गभर्नर नेपालको अदालतमा एकथोक बयान, निर्णय अर्कै: ३० बर्षे नहटाउन यस्तो दिएका थिए तर्क

बिजमाण्डू
२०७४ कात्तिक ८ गते १४:५७ | Oct 25, 2017
गभर्नर नेपालको अदालतमा एकथोक बयान, निर्णय अर्कै: ३० बर्षे नहटाउन यस्तो दिएका थिए तर्क
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले सञ्चालक समितिबाट ३० बर्षे सेवा अविध हटाउने प्रस्ताव पारित गराएपनि अदालतमा उक्त प्रावधानको पक्षमा दर्जनौँ तर्क पेश गरेको रहस्योद्घाटन भएको छ। 
 
अनिवार्य अवकाश सम्बन्धि विद्यमान व्यवस्थामा गरिने परिवर्तनले संस्था भित्रको रक्तसञ्चार प्रणालीको रुपमा रहेको कर्मचारी नियुक्तीदेखि अवकाशसम्मको प्रकृया अवरुद्ध हुन गई आधुनिक शिक्षाका विभिन्न अवयवबाट प्रशिक्षित व्यक्तिहरु बैंक भित्र प्रवेश गर्ने ढोका साँघुरो हुन जाने र यसले समग्र बैंकको प्रभावकारीतामा समेत नकारात्मक असर पर्छ।

सरकारले सुरु गरेको वित्तिय क्षेत्र सुधार प्राविधिक सेवा परियोजना अन्तर्गत नेपाल राष्ट्र बैंकको रि-इन्जिनियरिङ गर्न धेरै ठूलो रकम खर्च भएको छ। यस कार्यक्रममा बैंकको कर्मचारी संख्या करिब हजार जनामा सिमित गर्नुपर्ने प्रतिवद्धता अनुसार कर्मचारीको अधिकतम सेवा अवधि ३० बर्ष र उमेर हद ५८ बर्ष कायम गरिएको हो।
साढे दुई बर्षअघि अदालतमा दिएको लिखित बयान बिपरित गभर्नर नेपालले हालै ३० बर्षे सेवा अवधि हटाउने निर्णय गरेर स्वीकृतिका लागि लोक सेवा आयोग पठाएका छन्। ८०० कर्मचारी विरोधमा रहेका बेला ३०० जनाको पक्षमा उनले निर्णय गरेका छन्। 
 
केही पहुँचवाला कर्मचारीको पक्षमा डा. नेपालले अदालतमा दिएको बयान विपरित ३० बर्षे हटाउने निर्णय गरेका हुन्। उनले लोकसेवाबाट स्वीकृति लिनका लागि दैनिक लबिङ गरिरहेका छन्। केन्द्रीय बैंकमा कर्मचारीले आफ्नो कार्यकक्ष घराउ गर्ने समयमा उनी लोकसेवा आयोगको अनामनगर कार्यालयमा आयुक्तहरुलाई भेट्ने गरेका छन्। 
 
२०७१ साल चैतमा सर्बोच्च अदालतमा परेको मुद्दामा जवाफ दिँदै गभर्नर नेपालले ३० बर्षे सेवा अवधि बैंकका लागि अपरिहार्य रहेको उल्लेख गरेका थिए। ३० बर्षे सेवा अवधिको प्रावधानले निवृत्त हुन लागेका १६ जना राष्ट्र बैंक कर्मचारीले कर्मचारी विनियमावली संशोधन माग गरि सर्बोच्चमा मुद्दा दायर गरेका थिए। त्यसमा गभर्नर नेपालले वारेस मार्फत जवाफ दिएका थिए।
 
