सुको लाभांश नखुवाउने कम्पनीको पनि बजार मूल्य १६ हजारसम्म, प्रतिफल पाउन कति कुर्ने?



बिजमाण्डू
२०७४ कात्तिक १२ गते १७:११ | Oct 29, 2017
सुको लाभांश नखुवाउने कम्पनीको पनि बजार मूल्य १६ हजारसम्म, प्रतिफल पाउन कति कुर्ने?
काठमाडौं। दोस्रो बजारमा सूचिकृत झन्डै डेढ दर्जन कम्पनीले पाँच बर्ष यता शेयरधनीलाई कुनै लाभांश दिएका छैनन्। यसमा धेरै जसो फाइनान्स कम्पनी छन्।
 
प्रति शेयर १६ हजार रुपैयाँ बढि मूल्य भएको राष्ट्रिय बीमा कम्पनी सहित १६ कम्पनीले पाँच बर्ष यता कुनै लाभांश खुवाउन नसकेका हुन्। सूचीमा दुई हजार रुपैयाँ माथि मूल्य भएको विशाल बजार कम्पनी समेत छ। 

Tata
GBIME
Nepal Life


 

लाभांश नखुवाउने प्रमुख कम्पनीहरु
नेशनल हाइड्रोपावर 
नेप्सेमा लामो समय देखि सूचिकृत रहे पनि नेशनल हाइड्रोले आफ्ना लागानी कर्तालार्इ कुनै पनि लाभांस दिन सकेको छैन। सधैँ विवादको भूमरीमा रहने कम्पनी बारे अनेक हल्लाले नै बजारमा समय समयमा उतार चढाव आउने गरेको देखिन्छ। कम्पनीको गत साउन ३१ गते सभारणसभा हुन भन्दा अगाडी बजारमा धेरै कारोबार भयो। त्यसबेला चाइनिज कम्पनीले नेशनल हाइड्रो किन्ने हल्ला चलाइएको थियो। गत बिहीबार यो कम्पनीको शेयर प्रतिकित्ता १२७ रुपैयाँको दरमा कारोबार भएको छ। आर्थिक बर्ष २०७३/७४ सम्मको विवरण अनुसार यो कम्पनीले छ करोड १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। कम्पनीको चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष ४३ करोड ५४ लाख रुपैयाँ ऋणात्मक छ।
 
अरुण फाइनान्स 
१५० रुपैयाँ हाराहारीमा प्रतिकित्ता शेयर कारोबार भइ रहेको अरुण फाइनान्सले पनि पछिल्ला पाँच बर्षमा शेयरधनीलार्इ कुनै लाभांस दिएको छैन। गत एक बर्षको बिचमा ९८ रुपैयाँ देखि २३१ रुपैयाँको विचमा को कम्पनीको कारोबार भएको छ। गत बर्ष फाइनान्सले १०० प्रतिशत हकप्रद जारी गरेको थियो। फाइनान्सले गत असारसम्ममा एक करोड ४६ लाख रुपैयाँ मुनाफा गरेको थियो। तथापी कम्पनीको जगेडा कोष १३ करोड ९२ लाख रुपैयाँले ऋणात्मक छ। हकप्रद जारी पछि फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुगेको छ। 
 
बेष्ट फाइनान्स
लामो समय राष्ट्र बैंकको समस्याग्रस्त सूचीमा रहेको जनरल फाइनान्समा नयाँ लगानीकर्ताको प्रवेशसँगै हालै बेष्ट फाइनान्समा रुपान्तरित भएको हो। कम्पनीले आफ्ना लगानीकर्तालार्इ आर्थिक बर्ष २०६७/६८ मा २० प्रतिशत बोनस शेयर दिए यता कुनै पनि लाभांस खुवाउन सकेको छैन। फाइनान्सले हाल १२५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। हकप्रदकै कारण कम्पनीको शेयर मूल्य बढेर गत बर्ष १६७ रुपैयाँसम्म पुगेको थियो।
 
कुवेर मर्चेन्ट फाइनान्स 
कुवेर मर्चेन्टलार्इ नेपाल राष्ट्र बैंकले २०६९ मा समस्याग्रस्त घोषणा गरेको थियो। गत भदौ ४ गते सम्पन्न फाइनान्सको चौथो साधारणसभाले सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स नामाकरण निर्णय गरि सकेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफर ग्रुपले लगानी गरेपछि कम्पनीलाई राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट बाहिर निकालेको हो। पछिल्लो एक बर्षमा कम्पनीको शेयर मूल्य ५५ रुपैयाँ देखि २८० रुपैयाँसम्म पुगेको छ। पछिल्लो कारोबार १७० रुपैयाँ हाराहारी हुँदै आएको छ।
 
ललितपुर फाइनान्स 
नेपाल राष्ट्र बैंकको समस्याग्रस्त सूचीमा रहेको फाइनान्सको जगेडा कोष समेत ऋणात्मक छ। गत आर्थिक वर्षबाट केही सुधार देखिएको कम्पनी अहिले समस्याग्रस्त सूचीबाट बाहिर निस्किने प्रकृयामा छ। गत बर्ष फाइनान्सले १२ करोड ५३ लाख रुपैयाँ मुनाफा गरेको थियो। फाइनान्सको चुक्ता पूँजी १८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १० करोड ५० लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत आर्थिक बर्षमा ३४ दिन मात्र कारोबार भएको फाइनान्सको शेयर मूल्य १६१ देखि २५१ रुपैयाँसम्म पुगेको थियो। फाइनान्सले शत प्रतिशत हकप्रद शेयर बिक्रीका लागि अनुमति पाइसकेको छ। 
 
