‘नेभर टायर्ड’ रत्नराज, जसले बैंकिङको ‘आइडोलोजी’ बनाए

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७४ कात्तिक १९ गते १२:१३ | Nov 5, 2017
‘नेभर टायर्ड’ रत्नराज, जसले बैंकिङको ‘आइडोलोजी’ बनाए

Tata
GBIME
Nepal Life

जब तिमी युवा छौ र आत्मबल पनि बलियो छ भने, सँधै गरिरहेको कामबाट अलग भएर नयाँ यात्रा तय गर। यसले जीवनलाई आफूले चाहेजस्तै दिशा र गतिमा अगाडि बढाउँछ। ६० बर्ष पुगेर सपना पच्छ्याउन थाल्यौं भने, तिमी थाक्छौं र कहीँ पनि पुग्दैनौं।

 
२० बर्ष केन्द्रीय बैंकिङमा काम गरेपछि रत्नराज बज्राचार्यलाई राष्ट्र बैंक छाडेर अर्को बाटो हिँड्न यही मन्त्रले हौस्यायो। कुनै किताब पढेर रत्नराजले सँधै हिँडिरहेको बाटो फेर्ने निर्णय गरेका थिएनन्। 
 
सामान्य परिवारमा हुर्किएका ललितपुर मंगलबजारका रैथाने रत्नराजले सुरुवातीमा दिनहरुमा पढ्दा र जागिर खाँदा पाएको अभाव, परिश्रम, संघर्षबाट आफ्नै लागि नयाँ मन्त्र बनाएका थिए।यही मन्त्रका कारण २० बर्ष जागिर खाएपछि उनले २५ बर्षअघि राष्ट्र बैंक छाडिदिए।
 
पञ्चायतको अवसानपछि मुलुकमा प्रजातन्त्र आएको थियो। निजी लगानीका बैंकहरु खुल्न सुरु भएका थिए। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका रत्नराजलाई राष्ट्र बैंकबाहिर कामको कुनै अभाव भएन। 
 
बैंक अफ काठमाण्डू (बिओके) खुल्ने भयो। कन्सल्टिङ फर्म चलाइरहेका रत्नराजले केन्द्रीय बैंकको लामो अनुभवका आधारमा बिओकेको संभाव्यता अध्ययन गरे, जुन केन्द्रीय बैंककै कर्मचारीहरुलाई पनि मन पर्यो। उनले थुप्रै विकास बैंक, फाइनान्स कम्पनीहरुको पनि गरे। कुमारी बैंकसम्मको अध्ययन रत्नराजले गर्न भ्याए।
 
उनले चार्टर्ड एकाउन्टेन्ट प्राक्टिस गरेको १० बर्ष बितिसकेको थियो। त्यही बेला रत्नराजको हातमा एउटा काम आयो। वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू हुनुअघि नै विश्व बैंकले उनलाई नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको 'एकाउन्टिङ रेकर्ड' सुधार गर्ने जिम्मेवारी दियो। बैंकका १६ वटा शाखामा डेढ बर्ष लगाएर उनले काम गरेर सिध्याए।
 
लगत्तै दुबै बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू हुने भयो। रत्नराज बैंक अफ स्कटल्यान्डका नेपाल प्रतिनिधि थिए। सुधार कार्यक्रमको जिम्मा स्कटल्यान्डको भागमा थियो। 
 
'स्कटल्यान्डले सुधार कार्यक्रममा काम गर्न डाक्यो। मलाई जान मन लागिरहेको थिएन' उनले सम्झिए, 'धेरैनै अफर आएपछि म चिफ अफ फाइनान्सका रुपमा नेपाल बैंकमा जोडिएँ।' पहिलो चरणको सुधार कार्यक्रम साढे तीन बर्षपछि सकियो। आफ्नो सक्सेरलाई छाडेर रत्नराज नेपाल बैंकबाट बाहिरिए। 
 
