कपडा किन्न भारतीयको भिड लाग्ने वीरगंजको निलाम्बरीको बिक्री स्वात्तै घट्यो, रक्सौल जाम मूल कारण

बिजमाण्डू
२०७४ कात्तिक २ गते १४:०७ | Oct 19, 2017
वीरगंज। वीरगंजको आदर्शनगर चोकमा रहेको निलाम्बरी फेन्सी पसलमा आजभोली भारतीय ग्राहकहरुको संख्या निकै घटेको छ। दुई वर्ष अघि सम्म भारतको रक्सौल, सुगौली, बेतिया, मोतिहारी, घोडासहन, लगायतका ठाउँबाट भारतीयहरु निलाम्बरीमा फेन्सी कपडा किन्न आउँथे।
 
अन्य काम विशेषले वीरगंज आएको बेला एक पटक निलाम्बरीमा पसेर कपडा किनेरै जान्थे। तर गत वर्ष देखि भारतीय ग्राहको संख्यामा निकै कमि आएको पसल सञ्चालक सुशिल अग्रवालले बताए।

Tata
GBIME
Nepal Life


 

"दशैं सकियो, तिहार पनि सकिन लाग्यो। फाटफुट भारतीय ग्राहक मात्रै आएका छन्," अग्रवालले भने- "रक्सौल नाकामा हुने सवारी जामका कारण भारतीय ग्राहक आउन चाहदैनन्।"
 
भारतीय ग्राहकले वीरगंजका अन्य पसलमा पनि किनमेल गर्न छोडीसकेका छन्। २०५८ साल देखि सञ्चालनमा आएको निलाम्बरीमा चाडबाडको बेला नेपालीभन्दा भारतीय ग्राहक धेरै आउँथे। अहिले अन्य पसलमा पनि भारतीय ग्राहक नआउनाले व्यवसायीले चिन्ता व्यक्त गरेको अग्रवाल बताउँछन्।
 
नाकालाई सहज नबनाए वीरगंजको व्यापारमा नकारात्मक प्रभाव पर्ने व्यावसायीहरु बताउँछन्।
 
दशैंको बेला स्थानीय चुनाव भएकाले घटेको व्यापार अहिले केहि वृद्धि भएको उनले बताए। दशैंको भन्दा त दोब्बर व्यापार भैरहेको छ। दशैंको बेला चुनावले गर्दा दैनिक एक लाख रुपैयाँसम्मको मात्र कारोबार हुने गरेकोमा अहिले दैनिक दुई लाख रुपैयाँ सम्मको कारोबार भैरहेको अग्रवालले बताए।