी पूजाको अघिल्लो दिन भित्रिइन् शेयर लगानीकर्ताको घरमा लक्ष्मी, बजारमा ९ अंकको बृद्धि

बिजमाण्डू
२०७४ कात्तिक १ गते १५:३५ | Oct 18, 2017
लक्ष्मी पूजाको अघिल्लो दिन भित्रिइन् शेयर लगानीकर्ताको घरमा लक्ष्मी, बजारमा ९ अंकको बृद्धि


काठमाडौं । तिहार बिदा अघिको अन्तिम कारोबार दिनमा शेयर लगानीकर्ताको घरमा लक्ष्मी भित्रिएकी छिन्। बुधबार झन्डै १० अंकले शेयर बजार बढेपछि लगानीकर्ताले ‘शुभलाभ’ प्राप्त गरेका हुन्। 
 
कारोबारको सुरुवातमा ११ अंक घटेको बजारले अन्तिम आधा घन्टामा ९.१७ अंकको बढोत्तरी कायम गरेको हो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापन गर्ने सूचक बुधबार १५६८.३५ अंकमा उक्लिएको। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७६ अंकले बढेर ३३०.१०  अंकमा पुगेको छ। 
 
बुधबार १४५ कम्पनीका ११ लाख ११ हजार कित्ता शेयर ४३ करोड २५ लाख रुपैयाँमा खरिदबिक्री भयो। कारोबार रकम भने मंगलबारको तुलनामा झन्डै २० करोड रुपैयाँले खुम्चिएको हो। 
 
बार्षिक नबिकरण शुल्क नबुझाउने ४० कम्पनीको कारोबारमा आज नेप्सेले रोक लगाएको थियो। जसमा नियमित कारोबार गर्ने १६ कम्पनी पनि थिए। सोही कारण कारोबार रकम कम भएको एक ब्रोकरले जानकारी दिए।
 
बुधबार सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चार करोड ४० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिद बिक्रि भयो।
 
आज कारोबारमा आएका सबै उपसूचक बढेका छन्। बैंक ४.०९, ट्रेडिङ ६.३३, होटल ३.६९, विकास बैंक १४.४५, जलबिद्युत ११.७१, फाइनान्स ७.५३, बीमा ९७.४८, अन्य ९.२६ अंकले बढेका हुन्।
 
बुधबार सबैभन्दा बढी करिब ६ प्रतिशत ङादी ग्रुप पावर कम्पनीका शेयरधनीले कमाएका छन्। मंगलबारसम्म मूल्य बढेको बेस्ट फाइनान्सका शेयरधनीले करिब नौ प्रतिशत गुमाए।

Tata
GBIME
Nepal Life