निजी क्षेत्रको बैंकिङमा रत्नराजको 'टर्निङ पोइन्ट' यहीँबाट शुरु भयो।
 
राजधानी कुमारी हल छेउको कन्सल्टिङ फर्ममा बसेर रत्नराज काम गरिरहेका थिए। एकदिन 'वहुचर्चित' एनबी समूहका दाजुभाइ जीतवहादुर र लक्ष्मीवहादुर श्रेष्ठ रत्नराजलाई भेट्न पुगे।
 
समूहको लगानीका कारण नेपाल बंगलादेश (एनबी) बैंकको ट्र्याक रेकर्ड राम्रो थिएन। त्यसमाथि संस्थापक सेयरधनीलाई नै ऋण दिएर डुबाएका कारण एनसिसी बैंक बद्नाम थियो। 
 
एनबी समूहका दाजुभाइ बैंक सुधार गर्ने 'प्रपोजल' बोकेर रत्नराजलाई भेट्न पुगेका थिए। त्यस बेला उनी चार्टर्ड एकाउन्टेन्टहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का उपाध्यक्ष थिए। रत्नराजले प्रस्तावलाई टार्नका लागि इस्तानवुल जानु छ, त्यहाँबाट फर्किएपछि कुरा गरौंला भनेर एनबी दाजुभाइलाई फर्काइ दिए। त्यसबेला बंगलादेशी लगानीकर्ताहरुसँग पनि उनले अन्नपूर्ण होटलमा कुरा गरेका थिए। 
 
तर, रत्नराज एकपटक जोखिम लिएर काम गर्ने निष्कर्षमा पुगिसकेका थिए। उनी इस्तानबुलबाट फर्किएपछि एनबी बैंक जाने योजनामा पनि थिए।
 
बिहान घरबाट इस्तानाबुल उड्नका लागि त्रिभूवन विमानस्थलतर्फ जाँदै गर्दा बाटोभरी एनबी बैंकको शाखाहरुमा लामो लाइन छ। उनले कुरा बुझिहाले- 'बैक रन' भयो।


 
इस्तानाबुलमा रत्नराजलाई एनबी दाजुभाइले फोन गरेर चाँडो फर्किन आग्रह गरे। कार्यक्रममा भएकाले उनी फर्किन सक्ने अवस्थामा थिएनन्। रत्नराजले नै सुझाव दिए- तत्काललाई एनबी बैंकमा आफ्नै समूहको अर्को बैंक नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकका सिइओ नरेन्द्र भट्टराईलाई पठाएर एनबी बैंकको रेस्क्यु गर्नु। 
 
रत्नले भनेजस्तै भट्टराई एनसिसी छाडेर एनबी बैंक गए। बैंक सम्हालिन सकेन। अन्तत: राष्ट्र बैंकले बैक टेकओभर गर्यो।
 
'राष्ट्र बैंकले टेक ओभर भएपछि त्यहाँ मेरो कुरा सकियो,' उनले भने। एनबी बैंकसँगै जोडिएका कारण भट्टराईको करियर नै सकियो। उनी त्यसपछि बैंकिङ क्षेत्रबाटै बाहिरिए।
 
एनसिसी बैंक खाली थियो। एनबी बैंकजस्तै एनसिसीको पनि ट्र्याक रेकर्ड राम्रो थिएन। आफ्नै समूहमा एनबी समूहले ठूलो ऋण लगानी गरेको थियो। पैसा तिरेको पनि थिएन।
 
'एनबी बैंकको च्याप्टर सकिएपछि मलाई एनसिसीमा काम गर्न फेरि अफर आयो' उनले सम्झिए, 'धेरै आग्रह भएपछि मैले जाने निर्णय गरेँ। राष्ट्र बैंक छाडेको १५ बर्षपछि निजी क्षेत्रको बैंकिङमा मेरो पहिलो इनिङ सुरु भयो।'
 
एनसिसी बैंकमा थुप्रै समस्या थिए। वहुचर्चित हरिसिद्धि ईटा उद्योगको ऋण थियो बैंकमा, जुन नियमित किस्ता भुक्तानी हुन छाडेको थियो। रत्नराजले आफू गएको पहिलो बर्ष नै १२५ अर्ब रुपैयाँ घाटा भएको व्यालेन्सिट निकाले। बैंकको नेटवर्थ ऋणात्मक भयो। अरु ऋणहरु पनि विग्रिएको थियो।
 
