यसपालीको लक्ष्मी पूजा: यस्तो रह्यो कुलमानको धपेडी, पोहोरभन्दा सजिलै सर्वसाधारणको घर उज्यालियो

बिजमाण्डू
२०७४ कात्तिक ३ गते १०:३५ | Oct 20, 2017
यसपालीको लक्ष्मी पूजा: यस्तो रह्यो कुलमानको धपेडी, पोहोरभन्दा सजिलै सर्वसाधारणको घर उज्यालियो


काठमाडौ‌ै । बिहीबार मुलुकमा लोडसेडिङ अन्त्य भएको एक बर्ष पुग्दै थियो। २०७३ सालको लक्ष्मी पूजाको दिनबाट भएको लोडसेडिङ अन्त्यको बार्षिकीको खुसीयालीसँगै नेपाल विद्युत प्राधिकरणसँग चुनौती पनि थियो- यस बर्षको लक्ष्मी पूजा पनि गत बर्ष जस्तै उज्यालो बनाउने। 
 

Tata
GBIME
Nepal Life
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहित उच्च अधिकारी केही दिन देखि नै यसको गृहकार्यमा थिए। लक्ष्मी पूजाको दिन उद्योग करकारखाना नचल्ने हुँदा बढीमा १२ सय मेगावाट बिजुली खपत हुने प्राधिकरणको प्रक्षेपण थियो। त्यही अनुरुप साढे १२ सय मेगावाट बिजुली जोहो प्राधिकरण अधिकारीले गरेका थिए। 
 
कार्यकारी निर्देशक घिसिङ बिहीबार दिउँसै देखि स्युचाटार स्थित प्राधिकरणको भार प्रेषण केन्द्रमा बसेर लोड व्यवस्थापनमा प्रत्यक्ष सहभागी हुने तरखरमा थिए। तर दिउँसो १२ बजे तिर अचानक उनलाई फोन आयो- भक्तपुर सब स्टेसनका दुई वटा ट्रान्सफर्मरमा आगो लाग्यो। भक्तपुर जिल्ला नै अँध्यारो हुन पुग्यो। 

घिसिङ प्रवक्ता प्रवल अधिकारी समेतलाई लिएर हतार हतार भक्तपुर हान्निए। साँझसम्ममा जसरी पनि भक्तपुरमा उज्यालो फर्काउने एक मात्र मिसन बनाएर मर्मत कार्यको नेतृत्व गरे। ट्रान्सफरमर मर्मतका लागि खोलेपछि थाहा भयो- भित्र मुसा पो छिरेको रहेछ। मुसा निकालेर मर्मत सुरु भयो।
 
साँझ साढे ५ बजेसम्ममा एउटा ट्रान्सफरमर बन्यो। भक्तपुर बजार क्षेत्रमा त बत्ती बल्यो। तर ग्रामीण भेग अँध्यारै रह्यो।

७ बजेसम्ममा दोस्रो ट्रान्सफरमर पनि बन्यो। बल्ल भक्तपुर पुरै उज्यालो भयो। 

 
***

प्राधिकरणको भार प्रेषण केन्द्र प्रमुख विष्णुप्रसाद श्रेष्ठ सहित उच्च अधिकारीको टोली दिउँसै स्युचाटार स्थित कार्यालय पुगि सकेको थियो। साँझ साढे
पाँच बजे पछि लोड विस्तारै उकालो लाग्यो। साढे १२ सय मेगावाटसम्मको लोड धान्न कठिन नहुने गरि तयारी गरिएको थियो। 


 

त्यस अनुरुप निजी क्षेत्रका सबै परियोजना पुर्ण क्षमतामा चलेका थिए। प्राधिकरणका पनि कालीगण्डकी ए, मर्स्याङ्दी लगायत सबै आयोजना चालु थिए। हेटौँडा स्थित १० मेगावाटको डिजेल प्लान्ट पनि चलाइएको थियो। भारतबाट ४५० मेगावाटसम्म आयात गर्ने गरि तयारी गरिएको थियो। 


