छिमेकीले अदुवा कुहिएर फ्याँक्नु परिरहेका बेला उषाको ‘भ्यालुएड बिजिनेस’, मासिक डेढ लाख कमाइ

रासस
२०७४ कात्तिक ११ गते १३:५५ | Oct 28, 2017
छिमेकीले अदुवा कुहिएर फ्याँक्नु परिरहेका बेला उषाको ‘भ्यालुएड बिजिनेस’, मासिक डेढ लाख कमाइ
इलाम। भनेजस्तो मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिँदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँकी एक महिलाले लाखौँ आम्दानी गरिरहेकी छन्।
 
इलाम नगरपालिका–७ की उषा निरौलाले अदुवाको विभिन्न परिकार बनाई बिक्री गरी लाखौँ आम्दानी गरिरहेकी हुन्। उनले अदुवा प्रशोधनबाटै आफ्नो परिवार मात्रै पालेकी छैनन् नगरपालिकाभित्रै जग्गा किनेर सामान्य घरसमेत बनाएकी छिन्। छोरीलाई काठमाडौँ राखेरसमेत पढाइरहेकी छिन्। 
 
विसं २०६८ देखि सामान्य तालीम लिएर अदुवा प्रशोधन थालेकी निरौलाले अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउँछिन्। अदुवाबाट विभिन्न परिकार बनाएर जीवन चलाउँदै प्रशोधन केन्द्रमै मात्रै मासिक पाँच क्विन्टल खपत हुने गरेको उनले जानकारी दिइन्। 
 
'प्रशोधन केन्द्रमा पाँच क्विन्टल अदुवा खपत हुन्छ। यो सबै अदुवा अग्र्यानिक मात्रै ल्याउने गरेकी छु' उनले भनिन्। निरौलाले वार्षिक ४५ लाख बराबरको अदुवाको परिवार बिक्री गरेर १८ लाख नाफा गर्छिन्।
 
'व्यावसायिक रूपले खेती गर्ने ठूला किसानले रासायनिक विषादीको प्रयोग गर्छन्' उनले भनिन्, 'त्यही भएर साना किसानबाट मात्रै अदुवा किन्छु।' विभिन्न समस्याले गर्दा शुरुवाती समयमा अनावश्यक झण्झट खेपेकी निरौलाले व्यवसाय बढेसँगै आम्दानी मात्र नभई प्रशंसा पनि बटुल्न थालेकी छिन्। 
 
अकबरे, अमलाबाट पनि परिकार बनाउने गरेकी निरौलाको मुख्य उद्यम भने अदुवाकै परिकार हुने गरेका छन्। जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

Tata
GBIME
Nepal Life