'मैले लक्ष्मीवहादुरसँग कुरा गरेँ, मलाई इन्डिपेन्डेन्टली चलाउन दिनुस् अनि मात्र बैंकमा बस्छु,' उनले एनसिसी बैंक जाँदा राखेको शर्त सुनाए, 'म खरो मान्छे भन्ने जगजाहेर नै थियो। संस्था जिम्मा लिइसकेपछि त्यसलाई जोगाउने हो, ब्यक्ति हेर्ने होइन।' 
 
लक्ष्मीवहादुर बैंकको अध्यक्ष थिए। रत्नराजले उनलाई अध्यक्ष पद छाड्न अर्को शर्त तेर्स्याए। रत्नराजकै इच्छाअनुसार लक्ष्मीवहादुरले बैंक छाडे। उनको ठाउँमा योजना आयोगका पूर्वउपाध्यक्ष पृथ्वीराज लिगल नियुक्त भए। रत्नले काम गर्ने टिम बनाउन थाले। राष्ट्र बैंककै क्याडर भएकाले त्यहाँबाट पनि राम्रो सहयोग भयो।


 
'बैंक बनाउने मिसन लिएर आएकाले मैले अरु दायाँबायाँ हेर्ने कुरै भएन' उनले भने, 'शेयर जफत गरेरसमेत बिक्री गरियो। हरिसिद्धिको १०८ रोपनी जग्गालाई बैंकको स्वामित्वमा ल्याएँ।' बैंकको नेटवर्थ ऋणात्मक नै थियो। रत्नराजले ७० करोड चुक्ता पूँजी भएको बैकमा अर्को ७० करोड थप्न हकप्रद शेयर जारि गरे। बैंकको अवस्था सुदृढ भयो।
 
राष्ट्र बैक र नेपाल बैंकमा काम गरेको अनुभवले सिए रत्नराजलाई बैंकिङमा 'वोल्ड डिसजन' लिन सिकायो। एनसिसीमा उनको बोल्ड डिसिजनकै कारण सुधार सम्भव भएको थियो। उनी जाँदा बैंक आकार पाँच अर्बको थियो। चार बर्ष बस्दा 'ब्रान्ड बिल्डिङ' सँगै बैंकको आकार १३ अर्ब पुग्यो। 'बैंकलाई सर्भाइब गर्न जे जे गर्न आवश्यक थियो त्यो सबै मैले गरेँ,' उनले भने।
 
एनबी समूहसँग काम गरेका थुप्रै 'प्रोफेसनल' हरु करियरमै फर्कन नसक्ने गरि पलायन भएका छन्। तर रत्नराजमा एउटा 'छिटा' परेन। 'मैले ब्यक्ति हेरिन संस्था हेरेँ। उनीहरुले भनेको मानेको भए मेरो इमेज पनि विग्रिन सक्थ्यो,' उनले भने, 'तर मैले उनीहरुले भनेको भन्दा पनि संस्था हेरेर काम गरेँ। मलाई त्यही भएर कसैले दाग लगाउन सकेनन्।'
 
एनसिसी बैंकबाट रत्नराजले धेरै कुरा पनि सिके। मेरो ब्यवसाय खत्तम हुँदैछ भन्ने लाग्दैछ भने त्यसमा झुन्डिएर बस्ने होइन। जहाँ घाउ छ त्यो काटेर फ्याँकि हाल्ने हो। एउटा बिजिनेसलाई जोगाउन लागियो भने अरु बिजिनेस पनि डुब्छन्। जुन विजिनेस विग्रिदैछ त्यसलाई काटेर फ्याँक्ने हो। रत्नराजले एनसिसीबाट सिकेको मन्त्रै हो यो।
 
