एनआइसीसहित अन्य ६ बैंकको स्विफ्ट ह्याक, गत बर्ष बंगलादेशको ‘स्टाइल’ मा भयो रकम चोरी

बिजमाण्डू
२०७४ कात्तिक ६ गते १०:५८ | Oct 23, 2017
एनआइसीसहित अन्य ६ बैंकको स्विफ्ट ह्याक, गत बर्ष बंगलादेशको ‘स्टाइल’ मा भयो रकम चोरी
काठमाडौं। एनआइसी एसिया बैंकको स्विफ्ट नेटवर्क ह्याक गरेर जापानसहित ६ वटा देशका बैंकमा रकम स्थानान्तरण गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। गत बर्ष बंगलादेशको एक बैकबाट पनि यसैगरी स्विफ्ट ह्याक गरेर  रकम स्थानान्तरण गरिएको थियो।
 
एनआइसी एसियाको स्विफ्ट ह्याक गरेर स्थानान्तरण गरिएको भनिएका बैंकहरुमा राष्ट्र बैंक र एनआइसीले भुक्तानी रोक्न पत्राचार गरिसकेका छन्। यसमध्ये कतिपयले रकम भुक्तानी भइसकेको जनाएका छन् भने केहीले स्थानान्तरण गर्न दिएको निर्देशनलाई स्थगित गरिदिएका छन्।
 
'राष्ट्र बैंक र एनआइसी एसिया दुबैबाट रकम स्थानान्तरण गर्न ह्याकरले दिएको निर्देशन कार्यान्वयन नगर्न निर्देशन दिइसकेका छौं' राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बिजमाण्डूसँग भने, 'भरेसम्मका के कति रकम स्थानान्तरण भइसक्यो भन्ने यकिन विवरण आउँछ।'
 
राष्ट्र बैंक स्रोतका अनुसार एनआइसी एसियासँगै अन्य ६ वटा बैंकको स्विफ्ट पनि ह्याक भएको आशंका छ। यद्यपी बाँकी बैंकले यस बारेमा राष्ट्र बैंकलाई जानकारी दिइसकेका छैनन्।
 
राष्ट्र बैंकले ह्याकरले रकम स्थानान्तरण गरेको बारे अनुसन्धान गर्न आफ्नो टोली एनआइसी एसिया पठाइसकेको छ। हली तिहारका दिन स्फिट ह्याक गरिएको थियो।
 
तिहारको बिदाका कारण स्वीफ्टमा के भइरहेको छ भन्ने यकिन भएन। आइतबार विदेशी बैंकहरु बन्द हुने भएकाले ह्याकरले दिएको निर्देशन कार्यान्वयन नगर्न गरिएको अनुरोध पूर्ण रुपमा कार्यान्वयन भएन। यही कारण एनआइसी एसियाबाट बाहिरिएको रकममध्ये के कति भुक्तानी गरियो भन्ने यकिन हुन सकेको छैन।
 
गत बर्ष बंगलादेशमा पनि यसैगरी बैंकिङ ठगी भएको थियो। फेब्रुअरी २०१६ मा न्यूयोर्कको फेडरल बैंकबाट ८ करोड १० लाख डलरको चोरी भएको थियो।
 
न्यूयोर्क फेडरल बैंकमा बंगलादेशको बैंकबाट रकम फिलिपिनी नागरिकको खातामा रकम जम्मा भएको थियो। यो चोरी पनि स्विफ्ट सिस्टममा अनधिकृत रुपमा इन्टरनेशनल बैंक एक्सेस कोडको प्रयोग गरी गरिएको थियो। यो चोरी उत्तर कोरियाबाट गरिएको भन्ने अमेरिकीहरुले आरोप लगाएका थिए।

Tata
GBIME
Nepal Life