 
गभर्नरले ३० बर्षे सेवा अवधि हटाउन नमिल्ने भन्दै गरेका प्रमुख दर्जन तर्क:
१) वित्तिय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनको सिलसिलामा बैंकको अनावश्यक र अनुत्पादक जनशक्तीलाई विदा गरि बैंकको जनशक्ति ठिक आकारमा ल्याइ बैंकको कार्यसम्पादन चुस्त, दुरुस्त, दक्ष र प्रभावकारी बनाउने उध्येश्यले नेपाल राष्ट्र बैंक ऐन २०५८ को भावना अनुसार स्वैच्छिक अवकास योजना (भिआरएस) लागु गरियो। तर, त्यसबाट पनि बैंकले परिलक्षित गरे अनुरुप जनशक्ति व्यवस्थापन हुन नसकेपछि ३० बर्षे सेवा अवधि लागु गरिएको हो।
 
२) कर्मचारी विनियमावली २०६२ जारी भइ सकेपछि (२०७१ चैतसम्म)  ३० बर्षे सेवा अवधिको प्रावधान अनुरुप ३४१ जना कर्मचारी निवृत्त भइसकेका छन्। त्यसरी निवृत्त भएर रिक्त पदमा मुद्दा दायर गर्ने (३० बर्षे सेवा अवधि हटाउन चाहने) कर्मचारी समेत बढुवा भइ फाइदा लिएको अवस्थामा अदालत जाँदा सफा हात लिनु पर्ने सर्वमान्य सिद्धान्तकै बर्खिलाप भएको छ। आफुले पटक पटक लाभ प्राप्त गरिसकेपछि त्यसको विरुद्धमा कुरा उठाउनु न्यायसंगत होइन।
 
३) नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली २०६८ को अनिवार्य अवकाश सम्बन्धि व्यवस्था अध्ययन तथा सुझाव समितिको प्रतिवेदन २०७१ ले ३० बर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश दिने व्यवस्थालाई हटाउन पर्ने सिफारिस गरेको पाइँदैन।
 
 
४) नेपाल राष्ट्र बैंकले विगत १० बर्ष देखि कुनै तह र पदमा रहेका कर्मचारीहरुलाई विना भेदभाव समान रुपले लागु गर्दै आएको अनिवार्य अवकाश सम्बन्धि व्यवस्थाको आधारमा अवकाशको समय आएको अवस्थामा विना आधार केवल हचुवाका तर्कहरु खडा गरि अस्थिर भेदभाव पूर्ण व्यवस्था लागु गरेको भन्ने आरोप लगाइ दायर भएको विपक्षिको रिट निवेदन खारेज भागी छ।
 
५) मौद्रिक नीति, विदेशी विनिमय नीति, बैंकिङ प्रणालीको स्थायित्व तथा विकास लगायत प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा देशको आर्थिक प्रणालीसँग सरोकार रहेको केन्द्रिय बैंकको उद्देश्य, लक्ष र कार्य प्रकृति अन्य निकाय एवं संघ संस्था भन्दा फरक रहेको हुनाले यसमा कार्यरत कर्मचारीको सेवाका सर्त पनि अन्य निकायको जस्तै हुनुपर्छ भन्ने तर्क औचित्यहिन एवं अप्रसाँगिक रहेको छ।
 
६) नेपाल राष्ट्र बैंकलाई ‘पेपरलेस’ तथा अटोमेसनमा लैजाने लक्ष्य अनुरुप हाल जिएल सिष्टम, एचआरएमआइएसएस, लिबिन्फो, सिपिइ आदिको प्रयोग गरिँदै आएको छ। यी सफ्टवेयर प्रयोगकर्ता कर्मचारीको अनुपात हेर्दा नयाँ जनशक्तिको अनुपातको ८० प्रतिशत तथा पुराना जनशक्तिको २० प्रतिशत रहेको छ। यसरी संस्थाको उत्पादकत्व वृद्धिको लागि पुराना भन्दा नयाँ जनशक्तिको योगदान स्वाभाविक रुपमा अत्यधिक हुने गरको देखिन्छ। 
 