'सिम्पल लजिकमा पनि काम नगरेका कारण समस्या भएको थियो। हरिसिद्धिको ऋण समय छँदै टुङ्ग्याउन सकेको भए एनबी समूहलाई समस्या हुँदैन थियो,' उनले भने, 'मेरो सम्पति मेरो सम्पति भनेर राख्दा अरु सम्पति नास भयो। बजारमा इमेज बिग्रियो।' 
 
एनसिसीमा चार बर्ष बितेको थाहै भएन। चार बर्ष एउटै संस्थामा काम गरेपछि त्यहाँ थप बसेर नयाँ केही पनि गर्न सकिँदैन। पुरानै दैनिकी सुरु हुने हो। रत्नराजले एनसिसी छाडे। 
 
रत्नराज खाली नै थिए, एक दिन आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले भेट्न बोलाए। चन्द्रले बैंकको नेतृत्व गर्न आग्रह गरे। रत्नराजले चन्द्रको प्रस्ताव अनुसार १२/१३ अर्ब ब्यालेन्सिटको 'फुच्चे' ग्लोबल बैंकको जिम्मेवारी सम्हाले। 
 
साना तथा मझौला ब्यवसायमा बैंक भिज्नु पर्छ भन्ने रत्नराजलाई लाग्थ्यो। ग्लोबल बैंकमा त्यो योजनामा काम गर्ने अवसर थियो। त्यही बेला राष्ट्र बैंकले एकै समूहका बैंक तथा वित्तीय संस्था मर्जरको नीति लियो।
 
आइएमइ समूहले आइएमइ फाइनान्स पनि चलाउँथ्यो। ग्लोबल बाणिज्य बैंक भए पनि नेटवर्क ठूलो थिएन। ब्यापार पनि राम्रोसँग फस्टाएको थिएन। राष्ट्र बैंकको चाहनासँगै ब्यापार बढाउनु पर्ने बैंकको रणनीति अनुसार आइएमइसँग मर्जर भयो ग्लोबल बैंक।त्यो पनि १०५ रुपैयाँ प्रिमियर तिरेर। बैंकको नाम भयो- ग्लोबल आइएमइ।
 
२३ वटा शाखा भएको ग्लोबलसँग अर्को २३ वटा शाखा थपियो। साढे तीन अर्ब निक्षेप र त्यती नै ऋण पनि थपियो। कर्मचारी ब्यवस्थापनमा सामान्य चुनौती आए पनि ब्यापार बढाउन रत्नराजलाई आइएमइसँगको मर्जरले ठूलो सहयोग गर्यो। 
 
त्यसपछि त मर्जरकै नसा नै लाग्यो। तर सबै मर्जर रणनीतिक हिसावले गरियो। ब्यापार बढाउन र पूँजी सुदृढ बनाउन गरियो। त्यही भएर त ८ अर्ब पूँजी पुर्याउँदासम्म ग्लोबल आइएमइले शेयरधनीबाट पैसा उठाउनु परेको छैन। 
 
सोसियल डेभलपमेन्ट बैंक आयो। लर्डबुद्ध फाइनान्स र गुल्मी विकास बैंक मिसियो। त्यसपछि कमर्ज एण्ड ट्रस्ट बैंक मिसियो। मर्जरको नेतृत्व रत्नले नै गरे। भर्खरै रिलायवल डेभलपमेन्ट बैंक पनि मिसिइसकेको छ।

 
आज ग्लोबल आइएमइ बैंकमा एक खर्बभन्दा वढि सर्वसाधारणको निक्षेप छ। गाउँशहर सबैतिर बैकको शाखा पुगेको छ। 'एनसिसीमा सुधारको नेतृत्व गरियो, ग्लोबलमा मर्जरको गर्ने मौका मिल्यो' उनले भने, 'यस्तो अवसर कमै बैंकरलाई मात्र मिल्छ।' रत्नराजकै नेतृत्वमा बैंकले बैंकर अफ दि इयरको अवार्ड प्राप्त गर्यो। 
 
चार बर्ष पुरा भयो, रत्नराजले ग्लोबल आइएमइलाई उचाइमा पुर्याएर छाडिदिए। त्यसपछि उनी अर्को यात्रामा निस्किए- सनराइज बैंक। 
 