प्रोग्रेसिभ फाइनान्स 
यो फाइनान्सले पनि लगानीकर्तालार्इ लामो समय देखि प्रतिफल दिन सकेको छैन। एक बर्षको अबधिमा कम्पनीको शेयर मूल्य १४७ रुपैयाँ देखि २६७ रुपैयाँसम्म पुगेको थियो। पछिल्लो कारोबार २४० रुपैयाँ हाराहारीमा भइ रहेको छ। फाइनान्सले गत आर्थिक बर्षमा एक करोड ४० लाख रुपैयाँ नाफा गरेको छ। 
 
वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स 
लागानीकर्तालार्इ प्रतिफल नदिने कम्पनी सूचीमा वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स पनि छ। बाणिज्य बैंक बन्ने महत्वाकांक्षी योजना सहित चुक्ता पूँजी बृद्धि गरेको कम्पनी पछि समस्याग्रस्त बनेको थियो। गत एक बर्षको अवधिमा फाइनान्सको शेयर ९४ रुपैयाँ देखि १८७ रुपैयाँसम्म कारोबार भएको छ। फाइनान्सले गत असार ३१ गते एकै दिन पाँच वटा सधारणसभा सम्पन्न गरेको थियो। 
 
तारागाउँ रिजेन्सी होटल 
राजधानीकै ख्यातिप्राप्त होटल हायात सञ्चालन गरे पनि कम्पनीले लाभांश वितरण गर्न सकेको छैन। नियमित वित्तीय विवरण प्रकाशन गर्दै आएको कम्पनीको शेयर मूल्य गत एक बर्षमा १८७ रुपैयाँ देखि ३३१ रुपैयाँसम्म पुगेको थियो। होटलले गत आर्थिक बर्षमा २८ करोड आठ लाख रुपैयाँ नाफा गरेको थियो। होटलको चुक्ता पूँजी एक अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० हजार रुपैयाँ मात्र छ। द्वन्दका कारण लामो समय घाटामा गएको कम्पनी विस्तारै नाफामा जान थालेको हो।
 
याक एण्ड यती होटल 
यो होटलले सूचीकरण खारेजीका लागि नेपाल स्टक एक्सचेञ्जमा निवेदन दिएको छ। सबै शेयर कम्पनीका प्रवर्धकहरुसँग मात्र रहेको हुँदा सूचीकरण खारेज गर्न खोजेको कम्पनीको भनाइ छ। यो कम्पनीको सन् २००५ देखि कारोबार भएको छैन। 
 
श्रीराम सुगर मिल 
उत्पादन तथा प्रसोधन समूह अन्तर्गत पर्ने यो कम्पनी लामो समय निष्कृय थियो। कम्पनीले हालै नविकरण शुल्क बुझाएर पुनः कारोबार खुलाएको हो। कम्पनीको पछिल्लो कारोबार प्रति शेयर १२० रुपैयाँ हाराहारीमा भएको थियो। सुगर मिलको चुक्ता पूँजी ३० करोड ४५ लाख रुपैयाँ रहेको छ। 
 
विशाल बजार कम्पनी 
शेयर बजारमा धेरै लामो समयसम्म कारोबार नभएको बिशाल बजारले पनि लगानीकर्तालाई लाभांश दिन सकेको छैन। दुई हजार रुपैयाँ माथि शेयर मूल्य रहेको यो कम्पनीको आन्तरिक विवादका लामो समय साधारणसभा समेत हुन सकेको थिएन। 
 
एनबी इन्स्योरेन्स कम्पनी 
धेरै समय समस्यामा रहेको कम्पनीले पाँच वर्ष देखि कुनै पनि लाभांस दिन सकेको छैन। आइएमर्इ ग्रुपले लिए पछि यो कम्पनी सुधारको चरणमा छ। साथै चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुर्याउने योजनासँगै कम्पनीको बजार मूल्य एक बर्षमा १६१ रुपैयाँबाट १९४७ रुपैयाँ पुगेको थियो। 

राष्ट्रिय बीमा कम्पनी 
१६ हजार रुपैयाँ बढि शेयर मूल्य रहेको कम्पनीले लामो समय देखि लगानीकर्तालाई कुनै प्रतिफल दिन सकेको छैन। पछिल्लो एक बर्षमा दोस्रो बजारमा कम्पनीको शेयर मूल्य एक बर्षमा नौ हजार ७३६ देखि २१ हजार ६०० रुपैयाँ पुगेको थियो। कम्पनीले राम्रो मुनाफा हासिल गरेको भए पनि लामो समयको अडिट र साधारण सभा हुन नसक्दा लगानीकर्ताले प्रतिफल नपाएका हुन्। कम्पनीले आर्थिक बर्ष २०६२/६३ यताको साधारणसभा गर्न बाँकी नै छ।
 
लुम्बिनी विकास बैंक* 
भिवोर विकास बैंक र लुम्बिनी फाइनान्स मिलेर लुम्बिनी विकास बैंक बनेको हो। लुम्बिनी फाइनान्सले बीचमा लाभांश दिएको भए पनि भिवोरले पछिल्लो पाँच बर्षमा कुनै प्रतिफल दिन सकेको थिएन। भिवोरकै कारण बैंकको अघिल्लो बर्षसम्म जगेडा कोष ऋणात्मक रहेको थियो। 

नेपाल ग्रामिण विकास बैंक 
नेपाल ग्रामिण विकास बैंकले लगानी कर्तालार्इ लाभांस दिन सकेको छैन। पाँच क्षेत्रीय स्तरका ग्रामिण विकास बैंक मर्ज भएर बनेको संस्थाको मूल्य ४५२ देखि १०४९ रुपैयाँसम्म पुगेको थियो।

*सच्याइएको।