७) अनिवार्य अवकास सम्बन्धी विद्यमान व्यवस्थाका कारण बैंकमा हरेक बर्ष नयाँ जनशक्तिको प्रवेश भइ रहेको छ। यसरी खुल्ला प्रतिश्पर्धाबाट छानिएका जनशक्तिले नै भावी दिनमा मुलुकको केन्द्रिय बैंकलाई प्रभावकारी रुपमा नेतृत्व प्रदान गर्न सक्छन्।
 
८) अनिवार्य अवकाश सम्बन्धि विद्यमान व्यवस्थामा गरिने परिवर्तनले संस्था भित्रको रक्तसञ्चार प्रणालीको रुपमा रहेको कर्मचारी नियुक्ती देखि अवकाशसम्मको प्रकृया अवरुद्ध हुन गई आधुनिक शिक्षाका विभिन्न अवयवबाट प्रशिक्षित व्यक्तिहरु बैंक भित्र प्रवेश गर्ने ढोका साँघुरो हुन जाने र यसले समग्र बैंकको प्रभावकारीतामा समेत नकारात्मक असर पर्छ।
 
९) यस बैंकले बिभिन्न समयमा आन्तरिक रुपमा गरेका अध्ययनहरुले बैंकमा ओभर स्टाफिङ रहेको तथ्यलाई औँल्याइएको तथा सोलाई उपयुक्त संख्यामा ल्याउन पर्ने सुझाव दिएको देखिन्छ। यी अध्ययन र प्रतिवेदनका आधारमा समेत बैंकले संस्थाको निहित उद्देश्य, लक्ष, योजना, रणनीति एवं आवश्यकताको आधारमा कर्मचारी सेवा सर्तको निर्धारण गरिएको हो।
 
१०) सरकारले सुरु गरेको वित्तिय क्षेत्र सुधार प्राविधिक सेवा परियोजना अन्तर्गत नेपाल राष्ट्र बैंकको रि-इन्जिनियरिङ गर्न धेरै ठूलो रकम खर्च भएको छ। यस कार्यक्रममा बैंकको कर्मचारी संख्या करिब हजार जनामा सिमित गर्नुपर्ने प्रतिवद्धता अनुसार कर्मचारीको अधिकतम सेवा अवधि ३० बर्ष र उमेर हद ५८ बर्ष कायम गरिएको हो।
 
११) पहिलो चरणको वित्तिय क्षेत्र सुधार कार्यक्रमको अवधि समाप्त भएपनि नेपाल सरकारले विश्व बैंक र डिएफआईडीको सहयोगमा डेभलपमेन्ट पोलिसी क्रेडिट लिइ वित्तिय सबलीकरणका कार्यक्रमलाई निरन्तरता दिएको छ। यसको प्रत्यक्ष प्रभाव हाल नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकमा कायमै छ। राष्ट्र बैंकले अवकाश सम्बन्धि विद्यमान व्यवस्था परिवर्तन गर्दा ती संस्थामा समेत सोही बमोजिमको दवाव पर्ने र फलस्वरुप वित्तिय क्षेत्र सुधारका समग्र कार्यक्रमहरुमा समेत अवरोध उत्पन्न भइ समग्र वित्तिय स्थायीत्वमै संकट पैदा हुन सक्छ।
 
१२) बैंकको तात्कालिन कर्मचारी नियमावली २०४९ देखि निरन्तर रुपमा रहेको पदावधिको आधारमा अनिवार्य अवकास हुने व्यवस्थालाई केही व्यक्तिहरुले असाधारण विदा लगायतका उपायहरु प्रयोग गरी आफ्नो अवधी बढाउने गरेको पाइएकाले त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गरी बैंकको जिम्मेवार तहमा कार्यरत रहेको व्यक्तिले जिम्मेवारपूर्ण व्यवहार गरुन् भन्ने उद्देश्यले यो व्यवस्था कायमै राखिएको हो।

Tata
GBIME
Nepal Life

यस्तो छ बयान