***
 
बैंकिङ करियरमा जसरी रत्नराजले छलाङ मारेका छन्, त्यति नै कठिन परिश्रम गरेका छन् सुरुवाती दिनहरुमा। 
 
ललितपुर मंगलबारका रैथाने, त्यसमाथि नेवार। स्वभाविक हुन्थ्यो ब्यापार ब्यवसाय। 
 
चार दाजुभाइ, दुई दिदी बहिनी। बुबाको सानो पसल त्यहाँबाट आएको पैसाले घर खर्च चलाउन मुस्किल थियो।
 
२०२३ सालमा एसएलसी सकियो। रत्नराज १५ बर्ष पुग्दै थिए। एउटा सानो पसलले परिवार पाल्न नसक्ने भएकोले जागिर खानुपर्ने बाध्यता थियो। 
 
मीनभवन क्याम्पसमा भर्ना भए।उनले २०२७ सालतिर नेपाल पुनर्वास कम्पनीमा जागिर सुरु गरे। दरखास्त दिने वित्तिकै जागिर हुन्थ्यो त्यो बेला। नेशनल ट्रेडिङमा पनि बोलाएको थियो, तर उनको रोजाइमा पुनर्बास कम्पनी पर्यो। 
 
कम्पनीले एकाउन्टेन्ट ट्रेनिङमा नवलपरासी पठायो। त्यहाँ राम्रो काम गरेपछि खरदार तहका रत्नराजलाई सुब्बाको जिम्मेवारी दिएर नेपालगञ्ज पठाइयो। त्यही बेला रत्नराजले हवाइजहाज चढ्ने मौका पाए।
 
बर्माबाट नेपालीहरु फर्किरहेका थिए। कञ्चनपुरतिर जग्गा फडानी भएको थियो।काठमाडौंको मान्छे औंलो लाग्ने ठाउँमा काम जानुपर्यो। 'खटिया राखेर झुल टाँगेर बस्नु पर्ने ठाउँ थियो त्यो,' उनले पुराना दिन सम्झिए, 'त्यहाँ मैले एकदमै परिश्रमपूर्ण काम गरेँ। आफूलाई जस्तोसुकै अप्ठेरोमा ढाल्न सक्ने गुण त्यहीँ सिके।'। ५/६ महिना काम गरेपछि उनले पढाइलाई निरन्तरता दिन काठमाडौं सरुवा माग्दै आए। सरुवा मिलेन, जागिर छाडिदिए। 
 
५/६ महिना बेरोजगार भए। कृषि विकास बैंकमा आवेदन दिनेवित्तिकै उनले जागिर पाइहाले। बैंकले गौर खटायो। राजा महेन्द्रको मृत्यु हुनु तीन दिनअघि उनले कृषि विकास बैंकमा जागिर सुरु गरेका थिए। खरदार स्तरको लेखापालको जागिर ५/६ महिना खाएपछि उनी काठमाडौं फर्किएँ। आइकम पास भएँ। विकम पढ्नका लागि काठमाडौंमा सरुवा मागे, बैकले विराटनगर सरुवा गरिदियो। उनले कृषि विकास बैक पनि छाडे।
 
कृषि विकास बैंकमा हुँदाहुँदै राष्ट्र बैंकमा जागिर खुलेको थियो। उनले आवेदन दिएको थिए। कृषि छाडेको केही समयपछि राष्ट्र बैंकले रिजल्ट निकाल्यो, रत्नराज जागिरका लागि छानिए। २०२९ भदौ १ गते राष्ट्र बैकमा सहायक तहमा उनको जागिर सुरु भयो। 
 
राष्ट्र बैंक गएपछि पढ्न त सजिलो भयो तर मेहेनत धेरै पर्यौ। पढ्नका लागि कति खट्ने भन्ने कुरा आफैमा भर पर्ने रहेछ। नेपालगञ्जबाट सिकेको मेहेनतले उनलाई काठमाडौंमा संघर्ष गर्न सहयोग गर्यो। 
 
