पूँजी बढ्ने तर त्योअनुसार ब्यापार नबढ्दा बैंकिङमा समस्या स्वभाविक हो: अजय श्रेष्ठको विश्लेषण

बिजमाण्डू
२०७४ कात्तिक २० गते १२:२२ | Nov 6, 2017
पूँजी बढ्ने तर त्योअनुसार ब्यापार नबढ्दा बैंकिङमा समस्या स्वभाविक हो: अजय श्रेष्ठको विश्लेषण
काठमाडौं। बाणिज्य बैंकहरुको नाफामा गिरावट आउन थालेपछि सेयर बजारमा पनि त्यसको असर देखिन थालेको छ। असोज मसान्तसम्मको वित्तीय विवरण २८ वाणिज्य बैंकले प्रकाशित गरिसकेका छन्। आधाको नाफा पोहोर जति पनि छैन भने बाँकीको नाफा बृद्धि दर अघिल्लो बर्षको भन्दा कम छ।
 
बैंकहरु त अप्ठेरो अवस्थामा पुगे त? के भएर बैंकले ब्यापार बढाए पनि नाफा बढाउन सकेनन्? हामीले बैंक अफ काठमाण्डूका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई सोध्यौं। 


 
मैले बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण हेरिरहेको छु। अधिकांसको नाफा बृद्धि दर घटिरहेको छ। केहीकेहीको त नाफा घटेकै पनि छ। नाफा घट्नुको प्रमुख कारण पोहोरको असर हो।
 
बैंकिङमा आज गरेको कामको असर आजै देखिँदैन। विस्तारै देखिन्छ। यसपाली पोहोर सालको असर देखिएको हो। पोहोर साल बैंकहरुले सुरुमा लगानी ह्वात्तै बढाए। तरलता अभाव हुँदै गयो। अभावका कारण ब्याज दर माथि गयो। त्यो बढेको ब्याजका कारण बैंकको खर्च बढ्यो। खर्चका कारण आम्दानी खास बृद्धि हुन सकेन। 
 
बैंकिङमा अहिले देखिएको समस्या नीतिगतभन्दा पनि बजारको फन्डामेन्टलका कारण भएको जस्तो लाग्छ। अहिले ब्यापार घाटा उच्च छ। भुक्तानी शन्तुलन (शोधनान्तर) ऋणात्मक भएको छ। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्सको बृद्धि दर घटिरहेको छ। सरकारी विकास खर्च खासै छैन। यसले गर्दा सस्तोमा निक्षेप उपलब्ध हुँदैन। ब्यक्तिगत वा संस्थागतलाई महँगो ब्याज तिरेर निक्षेप लिनु पर्छ। पछिल्लो तीन बर्षदेखि तरलतामा स्थिरता छैन। यसो हुँदा बजार प्रक्षेपण गर्न असहज हुन्छ। यही कारण बैंकहरुको नाफामा पनि असर परेको छ। 
 
बैंकिङ क्षेत्रको ड्राइभर भनेको निक्षेप नै हो। त्यसको बृद्धि सहज रुपमा नभएसम्म अरुतिर सुधार हुन्छ जस्तो लाग्दैन। यसले नाफालाई असर गरिरहन्छ। ब्याज दर महँगो भइरहन्छ। निक्षेपमा दिने र कर्जामा लिने ब्याज अन्तर (स्प्रेड रेट) खुम्चिएको छ, आधार दरभन्दा तल पनि ऋण गएको छ भन्ने कुरा पनि छ। यो प्राविधिक पाटो भयो। वास्तवमा सस्तो निक्षेप उपलब्ध नभएसम्म समस्या जहीँको त्यहीँ रहन्छ।
 
राष्ट्र बैंकको नीतिका कारण चुक्ता पूँजी चार गुणाले बढेको छ। पूँजी बजारको आवश्यकता थियो कि थिएन भनेर हेर्न जरुरी थियो। बजारको विस्तार पूँजीसँग तालमेल गरेर भएन। पूँजी मात्र बढ्दा त बैंकिङ अलिकति 'प्यानिक' त भइहाल्छ। बैंकहरुले पूँजी बढेका कारण कन्सलिडेसनमा गए। समग्रमा पूँजीसँगै तरलता र योसँगै ब्याज बृद्धिले अहिले केही समस्या देखिएको हो।

Tata
GBIME
Nepal Life