५ करोड नेटवर्थले गर्दा सबै ब्रोकरले मार्जिन ल्याण्डिङ दिन सक्दैनन्, ब्रोकर पौड्यालको विश्लेषण




धितोपत्र ब्यवसाय संचालन भएको दुर्इ दशक पछि मार्जिन कारोबार गर्न पाउने सुबिधा आएको छ। यो आफैँमा स्वागतयोग्य तथा सराहनिय कदम हो। मार्जिन ल्याण्डिङको सुविधाले धितोपत्र बजारको विकासलार्इ सहयोग पुर्याउने छ। 
 
बजारलार्इ प्रत्यक्ष असर पार्ने यस्तो किसिमको सुविधा अन्तर्राष्ट्रिय बजारमा लामो सयम देखि अभ्यास हुँदै आएको छ। धितोपत्र बोर्डले निर्देशन गरे जारी गरे पनि नेपालमा यसको कार्यान्वयनको पक्ष बाँकी नै छ। यसको कार्यविधि तयार भएपछि मात्र लगानीकर्ताले सेवा पाउँछन्। 
 
मार्जिन कारोबारको कार्यान्वयनले बजारमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। कर्जा लिन बैंक तथा वित्तीय संस्थामा मात्र निर्भर लगानीकर्ताहरुलार्इ यसबाट राहत पुग्नेछ। लगानीकर्ताहरु ब्रोकरसँग प्रत्यक्ष सम्पर्कमा हुने हुँदा ब्रोकरले लगानीकर्ताको आवश्यकता अनुसार मार्जिन ल्याण्डिङको सुविधा उपलव्ध गराउन सक्छन्। 
 
ब्रोकरले कर्जा सुविधा दिन पाउने भए सँगै पहिला देखिनै उठ्दै आएको एकद्धार प्रणाली (वान डोर सर्भिस) पनि प्रदान गर्न सहज हुन्छ। यसले गर्दा एकजना लगानीकर्ताले ब्रोकर कार्यालय छिरेपछि डिम्याट खाता खोल्न पाउनु, शेयर किनबेच गर्न, साथै वित्तीय सुविधा पनि पाउन सक्नु हुन्छ।
 
मार्जिन ल्याण्डिङ सेवा चाढैँ सुचारु हुने भन्ने हल्ला पहिला देखि नै चल्दै आएको हो। त्यसैका लागि केहि समय अघि नियमनकारी निकायको निर्देशन बमोजिम ब्रोकर कम्पनीले चुक्ता पूँजी दुर्इ करोड रुपैयाँ पुर्याइ सकेका छन्। अहिले चुक्ता पूँजीभन्दा पनि नेटवर्थलाई आधार बनाएर यो नियम आएको छ। अब चुक्ता पूँजी र जगेडा कोष गरेर पाँच करोड रुपैयाँ भएको कम्पनीले मार्जिन ल्याण्डिङ दिन पाउनेछन्। यसका लागि ५० वटै ब्रोकर कम्पनी योग्य नहुन पनि सक्छन्। सबै ब्रोकर यसमा योग्य हुनै पर्छ भन्ने पनि होइन। त्यसैले यसको सम्भावित जोखिम हेरेर नियम बनाउन आवश्यक छ।  
 
अहिलेको प्रावधानका आधारमा यो सुविधा दिने कम्पनी थोरै हुन्छन्। ८/१० वटा कम्पनी मात्र योग्य होलान् भन्ने मेरो आँकलन छ। त्यसैले मार्जीन ल्याण्डिङको विषय आएसँगै लगानीकर्तामा हाल जुन उत्साह रहेको छ यसको कार्यान्वयनसँगै निराश हुनुपर्ने अवस्था आउन सक्छ। यस तर्फ पनि सम्वन्धित निकायले सोच्नु पर्ने देखिन्छ। 
 
पाँच करोड नेटवर्थ भएका ब्रोकरले दुर्इ गुणा सम्म कर्जा प्रवाह गर्न पाउने प्रावधान राखिएको छ। यसले गर्दा एउटा ब्रोकरले १० करोड रुपैयाँ सम्ममात्र कर्जा प्रवाह गर्न पाउने छन्। यदि ५० वटै कम्पनीले मार्जिन ल्याण्डिङ सुविधा दिन पाउने भएमा पाँच अर्ब रुपैयाँसम्मको सुविधा दिन पाउँथे। तर, अहिलेको प्रावधान अनुसार १० कम्पनी मात्र योग्य हरेको हुँदा ठुलो परिमाणमा मार्जिन ल्याण्डिङको सेवा दिन सक्ने देखिँदैन।
 
बजारमा लामो समय देखि थोरै कारोबार गर्दै आएका साना लागानीकर्ताको नै ४०/५० लाख देखि एक डेड करोड रुपैयाँको पोर्टफेलियो रहेको पाइन्छ। यस्तो अवस्थामा तिनै साना १० लगानीकर्तालार्इ एक एक करोड रुपैयाँको दरमा सुविधा दिदा नै १० करोडको सिमा सकिन्छ। 
 
यो सुरुवाती चरण भएको हुँदा आगामि दिनमा थप सहज हुँदै जाने अपेक्षा गर्न सकिन्छ। ब्रोकर कम्पनीले पनि सेवा सुविधा विस्तार हुँदै जाँदा आफुलार्इ पनि विकास गर्दै लैजानु पर्ने हुन्छ। नियम कानुनले तोकेका दायरामा योग्य हुँदै जानु पर्छ। 
 
मार्जिन ल्याण्डिङ प्रारम्भिक अवस्थामा रहेको हुँदा कार्यान्वयनमा के कस्ता समस्या आउँछन् त्यही अनुरुप सिक्दै जान्दै अगाडी बढ्न सकिन्छ। नियामक निकायले यसमा आउने समस्या हेर्दै अगाडी बढ्न दिशानिर्देश गर्न सक्छ। 
 
एकपटक कार्यान्वयनमा आइसकेपछि दुर्इ करोड रुपैयाँ चुक्ताको पूँजीको दुर्इ गुणा सम्म मार्जिन सुविधा दिने गरि नीतिगत सहजता पनि ल्याउन सकिन्छ। यसबारे सम्वन्धित निकायले सोच्नु पर्छ। यसले गर्दा मार्जिन ल्याण्डिङको सुविधा दिने कम्पनी बढ्ने छन् साथै सेवाको पनि विस्तार हुन्छ। धेरै लगानीकर्ताको पहुँचमा यो सुविधा पुग्दा बजारमा पनि प्रभाव पर्नेछ।
 
अहिले ल्याइएका प्रावधान दिर्घकालिन रुपमा प्रयोग हुने किसिमले ल्याइएको छ। यो राम्रो पक्ष पनि हो। तथापी बोर्डले निर्देशनमा समावेश गरेको १० हजार शेयरधनी भएको कम्पनी भन्दै गर्दा कतिपय राम्रा कम्पनीमा यो उपयुक्त नहुन पनि सक्छ। कतिपय कम्पनीमा १० हजार भन्दा धेरै शेयर धनी होलान् तर ती कम्पनीको प्रतिफल राम्रो नहुन पनि सक्छ। त्यसैले यसमा विवेकसम्मत निर्णय लिन छोडिदिँदा राम्रो हुनेथियो।
 
पौड्याल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष हुन्।

Share this Story

   

५ करोड नेटवर्थले गर्दा सबै ब्रोकरले मार्जिन ल्याण्डिङ दिन सक्दैनन्, ब्रोकर पौड्यालको विश्लेषण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.