सुरुमा थापाथलीमा जागिर थियो। उनी बिकम पनि पास भए। वढुवाका लागि राष्ट्र बैकमा पनि जाँच दिएका थिए। त्यहाँ पनि पास भए। पास भएपछि थापाथलीको जागिर वालुवाटार सर्यो- हेड असिस्टेन्टका रुपमा। 
 
स्नातकोत्तर (एमकम) पढ्न शंकरदेव क्याम्पसमा बेलुकी सिफ्टमा भर्न भए। पहिलो सेमेस्टर त्यहाँ पढाइ भएपछि बाँकी पढाइ कीर्तिपुर क्यादम्पसमा सर्यो। अब रत्नराजलाई गाह्रो भयो। 
 
विहान मंगलबजारबाट वालुवाटार अनि पुतलीसडकमा पढेर मंगलबजार। मासिक १० रुपैयाँ तलवबाट काटिने गरि राष्ट्र बैंकले साइकल किन्न ९०० रुपैयाँ ऋण दिन्थ्यो । त्यही ऋणमा किनेको साइकलबाट उनले पहिलो सेमेस्टर त भ्याए। तर कीर्तिपुर सरेपछि भ्याउन सम्भव भएन। 


 
किर्तिपुर जानसक्ने अवस्था भएन। अनि उनले क्याम्यस पढाउने प्राध्यपकसँग आग्रह गरे- म दैनिक आएर पढ्न सक्दिन। समय पाउँदिन। म क्लास टेस्टमा मात्र आउँछु। क्लास टेस्टमा फेल भएँ भने निकालिदिनु।
 
जागिर खाएर पढेको केटो भनेर सबैले उनलाई माया गर्थे। रत्नराजले क्लास टेस्टमा मात्र गए पुग्ने छुट पाए। क्लास टेस्ट दिन नपढी सुख थिएन। वालुवाटारबाट फर्किएपछि शंकरदेव क्याम्पसको लाइब्रेरी छिर्थेँ उनी।त्यही लाइब्रेरीमा आठ साढे आठसम्म बसेर पढ्थे। साथीहरुसँग कीर्तिपुरमा कस्तो पढाइ भयो के पढाइ भयो भनेर सोध्थे अनि त्यसैका आधारमा क्लास टेस्टका लागि तयारी गर्थे। 'यसले गर्दा कहिले पनि नराम्रो नतिजा ब्यहोर्नु परेन,' उनले भने, 'पढ्नु पर्छ भन्ने थियो। खुब पढियो।'
 
एमकम सकियो। राष्ट्र बैंकको जनशक्ति विभागका हाकिम थिए- केशनाथ शर्मा। उनले एक दिन रत्नराजलाई बोलाएर भने- तिम्रो एमकम सकियो। अब के गर्न यहाँ बस्छौं? शर्माले चार्टर्ड एकाउन्टेन्ट पढ्न हौस्याए।
 
सिए पढ्न कसरी जाने भन्ने पनि थाहा थिएन रत्नराजलाई। भारतमा गएर पढ्नुपर्ने भएकोले खर्च धान्न कठिन थियो। रत्नराजले जति तलव खान्छन् त्यो तलव नियमित दिने र जाने आउने खर्च दिने ब्यवस्था राष्ट्र बैकले गर्यो। उनी सिए पढ्न मद्रास हिँडे। सन् १९८० मा गएको चार बर्षपछि सिए सकेर उनी फर्किए। सिए पास भएर आएको ८ बर्षपछि उनले राष्ट्र बैंकको जागिर छाड्ने निर्णय सुनाए।
 
गभर्नर हरिशरण त्रिपाठी थिए। उनले रत्नराजलाई बोलाएर झपारे- तिमीलाई यहाँ के नपुगेको छ र जागिर छाड्न आँटेको? 
 