 

भार प्रेषण केन्द्रको सिष्टममा लोड बढ्दै गएर साढे छ बजे ११ सय ४१ मेगावाट पुग्यो। त्यतिन्जेल भक्तपुरमा १५ मेगावाट मात्र बिजुली खपत थियो। एउटा ट्रान्सफरमर बनि नसकेकोले थप १५ मेगावाट चालु हुन सकेको थिएन। देशभरबाट केन्द्रमा खवर आइ रहेको थियो- कतै पनि लोडसेडिङ गर्नु परेको छैन।


 

साढे ६ बजे देखि एक घण्टासम्म लोड ११ सय मेगावाट माथि नै रह्यो। त्यती हुँदा प्राधिकरण र निजी क्षेत्रका सबै आयोजना सञ्चालन गरिए पनि कुलेखानी एक तिहाइ बढि बचत नै भयो। ९२ मेगावाटको जलाशय युक्त आयोजना माग अधिकतम हुँदा ५७ मेगावाटसम्म मात्र चलाउनु पर्यो। त्यस बाहेक भारतबाट पनि ४०० मेगावाटभन्दा कम नै बिजुली ल्याउँदा पुग्यो। गत बर्ष कुलेखानी पूर्ण क्षमतामा चलाउनु परेको थियो। 'पोहोरभन्दा यसपालीको व्यवस्थापन सहज भयो, प्राधिकरणका प्रवक्ता अधिकारीले भने- एक बर्षमा हाम्रो सिष्टम धेरै सबल भइ सकेछ।'


 

थप सय मेगावाट बिजुली उपलब्ध गराउन सक्ने अवस्थामै उच्चतम माग पुगेको केन्द्रका प्रमुख श्रेष्ठले बताए। बुधबार औद्योगिक फिडरको बिजुली पनि प्राधिकरणले काटेको थिएन। 'ठूला मेसिन नचालाउन अनुरोध गरेका थियौँ, उनले भने- उद्योगमा बत्ती बाल्न अवरोध नहोस् भनेर बिजुली भने काटेनौँ।' 

त्यस बाहेक प्राधिकरणले होटलहरुलाई पनि लक्ष्मी पूजाको समयमा जेनेरेटर चलाइ दिन अनुरोध गरेको थियो। साथै आम उपभोक्तालाई पनि धेरै बिजुली खपत गर्ने उपकरण नचलाउन भनेको थियो। आफुहरुको अनुरोधलाई सबैले स्वीकारेर सहयोग गर्दा लोड व्यवस्थापन सहज भएको उनले बताए। उद्योग लगायत सबैले पूर्ण क्षमतामा बिजुली उपयोग गरेको भए बुधबारको माग १५ सय मेगावाट पुग्ने उनले जानकारी दिए। 
 

*** 

भक्तपुरमा उज्यालो फर्काए पछि साढे ८ बजेतिर कार्यकारी निर्देशक घिसिङ भारप्रेषण केन्द्र पुगे। कर्मचारीबाट बिजुली व्यवस्थापनको ब्रिफिङ लिए। देशभर सबैलाई उज्यालो दिन सफल भएकोमा कर्मचारीलाई बधाई दिए। राती सवा ९ बजे, लोड हजार मेगावाट हाराहारीमा झरि सकेको थियो।

बिजमाण्डू टीम भारप्रेषण केन्द्रबाट फर्कँदा पनि घिसिङ सहित अधिकारी केन्द्रमै थिए। 'आम नेपालीले खुसी भएर लक्ष्मी पूजा गर्न पाउनु नै हाम्रो सबैभन्दा ठूलो आनन्द हो' घिसिङले भने। 

तश्वीरहरु- समर्थ रञ्जित/बिजमाण्डू