बैंकमा नाफा होइन दुई चुनौती छन्, राष्ट्र बैंक र बैंक व्यवस्थापन जिम्मेवार, सुमन जोशीको विश्लेषण

बिजमाण्डू
२०७४ कात्तिक २१ गते १३:२८ | Nov 7, 2017
चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा बाणिज्य बैंकहरुले प्रकाशित गरेको वित्तिय विवरणले धेरैको ध्यान तानेको छ।  प्रायः सबैका आँखा बैंकको नाफामा परेका छन्। केही बैंकको नाफा घटेको छ भने नाफा बढ्नेहरुको पनि बृद्धिदर घटेको छ। अंकमा नै नाफा घट्नेहरुले चौथो त्रैमासिकसम्ममा पक्कै सुधार गर्छन्। तर, अब पहिलाको जस्तो अनुपातमा नाफा बढ्न भने संभव छैन। बैंकहरुको आकार अब धेरै ठूलो भइ सकेको हुँदा नाफाको बृद्धि खुम्चिनुमा त्यति धेरै चिन्ता गर्न आवश्यक पनि छैन। त्यो स्वाभाविक नै हो।
 
गएको १०/१५ बर्षको प्रवृत्तिले बैंकको नाफा बढेर नै आउँछ भन्ने आमधारणा विकास भइ सकेको छ। त्यसैले अहिले नाफाको अंकलाई हेरेर मात्र धेरै चर्चा भएको देखिन्छ। त्यो अपेक्षाबाट दुई बर्ष अघि देखिनै बाहिर निस्किन सक्नु पर्थ्यो। वास्तवमा नाफा मात्र  होइन त्यहाँ भन्दा फराकिलो ढंगले हेर्नु पर्छ। केही गम्भिर 'इस्यु'हरु छन्। तिनले २/३ बर्षमा कुनै कुनै बैंकलाई खाइदिन समेत सक्छन्। तर, त्यसमा धेरैमा ध्यान पुगेको छ।
 
एक, तरलताको कुरा पटक पटक बल्झिएर आउने गरेको छ। सरकारले खर्च गरेन, रेमिटेन्स घट्यो जस्ता नियमित तर्क दिएर बैंकहरुले हरेक पटक तरलता मुद्दामा  'एक्सक्युज' खोज्ने गरेका छन्। तर, बैंक जस्तो संवेदनशील संस्थाले यस्ता स्वाभाविक प्रवृत्तिको इतिहास केलाएर त्यस अनुरुप आफ्नो विजनेश गर्न सक्नु पर्छ। हरेक पटक मैले यस्तो योजना त बनाएको थिएँ तर सरकारले खर्च गरिदिएन भनेर हुँदैन। सुरुमा योजना बनाउँदा नै सरकारले खर्च नगरेको खण्डमा के गर्ने भनेर बैंक आफैंले सोच्न सक्नु पर्छ। 
 
दोस्रो, चाहिँ हाम्रो केन्द्रिय बैंकको नीतिगत स्थायीत्व अभाव वित्तिय प्रणालीकै लागि जोखिमपूर्ण हुने देखिएको छ। राष्ट्र बैंक धेरै मुद्दामा एक स्टेप अगाडि जाने र दुई स्टेप पछि हट्ने गरि रहेको छ। सुरुमा पेलेको जस्तो गर्ने र बैंकरहरु सबै मिलेर गुनासो गरेपछि फेरि अघि रहेको स्थानबाट समेत पछाडि आइ दिने काम राष्ट्र बैंकले गरेको छ। सिसिडी गणना, ब्याज गणना, 'डिप्राइभ' सेक्टर लगानीसम्म बैंकले भने बमोजिम केन्द्रिय बैंक 'ब्याक' हटि दिएको छ। 
 
बैंकहरुले अहिले झेलि रहेको समस्या यीनै दुई प्रवृत्तिको  'क्रोनिक मिक्स' हो। यो समस्या तत्काल आएको पनि होइन। ५/७ बर्षदेखि देखिँदै आएको यो समस्या अहिले सतहमा झल्किएको हो। राष्ट्र बैंक र बाणिज्य बैंकहरुको रवैया यहि रह्यो भने तत्काल समाधानको बाटो पनि देखिएको छैन।
कुनै एउटा बैंकमा आजसम्म सिइओ रहेको व्यक्ति भोली देखि अर्कै बैंकमा पुगि रहेका हुन्छन्। त्यति मात्र होइन जसले नाफा न्यून देखाएका छन् तिनीहरुमा अन्तिम क्वार्टरमा सिइओ परिवर्तन भएका छन् वा परिवर्तन हुनेवाला छन्। एकछिन गहिरिएर सोच्ने बित्तिकै यसको कारण सतहमा आइहाल्छ। त्यसैले बैंकिङ  जति 'सिरियस बिजनेश' हो नि यसलाई त्यसरी हाँकिएन। यसमा बैंक व्यवस्थापन र केन्द्रिय बैंक दुबै जवाफदेही छन्। 
 
यहाँभन्दा बाहिर गएर समस्याको कारक र परिणाम खोज्न आवश्यक नै छैन। नाकाबन्दीको बेला मन्दी आयो, त्यसपछि अर्थतन्त्र 'रिबाउन्ड' भयो। बैंकहरुले पनि कमाइ हाले। केही बैंकको ब्यालेन्सिटमा प्रभाव देखिन सक्थ्यो तर राष्ट्र बैंकले 'रेस्क्यु' गरिदिइ हाल्यो- 'प्रोभिजेनिङ रिल्याक्सेसन' दिएर। त्यसपछि पूँजीबृद्धिको कुरा आयो। त्यही बेला चार गुणा पूँजी बढाउँदा त्यस अनुरुप नाफा बढ्न संभव छैन भन्ने थाहा थियो। तर, अहिले किन नाफा बढेन भनेर कराउने? नाफा भन्दा समग्र बैंकिङ प्रणालीप्रति संवेदनशील हुने समय आएको छ।

Tata
GBIME
Nepal Life

लक्ष्मी बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत  जोशीसँग कुराकानीमा आधारित।