आर्थिक नगरी वीरगंजमा दिपावलीको रौनक, शान्ति बहालीसँगै बाहिर गएर तिहार मनाउने चलन हट्यो

बिजमाण्डू
२०७४ कात्तिक ३ गते १३:०० | Oct 20, 2017
वीरगंज । वीरगंजवासीले दीपावली मनाउने संस्कार फेरिदै गएको  छ। दुई वर्ष अघिसम्म वीरगंज बाहिर गएर तिहार (दीपावली) मनाउने चलन थियो। गतवर्ष देखि त्यो परम्परा तोडिएको हो। 
 
अहिले सबैले वीरगंजकै आदर्शनगरमा आयोजना हुने दीपावली उत्सव–मेलामा मनोरञ्जन गरी दीपावली मनाउने गर्न थालेका छन्। आदर्शनगर ग्रीन सिटी वीरगंज नामक संस्थाले गत वर्ष देखि मेला आयोजन गर्न थालेपछि वीरगंजबासीको तिहार मनाउन बाहिर जाने चलन तोडिएको हो। यस्तो उत्सवले पटाखा र जुवा ताज जस्ता विकृतिलाई पनि कम गरेको नगरवासी बताउँछन् ।

Tata
GBIME
Nepal Life


 

‘पहिले वीरगंजवासीले अन्तै गएर चार्डपर्व मनाउने वातावरण थियो ,जसले समय र पैसा धेरै खर्च हुन्थ्यो,’ ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले भने– ‘वीरगंजमै मेला आयोजना हुन थालेपछि सहज हुनुका साथै चार्डपर्वमा उल्लास थपेको छ।’


 

मधेस आन्दोलन र नाकाबन्दीले पनि कतिपय मारवाडी परिवारसँगै पहाडी र मधेसी समुदाय समेत हेटौँडा ,नारायणगढ ,पोखरा ,काठमाडौँ गएर चाड मनाउने चलन बढदै गएको थियो। मेलाले अब वीरगंज सुरक्षित र शान्त छ भन्ने सन्देश समेत दिएको खेतानको भनाइ छ। यस्ता सकारात्मक गतिविधीबाट वीरगंजलाई बाहिरी पर्यटकको गन्तव्यको केन्द्रको रुपमा विकास गर्दै लग्नु पर्ने उनको भनाइ छ। वीरगंजमा शान्ति फर्किएसँगै आफ्नै पसल तथा घरमा लक्ष्मी पुजा गर्न पाएर मारबाडी समुदाय एवं व्यापारी पनि खुसी छन्। मुलुककै प्रमुख आर्थिक नगरीका व्यापारीहरुले लक्ष्मी पूजा विशेष रुपले मनाएको व्यवसायी मुरली जलानले बताए।


 

मेलामा सहभागी हुन वीरगंज महानगरका मेयर विजय सरावगी, माओवादी नेता तथा मेयरका उम्मदेवार रहबर अन्सारी समेत पुगेर नगरवासीलाई शुभकामना व्यक्त गरेका थिए। मेलामा सर्वसाधारणको भिडले माइस्थान –होटल मकालु सडकखण्ड केही बेर ठप्पनै बनेको थियो। मेलामा सहभागीले बाल बच्चा देखि घरमा पालिएको कुकुरसमेतलाई लिएर आएका थिए।