नपुगेर असन्तुष्टी भएर छाड्नु परेको होइन भन्ने उनले टालटुले जवाफ दिए। जागिर छाड्नुको थियो राष्ट्र बैकको तलवभन्दा बाहिरको बढी कमार्इ।
 
त्योभन्दा ठूलो कारण अथवा मन्त्र थियो- 'जब तिमी युवा छौ र आत्मबल पनि बलियो छ भने, सँधै गरिरहेको कामबाट अलग भएर नयाँ यात्रा तय गर' भन्ने।


 
उनी राष्ट्रा बैंक बसेर एक्सपोजर बनाइसकेका थिए। नेपालगञ्जको बसाइले जस्तोसुकै अप्ठ्याराको पनि सामना गर्नु पर्छ भनेर सिकाएको थियो। उनले प्राइभेट प्राक्टिक्स सुरु गरे। उनी त्यसबेला २३औं नम्बरका सिए थिए। अहिले एक हजार पुगिसकेका छन्। त्यसबीचमा नियामक आइक्यानको अध्यक्षसम्म भए। 
 
म्याक कन्सल्टेन्ट कम्पनी खोलेर कर र एकाउन्टिङ सेवा दिन थाले। म्यक्स खोल्दाको एउटा घटना सम्झिए रत्नराजले। 
 
डेपुटी गभर्नर हिरण्यलाल बज्रचार्य थिए। उनी पनि सिए थिए। उनलाई रत्नराजले ट्रेनिङ सेन्टर खोल्ने योजना सुनाए। हिरण्यलाले खरोपारामा सोधे- के पढाउँछौं? युनिभर्सिटी र तिमीले पठाउने कुरामा के फरक हुन्छ?
 
मैले भने प्राक्टिकल एकाउन्टिङ पठाउँछु। युनिभर्सिटीमा एकेडेमिक  थ्यौरी पढाइ हुन्छ। म चै प्र्याक्टिकल पढाउँछु। बेसिक कन्सेप्ट पढाउँछु। 
 
हिरण्यलालले रत्नराजलाई भने- गो अहेड। तिमी सफल हुन्छौं। 
 
नभन्दै म्याक एकदमै राम्रो चल्यो। त्यस बेला बैंकिङमा म्याकमा तालिम नलिएका कर्मचारी कमै हुन्थिए। २०५८ सालमा आयकर ऐन आउँदा आन्तरिक राजस्व विभागसँग मिलेर आय कर अधिकृतहरुलाई तालिमसमेत दिए। एकाउन्टिङ तालिम पनि दिए। 
 
त्यसपछि रत्नराजले कहिले पछाडि फर्किएर हेर्नु परेको छैन।
 
***
 
सँधै काममा घोटिइरहने एउटा खरो बैंकरको परिचय बनाएका रत्नराज कामलाई 'इन्जोए' गरेकै कारण आफू असफल हुनु नपरेको बताउँछन्।
 
'संघर्ष गरेर पढेको हुँ। काममा पनि संघर्ष गरेर अगाडि बढेको हुँ' उनले आत्मसमिक्षा गरे, 'म एकदमै सन्तुष्ट छु मेरो यात्रामा। धेरै सिक्ने मौका पनि पाएँ। धेरैलाई सिकाउने मौका पनि पाएँ।'


 
बैंकिङको सुधार योजनामा बढि काम गरेका रत्नराज सनराइज बैंकलाई अगाडि बढाउने मिसनमा होमिएका छन्। पाका बैंकर रत्नराज कामकै बीचमा बिदा लिएर आफूलाई फ्रेस गर्छन्। नयाँ उर्जा आर्जन गर्छन्।
 
'बर्षमा एक पटक लामो बिदा लिन्छु। घुमेर आउँछु। फ्रेस हुन्छु,' उनले भने, 'अब मेरो फ्युचर प्लान गर्ने बेला सकियो। सायद अब सनराइज मेरो अन्तिम बैक होला।' 
 
कामबाट नथाक्ने रत्नराज अब भने सामाजिक सेवामा लाग्ने योजनामा छन्। 
 
बैकिङबाट फरक परिचय बोकेर बाहिरिने छन्। 
 
त्यो परिचय के हो? 
 
रत्नराज भन्छन्- रत्नराज भन्ने बित्तिकै खरो तर मेहनेती बैंकर भनेर चिनिन्छ। आइडोलोजीमा चल्ने इमान्दार बैंकर भनेर चिनिन्छ।